रैथाने बाली उत्पादनमा सकारात्मक सन्देश !

कर्णालीमा हाल रैथाने उत्पादन क्षेत्र बढ्न थालेको छ । आर्थिक वर्ष २०७९/०८० मा कर्णालीमा कृषि बालीले ढाकेको क्षेत्रफल एक दशलमव ३८ प्रतिशतले बढेर तीन लाख २१ हजार सात सय ८५ हेक्टर पुगेको छ । गत आर्थिक वर्षमा भने कृषि बालीले ढाकेको क्षेत्रफल तीन दशमलव ९८ प्रतिशतले घटेको थियो । कृषि उपजमा विशेषगरी मकै, गहुँ र जौ, फापर र कोदो बाली जस्था रैथाने बालीले ढाकेको क्षेत्रफल बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकको सुर्खेत कार्यालयद्वारा प्रकाशित प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा कर्णालीमा कृषि बालीले ढाकेको क्षेत्रफल बढेको देखिन्छ ।

प्रमुख बाली मध्य फापर उत्पादन बढेको देखिन्छ । चालु आर्थिक वर्षमा कर्णालीमा फापर बालीले ढाकेको क्षेत्रफल ४६ दशमलव ५८ प्रतिशतले बढेको हो । त्यसैगरी कोदो बालीले ढाकेको क्षेत्रफल १७ दशमलव ५७ प्रतिशतले बढेको छ । मकै, गहुँ र जौ बालीले ढाकेको क्षेत्रफल क्रमश पाँच दशलमव ५८, शून्य दशमलव ५२ र एक दशमलव ८० प्रतिशतले बढेको छ । खाद्यबाली तर्फ २०७९/०८० मा कर्णालीले आठ लाख १६ हजार एक सय ६ मेट्रिक टन खाद्य बाली उत्पादन गरेको छ । उत्पादन तर्फ भने सुर्खेतमा सबैभन्दा धेरै खाद्य बाली उत्पादन भएको देखिन्छ । सुर्खेतमा चालु आर्थिक वर्षमा एक लाख ८४ हजार एक सय ८६ मेट्रिकटन खाद्य बाली उत्पादन भएको राष्ट्र बैंकको तथ्यांक छ । दैलेखमा एक लाख ५५ हजार चार सय २७, जुम्लामा ६२ हजार एक सय ८३, रुकुम पश्चिममा ७४ हजार ७३, हुम्लामा १५ हजार एक सय १२ मेट्रिक टन खाद्य बाली उत्पादन भएको छ । जाजरकोटमा ९४ हजार सात सय ६४, कालिकोटमा ३८ हजार सात सय १६, डोल्पामा १३ हजार दुई सय ६५, मुगुमा १७ हजार पाँच सय ७० र सल्यानका एक लाख ६० हजार आठ सय पाँच मेट्रिकटन खाद्य बाली उत्पादन भएको राष्ट्र बैंकको तथ्यांक छ ।

कर्णालीमा विगतको तुलनामा रैथाने बाली उत्पादनमा वृद्धि हुनु सकारात्मक सन्देश हो । यसले कर्णालीलाई आत्मनिर्भर बनाउँनका लागि धेरै मद्दत गर्छ । सरकारी निकायबाट कृषि क्षेत्रमा आकर्षण गर्नका लागि सञ्चालित कृषि परियोजना कार्यान्वयनले कर्णालीका कृषि क्षेत्रफल बढेको देखिन्छ । यसका साथै कृषि क्षेत्रमा भएका बीमा कार्यक्रम तथा गत वर्षमा भएको अत्यधिक वर्षातको कारण समेत तुलनात्मक रुपमा कृषि उपजले ढालेको क्षेत्रफल बढेको हो ।

उत्पादन तर्फ सकारात्मक नतिजा आईरहदा यसलाई थप बढाउनका लागि हामी सबै लाग्नुपर्छ । कृषकमैत्री कार्यक्रम अन्तरगत हाल कर्णाली प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि तय भएको उत्पादनमुखी अनुदान कार्यक्रमहरुले समेत कर्णालीमा उत्पादन बढाउन मदत गर्नेछन् । यसको कार्यान्वयनका लागि प्रदेश सरकार गम्भिर बन्नुपर्छ । कर्णालीमा उत्पादन बढ्न थाल्नु कर्णालीवासी सबैको लागि खुशीको विषय हो ।

तपाईको प्रतिक्रिया