सवारी दुर्घटनाको बीमा भुक्तानीमा बेथिती, ट्राफिक र बीमा कर्मचारीकै मिलेमतोमा लाखाै‌‍ भुक्तानी

सुर्खेत । चालकले मादक पदार्थ सेवन (मापसे) गरेको अवस्थामा घटेको सवारी दुर्घटनामा बीमा कम्पनीहरुले दावि भुक्तानी गर्दैनन् । तर सुर्खेतमा भने यसअघि भएको एक सडक दुर्घटनामा बीमा कम्पनीले सवारी धनिलाई नौं लाख रुपैयाँ दावी भुक्तानी दिएको छ ।

तत्कालिन अजोड इन्स्योरेन्स लिमिटेडले सवारी चालकले मापसे गरेको सूचना गोप्य राखेर दुर्घटनाको दावि भुक्तानी गरेको हो । २०८० असार १ गते अजोड इन्स्योरेन्सले वीरेन्द्रनगर स्थित विजय कन्स्ट्रक्सनलाई सवारी दुर्घटना विमा वापत नौं लाख रुपैयाँ भुक्तानी दिएको थियो ।
अजोड इन्स्योरेन्सको बीमालेख हेर्नेहो भने ‘चालकले मादकपदार्थ वा लागुपदार्थ सेवन गरेको कारणले भएको क्षति/हानि–नोक्सानी’ अवस्थामा भुक्तानी नदिने उल्लेख छ ।

सवारी चालकले मादक पदार्थ सेवन गरेको विषयलाई छायाँमा पारेर इन्स्योरेन्स कम्पनीका कर्मचारीको मिलेमतोमा दावी भुक्तानी गरेको स्रोतको आरोप छ । स्रोतबाट युगआह्वान दैनिकलाई प्राप्त कागजातमा प्रदेश अस्पतालका चिकित्सकले समेत चालकले मादक पदार्थ सेवन गरेको भनी प्रमाणित कागज प्रहरीलाई उपलव्ध गराएको थियो ।

ट्राफिक प्रहरीले बीमा कम्पनीका कर्मचारीलाई चालकले मापसे गरेको विवरण नभएको पत्र उपलब्ध गराएको स्रोतले बतायो । र, बीमा कम्पनीका कर्मचारीले घटनाको थप विवरण अध्ययन नगरि मिलेमतोमा भुक्तानी प्रक्रिया अघि बढाएको स्रोतको आरोप छ । सो घटनामा बीमा कम्पनीका सर्वेयर र कर्मचारीहरुकै मिलेमतो र आशंका गरिएको छ ।

२०७८ माघ १८ गते जिल्ला प्रहरी कार्यालय, सुर्खेतको अपराध अनुसन्धान तथा कारवाही शाखाले प्रदेश अस्पताललाई चालकको स्वास्थ्य परिक्षणका लागि पत्र पठाएको थियो । पत्रको जवाफमा प्रदेश अस्पतालमा कार्यरत मेडिकल अधिकृतले चालकको स्वास्थ्य परिक्षण गर्दा ‘मादक पदार्थ सेवन गरेको, दायाँ खुट्टाको घुडा तलतिर र बायाँ हातको बुढी औला हल्का काटिएको’ प्रहरीलाई जनकारी गराएका थिए ।

तर यता जिल्ला ट्राफिक प्रहरी कार्यालयले भने दुर्घटनामा चालकले मादक पदार्थ सेवन गरेको/नगरेको कुनैपनि विषयवारे जानकारी नै दिएको छैन । २०७९ चैत्र ५ गते ‘जो जससँग सम्बन्धित’ विषय पत्र काट्दै ट्राफिक प्रहरीले सवारी दुर्घटनाको प्रमाणीत गरेको देखिन्छ । दुर्घटना प्रमाणित भएको उक्त पत्रमा सवारी चालक तथा घाइतेहरुको नाम, सवारी नम्वर र स्थानका विषयमा मात्र उल्लेख गरिएको छ । चालक रविन्द्र शर्माले चलाएको उक्त गाडी वीरेन्द्रनगर–३ स्थित विजय कन्स्ट्रक्सनको नाउँमा दर्ता थियो । अजोड इन्स्योरेन्स लिमिटेड र युनाइटेड इन्स्योरेन्स लिमिटेड एक आपसमा मर्जरमा गई जेष्ठ १४ गतेबाट युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट हाल सेवा प्रवाह भईरहेको छ ।

के थियो घटना ?

