‘लम्पी स्किन’ रोग नियन्त्रणमा ध्यान देऊ !

दैलेखको गुराँस गाउँपालिकाका प्रत्येक वडामा लम्पी स्किनका कारण दर्जनौँ गाई–गोरुको मृत्यु भईसकेको छ । हजारौँको संख्यामा गाई–गोरु विरामी छन् । पालिकामा हालसम्ममा एक सय ८५ देखि दुई सय वटाको संख्यामा गाई गोरुको मृत्यु गाउँपालिकाको तथ्यांक छ । पालिकाको तथ्यांक अनुसार गुराँस गाउँपालिकामा कुल नौं हजार पाँच वटा पशुवस्तु पालन भएका थिए । यि मध्ये हालसम्ममा पाँच हजार वटाको संख्यामा पशुवस्तुमा लम्पी स्किनको संक्रमण भईसकेको छ । असार लागेसँगै धान रोप्ने चटारो हुने पहाडी क्षेत्रमा जेठदेखि नै बस्तुभाउमा लाग्ने लम्पी स्किन रोगले प्रभावित पारेको खबर अहिले दिनहुँजसो आउन थालेको छ । कर्णालीका जिल्लाहरुका अधिकांश खेतबारीमा गोरुले जोतेर खेती गर्ने प्रचलन कायम छ । तर गोरुनै लम्पी स्किन रोगका कारणले मर्न थालेपछि किसानलाई धेरै मर्का परेको छ ।

खेती गर्न सबैतिर यान्त्रिक साधनको प्रयोग गर्न सकिएको छैन । एक मात्र साधनको रूपमा रहेको गोरु बिरामी हुने र मर्ने भएपछि किसान अन्योलमा हुनु स्वाभाविक भएको छ । हलका दुईमध्ये एउटा मात्र बिरामी वा मृत्यु भएमा किसान दोहोरो घाटा बेहोर्न बाध्य हुनुपर्छ । एकातिर पशुधनको नोक्सानी भएको छ भने अर्कातर्फ खेतीपातीमा समस्या भएको छ । लम्पी स्किन झिंगा, लामखुट्टे, किर्नाजस्ता परजीवी, कृत्रिम गर्भाधान, संक्रमित जन्तुको ओसारपसार, संक्रमित औजारको प्रयोगबाट स्वस्थ्य गाई, भैंसीमा सर्छ । गाईभैँसीलाई हुने यो एकदमै संक्रामक रोग हो । संक्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ । संक्रमित गाईभैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकाहीँ मृत्यु पनि हुन सक्छ ।

ज्वरो नियन्त्रण गर्न सकिएन भने त्यस्तो अवस्थामा संक्रमित गाईबस्तु मर्ने गर्छन् । यो रोग लागेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन् । संक्रमण भएमा ज्वरो आउने, तौल घट्ने, दूध कम आउने र शरीरमा गिर्खाको लक्षण देखिएका पशुको मृत्युदर एक प्रतिशतसम्म हुन्छ । गत जेठदेखि नै रोगले जटिल रूप लिए पनि पशु स्वास्थ्य प्राविधिकले समयमै प्रभावकारी परामर्श दिएको देखिएन ? गुराँस गाउँपालिकाले पशु प्राविधिक मार्फत स्थानीय स्तरमै पुगेर रोगबारे किसानलाई परामर्श गरेको बताएपनि त्यति प्रभावकारी समेत भएको देखिएको छैन । यस समयमा समुदायमा पुगेर परीक्षण, निदान र रोकथाममा खटेरै लाग्नुपर्छ । किसानको पशुधन बिरामी परेर खेती नै गर्न नपाएपछि उत्पादन कसरी हुन्छ ?

कृषिप्रधान मुलुकमा कृषिमै यस्तो समस्या आउँदा पनि वास्ता नगर्ने पशु स्वास्थ्य प्राविधिकहरूको भूमिका निगरानी गरेर आवश्यक परेमा कारबाही नै गर्नुपर्छ । लम्पी स्किनको रोकथाम र नियन्त्रण गर्न समयमै खोप लगाउन ढिलो भइसकेको छ । कर्णालीको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयल तथा मातहतका निकायबाट अविलम्ब गाउँगाउँ पुगेर रोगको परीक्षण र उपचार
गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया