कर्णालीका ३५ हजार नागरिक र ३ जिल्ला बाढीपहिरोको उच्च जोखिममा

सुर्खेत । नेपालमा पूर्वी क्षेत्रबाट मनसुन विस्तारै प्रवेश गरिरहेको छ । लामो समयको खडेरीपछि नेपाल भित्रिएको मनसुनका कारण पूर्वको कोशी प्रदेशका केही जिल्लाहरु बाढीपहिरोबाट नराम्ररी प्रभावित बनेका छन् । यस वर्ष मनसुनजन्य प्रकोपबाट देशभर १२ लाख ५० हजार नागरिक प्रभावित हुने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । जसमा कर्णाली प्रदेशमा झण्डै ३५ हजार तीन सय ३३ जना प्रभावित हुने आँकलन गरिएको छ । विगतका तथ्यांकलाई हेर्ने हो भने कर्णाली प्रदेशका रूकुम पश्चिम, दैलेख र सुर्खेत जिल्ला बाढीपहिरोको उच्च जोखिममा छन् ।

कर्णालीमा विगत तीन आर्थिक वर्षको तथ्यांक हेर्दा विपद्बाट दुई सय १८ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष ०७७÷७८ मा विपद्मा परी ८५ जनाको मृत्यु भएको छ । सोही वर्ष चार सय १६ विपद्का घटनामा परी ११ जना बेपत्ता भएका थिए । घटनामा एक हजार एक सय ३४ घरमा क्षति पुगेको थियो । एक हजार तीन सय २१ घरपरिवार आंशिक तथा पूर्ण विस्थापित भएका थिए । सोही वर्ष ३५ करोड ५६ लाख ९९ हजार पाँच सय ६४ रुपैयाँ धनजनको क्षति भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक छ ।

यस्तै गत आर्थिक वर्ष ०७८÷०७९ मा प्रदेशभर विपद्जन्य घटनामा ६८ जनाको मृत्यु हुँदा १६ जना बेपत्ता र ७३ जना घाइते भएका थिए । यस वर्ष एक हजार दुई सय १५ वटा विपद्का घटना भएका छन् । जसमा एक हजार एक सय ८६ घरमा क्षति भएकोे छ । चार सय ४२ घरपरिवार विस्थापित

भएका छन् । यस वर्ष विपद्का कारण ५१ करोड ४१ लाख ५२ हजार दुई सय ५७ धनजनको क्षति भएको छ ।
कर्णालीमा चालु आर्थिक वर्ष २०७९÷०८० को जेष्ठ महिनासम्म विपद् घटनामा परी ६५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षमा कर्णालीमा तीन सय ४८ वटा बाढी पहिरोका घटना घटेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार यस वर्ष कर्णालीमा दुई हजार एक सय ७६ विपद्जन्य घटनामा परी २८ जना बेपत्ता भएका छन्, भने दुई हजार नौं सय ४७ जना विस्थापित भएका छन् । यस्तै एक सय १४ जना घाइते भएका छन् भने ६ हजार दुई सय १७ घरमा पूर्ण तथा आंशिक क्षति पुग्दा ६४ करोड ४६ लाख ३१ हजार सात सय ८४ रुपैयाँ बराबर धनजनको क्षति भएको छ ।

चालु आर्थिक वर्षमा कर्णालीमा सबैभन्दा धेरै विपद्का घटना हुम्ला जिल्लामा भएका छन् । हुम्लामा नौं सय ४० वटा मनसुनजन्य घटनामा परी आठ जनाको मृत्यु हुँदा ६ जना घाइते तथा नौ सय चार घरमा क्षति पुगेको छ । दुई जना बेपत्ता रहेका छन् भने तीन हजार दुई सय ८६ परिवार विस्थापित भएको प्रदेश प्रहरीको तथ्यांकमा उल्लेख छ । यस्तै डोल्पामा सबै भन्दा कम विपद्का घटना घटेका छन् ।

चालु आर्थिक वर्षको अन्त्य सम्ममा डोल्पामा १५ वटा विपद्का घटना घट्दा तीन जनाको मृत्यु भएको छ, भने ६ जना घाइते हुँदा ३२ परिवार विस्थापित भएको प्रदेश प्रहरीले जनाएको छ ।
यस्तै, सुर्खेतमा चार सय ३४ वटा विपदजन्य घटनामा परी १८ जना घाइते भएका छन्, भने तीन सय ७९ घरमा क्षति पुग्दा पाँच सय ६६ परिवार विस्थापित भएका छन् ।

जिल्लागत अवस्था के छ ?

पहिरोको उच्च जोखिमा रहेको दैलेखमा एक सय ६२ विपद्का घटनामा ६ जनाले ज्यान गुमाएका छन् । ११ जना घाइते हुँदा दुई जना वेपत्ता, एक सय ४९ घरमा क्षति पुगेको छ । ६ सय ६५ परिवार विस्थापित भएको प्रहरीको तथ्यांक छ । सल्यानमा दुई सय ३४ वटा घटनामा परि चार जनाको मृत्यु भएको छ, भने दुई सय ३४ घरमा क्षति पुग्दा ४४ जना घाइते भएका छन् । सल्यानमा ६ सय चार घरपरिवार विस्थापित भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै मुगु जिल्लामा ५० मनसुनजन्य घटना हुँदा ११ जनाले ज्यान गुमाएका छन्, भने एक जना घाइते र तीन जना वेपत्ता भएका छन् । चार सय ७१ घरमा क्षति पुगेको छ । पाँच हजार तीन सय ८६ परिवार विस्थापित भएका छन् । चालु आर्थिक वर्षमा रुकुम पश्चिममा ७६ वटा मनसुनजन्य घटना घटेकोमा चार जनाले ज्यान गुमाएका छन्  । ५५ घरमा क्षति पुग्दा ६ जना घाइते भएका छन् भने एक जना वेपत्ता छन् । १७ परिवार विस्थापित भएका छन् । जाजरकोटमा ५५ घटनामा चार जनाले ज्यान गुमउँदा ६ जना घाइते भएका छन् ।

३० घरमा क्षति पुग्दा १७ परिवार विस्थापित भएका छन् । जुम्लामा ३२ विपद्का घटनामा ११ जनाले ज्यान गुमाउँदा आठ जना घाइते र एक जना वेपत्ता भएका छन् । यस्तै एक हजार सात सय १० घरमा क्षति एक हजार नौ सय ५६ परिवार विस्थापित भएका छन् ।

एक सय ६९ विपद्का घटना हुँदा कालिकोटमा एक हजार चार सय ७५ घरमा क्षति पुगेको छ भने २४ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ । घटनामा परी आठ जना हुँदा १९ जना वेपत्ता भएका छन् । सात हजार चार सय १८ परिवार विस्थापित भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांकमा उल्लेख छ ।

कर्णालीमा सबैभन्दा बढी मानवीय क्षति बाढी पहिरोका कारण हुने गरेको छ । हालसम्म बाढी र पहिरोमा परी ३८ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षमा ८६ वटा आगलागीका घटना हुँदा सात जनाले ज्यान गुमाएका छन्, भने २० जना घाइते भएका छन् । यस्तै ३३ वटा चट्याङका घटनामा परी तीन जनाले ज्यान गुमाएका छन्, भने चार जना घाइते भएका छन् ।

के छ प्रदेश सरकारको तयारी ?

कर्णालीमा पछिल्ला केही वर्षयता मनसुनजन्य विपद्का घटना बढ्न थालेको बताउँदै विपद् पूर्व र विपद्पछिको खोज उद्दार, राहत र पुनरस्थापना लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्र्तगत रहेको विपद् व्यवस्थापन शाखाका अधिकृत कृष्णबहादुर रोकाया बताउँछन् ।

सरकारले चालु आर्थिक वर्षमा विपद् पुर्वतयारीका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८० लाई अध्यावधिक गरी केही दिनमै लागु गर्ने तयारी गरिरहेको रोकाया बताउँछन् । विपद् पूर्व प्रभावित क्षेत्रमा विभिन्न खालका जनचेता जगाउने तथा विपद्पछि खोज, उद्दार, राहत र पुनरस्थापनाका लागि प्रदेश सरकार, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, तीन वटै सुरक्षा निकाय तथा रेडक्रसको उद्दार टोली हेलिकप्टरसहित तयारी अवस्थामा रहेको रोकाया बताउँछन् ।

विपद्पछि हुनसक्ने सम्भावित क्षतिको पूर्वानुमान गरी विभिन्न विकास साझेदारहरुसँगको समन्वयमा राहत तथा उद्दार सामाग्रीको व्यवस्थापन गरिएको अधिकृत रोकायाको भनाई छ ।
कर्णालीमा विपद् घटनामा परेका नागरिकलाई राहत वितरणमा भौगोलिक विकटता, यातायातको असुविधा तथा एकद्वार प्रणाली लागु नहुँदा समस्या हुने उनको भनाई छ ।

रोकायाका अनुसार आर्थिक वर्ष ०७७/७८ मा कर्णालीका दश जिल्लामा एक करोड ६० लाख बराबरको राहत वितरण गरिएको छ । यस्तै आर्थिक वर्ष ०७८÷७९ मा तीन करोड एक लाख र चालु आर्थिक वर्ष ०७९/०८० मा ९७ लाख नौ हजार नौ सय २३ रुपैयाँ बराबरको राहत सामाग्री वितरण भएको महाशाखाका अधिकृत रोकाया बताउँछन् ।

तपाईको प्रतिक्रिया