हाल बीमा दावी भुक्तानी भएको दुर्घटना भने २०७८ माघ १८ गतेको हो । दैलेखको चामुण्डा बिन्दासैनी नगरपालिका–७ स्थायी ठेगाना भएका ३२ वर्षीय रविन्द्र शर्माले चलाएको प्र २–०३ ००१ च २००१ (हाल लु ३ च ३२३) नम्वरको स्कार्पियो गाडी दुर्घटनामा परेको थियो । माघ १८ गते राति करिव ९ः४५ बजे वीरेन्द्रनगर–३, मुलपानी चोकमा सडक दुर्घटना भएको हो । यरिचोकदेखि मुलपानी चोक तर्फ जाँदै गरेका चालक शर्माको गाडी विपरित दिशाबाट आएको लु २ च ३९८५ नम्वरको बोलेरो जीपसँग ठोक्किएको थियो । यो दुर्घटनामा नजिकै रोकिराखेको कर्णाली प्रदेश ०२ ००१ ह ०८२९ नंम्वरको अटो रिक्सा समेत क्षति भएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतको विवरणमा देखिन्छ ।

घटनामा अटो रिक्सा चालक लोकबहादुर सुनार, बोलेरो जीप चालक लालबहादुर दमाई र बोलेरो जीपमा सवार रहेका गणेश शाही समेत घाइते भएका थिए । आफैले व्यहोर्ने सहमती भएको थियो दुर्घटना पछि २०७८ माघ २४ गतेका दिन बोलेरो जीप, स्कारर्पियो र अटोरिक्साका सवारी धनिहरुले आपसी सम्झौता समेत गरेका थिए ।

अटोरिक्सा मर्मतमा लाग्ने खर्च र अटो चालकको स्वास्थ्य उपचार खर्च बोलेरो जीप पक्षले व्यहोर्ने सहमति भएको थियो । तर यता बोलेरो जीप र स्कारर्पियो पक्षविचमा भने आ–आफ्नो सवारी साधनको क्षतिपूर्ति आ–आफैले व्यहोर्ने भन्दै सहमति गरेका थिए ।

कानून सम्मत छैन

मादक पदार्थ सेवन गरेर सवारी चलाएका चालकको सवारी दुर्घटनामा बीमा दावी भुक्तानी गर्नु कानून विपरित रहेको नेपाल बीमा प्राधिकरणका कर्णाली प्रदेश प्रमुख पदमप्रसाद सोडारी बताउछन् । तर प्राधिकरणमा भने यस विषयमा हालसम्म पनि कुनै उजुरी तथा जानकारी नआएको उनले बताए । ‘हामी कहाँ लिखित उजुरी आएमा हामीले अनुसन्धान गर्न सक्छौँ’, उनले भने ।

गलत विवरण पायौँः इन्स्योरेन्स कम्पनी

युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले भने दावी भुक्तानी प्रक्रिया वखत चालकले मादक पदार्थ सेवन गरेको विषयमा जानकारी नपाएको बताएको छ । प्रहरीले इन्स्योरेन्स कम्पनीलाई पठाएको पत्र तथा बीमितबाट प्राप्त कागजातहरुमा चालकले मादक पदार्थ सेवन गरेको विषय उल्लेख नै नभएको युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सुर्खेत कार्यालयका प्रमुख योगेन्द्र कार्की बताउछन् ।

प्रहरी प्रशासनले समेत चालकले मापसे गरेको विषय इन्स्योरेन्स कम्पनीलाई जानकारी नदिएको आरोप सहित उनले भने, ‘अहिले हामीलाई जानकारी भएको छ । उहाँहरुबाट भुक्तानी भएको रकम फिर्ता माग्ने तयारीमा छौँ ।’

तपाईको प्रतिक्रिया