सुर्खेत । जुम्लामा आफ्नी १४ वर्षिया बहिनीलाई भगाएको आवेगमा एक युवकले स्थानीय एक दलित परिवारको घरमा आगो लगाइ दिएपछि पक्राउ परेका छन् । जिल्लाको तातोपानी गाउँपालिका–४ गिडीखोलाका २१ वर्षिय हिक्मत गिरीले गाउँकै मुकेन्द्र नेपालीले बहिनी भगाएको भन्दै शनिवार उनको घरमा आगो लगाइ दिएका थिए ।
आइतबार गिरीलाई प्रहरीले पक्राउ गरेर जिल्ला अदालत जुम्लाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रल्हाद कार्कीले जानकारी दिए । ‘बालिकाको दाईलाई हामीले पक्राउ गरेका छौं, उसले आफ्नी १४ वर्षिया बहिनीलाई भगाएपछि आफू खोज्दै मुकेन्द्रको घरमा पुगेको प्रारम्भिक बयान दिएको छ’, डिएसपी कार्कीले भने, ‘उनीहरुलाई खोज्दै जादा उसको घरमा फेला नपारेको र आफूले चुरोट पिउने हुँदा लाईटर साथमै रहेकाले आवेगमा आएर आगो लगाएको प्रहरी समक्ष बयान दिएको छ ।’
कार्कीका अनुसार मुकेन्द्रका परिवारले हिक्मत र उनका बुवा, काकाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २८५ को उपदफा ३ (घ) र उपदफा ४ बमोजिमको मुलुकी अपराध संहिता २०७४ को दफा १६६ को उपदफा १ र उपदफा २(१) बमोजिमको सजायको माग गरि जाहेरी दिएपछि हिक्मतलाई पक्राउ गरिएको हो । ‘गैरदलित समुदायकी किशोरी भगाएको भन्ने आएको छ, यसलाई अन्तरजातीय विवाह भनेर हामीलाई कसैले कुरा गरेको छैन, त्यसलाई त्यसरी परिभाषित गर्न पनि मिलेन’ डिएसपी कार्कीले भने, ‘एकातिर उमेरको विषय छ, अर्कोतिर जातीयताको विषय छ, हामी उक्त घटनाको विषयमा अनुसन्धानको क्रममा छौं ।’
भएको के थियो ?
डिएसपी कार्कीका अनुसार असार १२ गते सोही ठाउँका २१ वर्षिय मुकेन्द्र नेपालीले १४ वर्षिया बालिका बसन्ती गिरीलाई भगाएका थिए । बसन्ती सम्पर्कविहिन भएपछि उनका बुबा श्रीराम गिरीले १३ गते प्रहरी कहाँ खोजिका लागि निवेदन दर्ता गराएका थिए । प्रहरी उनको खोजिमा लागेको थियो ।
मुकेन्द्र नेपालगन्ज बसेर अध्ययन गर्दै आएको बताइएको छ । उनी केही महिना अघि गाउँ आएका थिए । ती युवा अहिले दुवै परिवारको सम्पर्कमा छैनन् । उनी र उनीसँगै भागेकी किशोरी नेपालगञ्जमा बसेको भन्नेसम्म खबर छ, तर आधिकारिक सम्पर्क भने भएको छैन । ललितपुरको लेलेमा एक बाख्रा फर्ममा काम गरेर प्राविधिक शिक्षा अध्ययन गरिरहेका बसन्तीका दाजु हिक्मतले बिहिनीलाई स्थानीय मुकेन्द्रले भगाएको थाहा पाएपछि १६ गते उनी जुम्ला पुगेका थिए ।
आफ्नी १४ वर्षिया बहिनीलाई भगाएको झोकमा मुकेन्द्रको घरमा आगो लगाएको हिक्मतले स्वीकारेको डिएसपी कार्कीको भनाई छ । आगलागी भएको दिन शनिबार राति घरमा कोही नभएको मुकेन्द्रका दाई भरत नेपालीले जानकारी दिए । ‘म सदरमुकाम बस्छु, केटी भगाएको भाई पनि परिवारको सम्पर्कमा छैन,’ भरतले भने, ‘उनीहरु भागेर नेपालगञ्ज गएको कुरा छ, घरमा अर्को भाई बस्थ्यो, आगलागी भएको दिन ऊ पनि घरमा रहेनछ ।’ आगलागी हुनुअघि किशोरी पक्षबाट त्यस्तो खालको धम्की भने नआएको भरतको भनाई छ ।
युग संवाददाता । । १८ असार २०८०, सोमबार १८:५५