कर्णालीमा बढ्न थाल्यो रैथाने उत्पादन

सुर्खेत । कर्णालीमा कृषि बालीले ढाकेको क्षेत्रफल बढ्न थालेको छ । आर्थिक वर्ष २०७९/०८० मा कर्णालीमा कृषि बालीले ढाकेको क्षेत्रफल एक दशलमव ३८ प्रतिशतले बढेर तीन लाख २१ हजार सात सय ८५ हेक्टर पुगेको छ । गत आर्थिक वर्षमा भने कृषि बालीले ढाकेको क्षेत्रफल तीन दशमलव ९८ प्रतिशतले घटेको थियो ।

कृषि उपजमा विशेषगरी मकै, गहुँ र जौ, फापर र कोदो बाली जस्था रैथाने बालीले ढाकेको क्षेत्रफल बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकको सुर्खेत कार्यालयद्वारा प्रकाशित प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा कर्णालीमा कृषि बालीले ढाकेको क्षेत्रफल बढेको देखिन्छ । प्रमुख बाली मध्य फापर उत्पादन बढेको देखिन्छ । चालु आर्थिक वर्षमा कर्णालीमा फापर बालीले ढाकेको क्षेत्रफल ४६ दशमलव ५८ प्रतिशतले बढेको हो । त्यसैगरी कोदो बालीले ढाकेको क्षेत्रफल १७ दशमलव ५७ प्रतिशतले बढेको छ ।

मकै, गहुँ र जौ बालीले ढाकेको क्षेत्रफल क्रमश पाँच दशलमव ५८, शून्य दशमलव ५२ र एक दशमलव ८० प्रतिशतले बढेको छ । सरकारी निकायबाट कृषि क्षेत्रमा आकर्षण गर्नका लागि सञ्चालित कृषि परियोजना कार्यान्वयनले कर्णालीका कृषि क्षेत्रफल बढेको अध्ययन प्रतिवेदनको भनाई छ । यसका साथै कृषि क्षेत्रमा भएका बीमा कार्यक्रम तथा गत वर्षमा भएको अत्याधिक वर्षातको कारण समेत तुलनात्मक रुपमा कृषि उपजले ढालेको क्षेत्रफल बढेको अध्ययन प्रतिवेदनले जनाएको छ ।

आठ लाख मेट्रिकटन उत्पादन

खाद्यबाली तर्फ २०७९/०८० मा कर्णालीले आठ लाख १६ हजार एक सय ६ मेट्रिक टन खाद्य बाली उत्पादन गरेको छ । उत्पादन तर्फ भने सुर्खेतमा सबैभन्दा धेरै खाद्य बाली उत्पादन भएको देखिन्छ । सुर्खेतमा चालु आर्थिक वर्षमा एक लाख ८४ हजार एक सय ८६ मेट्रिकटन खाद्य बाली उत्पादन भएको राष्ट्र बैंकको तथ्यांक छ ।

दैलेखमा एक लाख ५५ हजार चार सय २७, जुम्लामा ६२ हजार एक सय ८३, रुकुम पश्चिममा ७४ हजार ७३, हुम्लामा १५ हजार एक सय १२ मेट्रिक टन खाद्य बाली उत्पादन भएको छ । जाजरकोटमा ९४ हजार सात सय ६४, कालिकोटमा ३८ हजार सात सय १६, डोल्पामा १३ हजार दुई सय ६५, मुगुमा १७ हजार पाँच सय ७० र सल्यानका एक लाख ६० हजार आठ सय पाँच मेट्रिकटन खाद्य बाली उत्पादन भएको राष्ट्र बैंकको तथ्यांक छ ।

खाद्य बाली क्षेत्र धेरै

कर्णालीमा तरकारी तथा बागवानी खेति भने न्यून छ । यहाँ २० हजार नौं सय ८३ हेक्टर क्षेत्रफलमा तरकारी तथा बागवानीको खेति भईरहेका छन् । खाद्यबाली तर्फ प्रदेशमा कुल दुई लाख ७५ हजार नौं सय ६ हेक्टरमा खेति भईरहेको देखिन्छ ।

फलफूल तथा मसला तर्फ ३२ हजार ६ सय ३५ हेक्टरमा खेति भएको राष्ट्र बैंकले जनाएको छ । खाद्य बाली तर्फ धेरै हिस्सा क्षेत्रफल ओगटेको जिल्लामा सल्यान छ । यहाँ ५२ हजार ६ सय १३ हेक्टर क्षेत्रफलमा खाद्यबाली उत्पादन भईरहेको छ । त्यसैगरी सुर्खेतमा समेत ५२ हजार चार सय ३८ हेक्टर क्षेत्रफलमा खाद्यबाली उत्पादन भईरहेको राष्ट्र बैंकले जनाएको छ ।

दैलेखमा ४८ हजार सात सय ९८, जुम्लामा २० हजार आठ सय ९८, रुकुम पश्चिममा २४ हजार सात सय पाँच, हुम्लामा ६ हजार पाँच सय ५४, जाजरकोटमा ३२ हजार चार सय २४ हेक्टर क्षेत्रफलमा खाद्यबाली उत्पादन भईरहेको देखिन्छ । कालिकोटमा १९ हजार तीन सय ९०, डोल्पामा सात हजार दुई सय ४५, मुगुमा १० हजार आठ सय ३८ हेक्टर क्षेत्रफलमा खाद्यबाली उत्पादन भईरहेको राष्ट्र बैंकले जनाएको छ ।

धान उत्पादन घट्दो

कर्णालीमा कृषि उत्पादन बढेपनि यता धान खेती भने घट्न थालेको हो । यस वाहेक मकै, गहुँ र जौ जस्ता मुख्य बाली खेती भने बढेका छन् ।

आर्थिक वर्ष २०७८/०७९ को तुलनामा २०७९/०८० मा कर्णालीमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल बढेपनि प्रमुख बाली मध्य धान खेतीले ढाकेको क्षेत्रफल भने घटेको देखिन्छ । गत आर्थिक वर्ष २०७८/०७९ को पुष महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा कृषि बाली ढाकेको क्षेत्रफल एक दशमलव ३८ प्रतिशतले बढेको थियो । तर सोहि अनुपातमा धान बालीले ढाकेको क्षेत्रफल भने घटेको देखिन्छ । धान बालीले ढाकेको जग्गा क्षेत्रफल एक दशमलव १८ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया