लम्पी स्किनकाे प्रभाव, हलगोरु मरेपछि किसानलाई बाली लगाउनै सकस

सुर्खेत । दैलेखको गुराँस गाउँपालिका–५ का थिरबहादुर रोकायसँग एक हल गोरु थिए । एक महिला पहिले ‘लम्पी स्किन’ रोगले एउटा गोरु म¥र्यो, अर्को गोरु पनि अहिले विरामी नै छ । खेतबारीमा जोतखनका लागि गोरुको प्रयोग गर्ने गरेका रोकायलाई अहिले गोरु नभएपछि बाली लगाउन समस्या सिर्जना भएको छ ।

‘अव आलु खनेर काउली, बन्दा लगाउने समय हो । तर घरमा गोरु नै भएनन् । यो समयमा कसरी बारीमा जोत्न सकिन्छ’, उनले भने । रोकाय मात्र होइन गुराँस–५ का कमल थापाको समेत समस्या उस्तै छ । उनको समेत घरमा एउटा गोरु लम्पी स्किन रोगले मरिसक्यो । अर्को गोरु पनि विरामी छ । गोठमै उपचार भईरहेको छ । तर थापालाई पनि खेतबारी कसरी जोतखन गर्ने भन्ने चिन्ताले सताएको छ ।

गुराँस गाउँपालिकाको ४, ५, ६ र ८ नं. वडाका उपल्लो भेगमा अहिले तरकारी बाली रोप्ने समय हो । ‘वेशीतिर खेतमा धान लगाउने गरिन्छ । यता मास्थिर डाँडामा भने अव हामी काउली र बन्दा जस्ता तरकारी लगाउँछौ’, रोकायले भने, ‘यहाँ गाउँभरी रोग लागेर गोरु मरिसके । धेरै विरामी छन् । गाउँमा जोत्नलाई गोरु छैनन् भन्दा पनि हुन्छ ।’

गुराँस गाउँपालिकामा आठ वटा वडा छन् । यहाँ प्रत्येक वडामा लम्पी स्किनका कारण दर्जनौँ गाई–गोरुको मृत्यु भईसकेको छ । हजारौँको संख्यामा गाई–गोरु विरामी छन् । पालिकामा हालसम्ममा एक सय ८५ देखि दुई सय वटाको संख्यामा गाई गोरुको मृत्यु भएको गुराँस गाउँपालिकाका पशुपंक्षी विकास अधिकृत डा. रोशन राजबहादुर सिंहठकुरी बताउछन् ।

पालिकाको तथ्यांक अनुसार गुराँस गाउँपालिकामा कुल नौं हजार पाँच वटा पशुवस्तु पालन भएका थिए । यि मध्ये हालसम्ममा पाँच हजार वटाको संख्यामा पशुवस्तुमा लम्पी स्किनको संक्रमण भईसकेको छ । पालिकाले स्थानीय स्तरमै लम्पी स्किन विरुद्द स्वास्थ्य सेवा समेत दिईरहेको छ । लम्पी स्किनकै लागि भनेर प्रत्येक वडामा एक जना प्राविधिक कर्मचारी समेत खटाइएको छ ।

डा. रोशनले भने, ‘पालिकाले ६ लाख रुपैयाँको औषधि खरिद गरेर प्रत्येक वटामा प्राविधिक कर्मचारी सहित पठाएको छ । हामीले घरमै पुगेर करिव १५ सय वटा गाईगोरुलाई उपचार मार्फत निको समेत बनाएका छौँ ।’

पालिकाले दुई महिनाका लागि भनेर चार जना प्राविधिकलाई ज्यालादारी र अरु आफ्ना कर्मचारीलाई रोगको संक्रमण रोकथामका लागि खटाएको थियो । हालको समयमा गुराँसमा लम्पी स्किन संक्रमण नियन्त्रण उन्मुख अवस्थामा रहेको उनी बताउछन् । तर खेतीको समयमा किसानका गोरु मर्नु र विरामी हुँदा उनीहरु मर्कामा परेको उनको भनाई छ ।

यस अवस्थामा किसानहरु साना खाने ट्रयाक्टरको आवश्यकता महशुस गरिरहेका छन् । ‘गाउँमा पालैपालो गोरु बाँडेर जोत्दा तरकारी लगाउने समय नै नपुग्ला भन्ने डर छ । हामीलाई बारी जोत्न साना खाले ट्रयाक्टर भएको भए धेरै सहज हुने थियो’, उनले भने, ‘पहाडी क्षेत्र भएपनि साना खाले ट्रयाक्टर भएका हामीले सजिलै बारी जोत्न सक्थ्यौँ । यसअघि हाम्रो गाउँमा ट्रयाक्टरले जोत्ने काम शुरु भएको पनि छैन ।’

गोरुको अ‍ैचो–पैचोमा चल्दैछ गुजारा

आफ्ना घरका गोरुको मृत्यु भएपछि अहिले किसानहरु अ‍ैचो–पैचो गरेर बारी खनजोत गर्दैछन् । ‘यो भन्दा अगाडी त यहाँका किसानले मकै समेत लगाउन पाएनन् । लम्पी स्किनले धेरै सतायो । अहिले अलि संक्रमण कम भएको जस्तो छ’, गुराँस गाउँपालिका–५ का वडा अध्यक्ष भुपेन्द्रबहादुर चन्दले भने, ‘धेरैको घरमा जोत्नलाई गोरुको व्यवस्था छैन । कतिका मरिसके, कतिका विरामी नै छन् । विरामी गोरुलाई जोत्न लगाउन मिलेन ।’

यस अवस्थामा गाउँमा संक्रमणबाट बचेका गोरुबाट पालैपालो खनजोतको काममा लगाइएको अध्यक्ष चन्दले बताए । तर अ‍ैचो–पैचोमा खनजोत गर्दा सबै किसानले समयमै बाली लगाउन नभ्याउने समस्याको सिर्जना भएको छ । ‘अलि जोत्न सक्ने गोरुहरुबाट पालैपालो जोतेर गुजारा चलिरहेको छ । के गर्ने किसानहरु धेरै पिडामा हुनुहुन्छ ।’

यसअघि संक्रमण भएका गोरुहरुलाई जोतखनका प्रयोग गर्दा उनीहरुको मृत्यु भएको डा. रोशनले बताए । ‘रोग संक्रमणको पहिलो अवस्थामा किसानले सबै थाह पाउने पनि हुँदैन । यो अवस्थामा गोरुलाई जोत्न प्रयोग गर्दा मृत्युदर बढेको जस्तो पाएका छौँ’, उनले भने ।

तपाईको प्रतिक्रिया