प्रदेश रंगशालाको ६० प्रतिशत काम सम्पन्न

सुर्खेत । २०८१ जेष्ठ ११ गते सम्पन्न गरिसक्नुपर्ने कार्यादेशसहित निर्माण भइरहेको कर्णाली प्रदेश सरकारको गौरवको आयोजना प्रदेश रंगशाला निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको छ । आगामी वर्ष कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने गरी २०७८ साउनमा प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा निर्माण प्रक्रिया अगाडि बढाएको थियो ।

हालसम्म रंगशालाले ६० प्रतिशत भौतिक र ४६ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । कुल बजेटमध्ये हालसम्म ६५ करोड ८५ लाख खर्च भएको छ, जसमा चालुतर्फ ३ करोड ७२ लाख १५ हजार र पुँजीगततर्फ ६१ करोड ७ लाख ५६ हजार रहेको छ ।

संरचना निर्माणअन्तर्गत दर्शकदिर्घाका लागि ४ हजार कुर्सी जडानको कार्य सम्पन्न भएको छ भने भीआईपीतर्फको प्यारापिटमा सिभिल संरचना निर्माण कार्य अन्तिम चरणमा रहेको कर्णाली प्रदेश खेलकुद परिषद्ले जनाएको छ । यस्तै, कभर्ड हलको छानाबाहेक फिनिसिङ कार्य भइरहेको छ ।

पौडीपोखरी, व्यावसायिक सटर, गेट निर्माण कार्यको सिभिल स्ट्रक्चर कार्य सम्पन्न हुने चरणमा रहेको परिषद्का सदसस्यसचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए । फुटबल मैदानमा दुबो लगाई स्तरवृद्धि, एथलेटिक्स ट्रयाकको सबबेस र नाली निर्माण सम्पन्न भएको छ भने, रुख रोप्ने, हरियाली बनाउने कार्य भइरहेको छ । समग्रमा निर्माणाधीन रंगशालाको कार्य तोकिएको समयभित्र सम्पन्न गर्ने गरी तालिकाअनुसार नै कार्य प्रगति भइरहेको सञ्ज्यालको भनाइ छ ।

यस्तै, १०औँ खेलकुदलाई लक्षित गरी जुम्लाको राजा सिम खेलमैदानमा निर्माण सम्पन्न भएको छ । यस्तै, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाअन्तर्गत पातिहाल्लामा क्रिकेट खेलमैदानको निर्माण कार्य जारी रहेको छ ।

३० खेलमा १८ पदक

२०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३० खेलमा ५ सय चार खेलाडी सहभागी भएकोमा विभिन्न विधामा १८ वटा पदक प्राप्त भएको जनाइएको छ ।

उक्त प्रतियोगितामा कर्णालीले दुई स्वर्ण पदक, चार रजत र १२ कास्य गरी जम्मा १८ वटा पदक प्राप्त गरेको खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिताको छनोट प्रशिक्षण र सहभागितामा २ करोड ५० लाख खर्च भएको छ ।

२७ लाख रुपैयाँबराबरको पुरस्कार खेलाडीलाई

खेलाडीलाई प्रोत्साहन पुरस्कारअन्तर्गत नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेतालाई २ लाख, रजत र कास्य पदक विजेतालाई एक/एक लाखका दरले पुरस्कार प्रदान गरिएको छ ।

यस्तै, राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई २० हजार, रजत पदक विजेतालाई १५ हजार र कास्य पदक विजेता खेलाडीलाई १० हजार पुरस्कार प्रदान गरिएको छ । कर्णाली प्रदेशको बासिन्दा भई विभिन्न अन्तर्राष्ट्रियस्तरका पदक प्राप्त गर्ने खेलाडीलाई समेत पुरस्कृत गरिएको छ, जसका लागि २७ लाख ५५ हजार खर्च भएको छ ।

आगामी वर्षका लागि १ अर्ब बजेट

आगामी वर्ष २०८०/०८१ का लागि प्रदेश सरकारले खेलकुदका लागि १ अर्ब १९ लाख ७६ हजार बजेट विनियोजन गरेको छ, जसमा प्रदेश रंगशाला निर्माणका लागि ८५ करोड बजेट छुट्याइएको छ ।

हुम्लामा हक्की खेल मैदानका लागि ५० लाख, कालीकोटमा कभर्ड हल निर्माण गर्न ६० लाख, दशौँ राष्ट्रिय खेलकुदलक्षित विभिन्न खेल मैदान मर्मत सुधारका लागि २ करोड, चिसापानी खेल मैदान निर्माणका लागि २४ लाख, मैनतडा खेल पूर्वाधार निर्माणका लागि १८ लाख, चौरजहारी क्रिकेट मैदान निर्माण (रुकुम पश्चिम)का लागि ६० लाख, कालिन्चोक खेल मैदान (सुर्खेत) निर्माणका लागि २५ लाख, जिल्लास्तरीय खेलकुद मैदान निर्माणका लागि २ करोड बजेट छुट्याइएको छ ।

यस्तै, जाजरकोटमा कुदु रंगशाला निर्माणका लागि १५ लाख, मुख्यमन्त्री कप जिल्ला र प्रदेशस्तरका लागि १ करोड ९० लाख, दशौँ राष्ट्रिय खेलकुद तयारीका लागि ७० लाख र प्रदेशस्तरीय टिम तयारी तथा प्रशिक्षणका लागि ४ करोड ७० लाख बजेट व्यवस्थापन गरिएको छ ।

तपाईको प्रतिक्रिया