‘मंकिपक्स’ जोखिम नियन्त्रण तयारीमा ध्यान देऊ !

नेपालमा पहिलो पटक ‘मंकीपक्स’ भाइरस संक्रमण पुष्टी भईसकेको छ । केही दिनअघि नेपाल आएकी एक एकजना ६० वर्षीया विदेशी महिलामा मंकीपक्सको संक्रमण पुष्टी भएपछि अहिले नेपालभर यसको जोखिम बढेको देखिन्छ । कर्णाली प्रदेशको एक अस्पताल सहित संघीय सरकाले अहिले देशभरका १४ वटा अस्पतालमा रोग नियन्त्रणका लागि ‘फोकल पर्सन’ समेत तोकिसकेको अवस्था छ । कर्णाली प्रदेशभरको जोखिम अवस्था नियन्त्रण तयारी, विरामीको खोजी, संक्रमण रोकथाम लगायतका गतिविधिलाई बढाउन सुर्खेतका लागि डा. सुस्मिता प्रधानलाई फोकल पर्सन तोकिएको छ । सन् १९८० मा विफरको उन्मूलन र विश्वव्यापी विफर खोपको अन्त्यपछि मंकिपक्स मध्य, पूर्वी र पश्चिमा अफ्रिकामा निरन्तर देखा परिरहेको छ । अव भने यसबाट अन्य देशहरु समेत अछुतो छैनन् ।

खासगरी गरिवीको रेखाका रहेका देशका नागरिक मंकिपक्सबाट ज्यादा प्रभावित हुनेगरेको विभिन्न सञ्चार माध्ययममा प्रकाशित अनुसन्धान लेखहरुले जनाएका छन् । मंकिपकस संक्रमण पशु र मानव दुवैमा जोखिम नै छ । यस रोगको संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा यो रोग सर्ने सम्भावना बढेर जान्छ । खासगरी विरामीको घाउ–खटिरा, शरीरबाट निस्किएको तरल पदार्थ (जस्तै थुक, ¥यालको सम्पर्कबाट, भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष), संक्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावरबाट, भाइरस रहेको ओछ्यान र लुगाबाट सर्ने जोखिम रहन्छ । रोग संक्रमण भईहालेमा ज्वरो आउने, ज्वरो सुरू भएको एकदेखि तीन दिन भित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने गर्छ । टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्ने तथा आँखामा संक्रमण भई दृष्टि गुम्ने समेतको जोखिम छ । यसका साथै निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्ने चिकित्सकहरु बताउछन् ।

यस अघि पनि कर्णालीका क्षेत्रमा रोग तथा यसको जोखिम नियन्त्रणका सवालमा संवेदनशिलता अपनाइएको देखिदैन । कोभिड–१९ संक्रमण अत्यधिक भएको समयमा क्वारेन्टाइनमा भएका नागरिकलाई समेत ‘कसम खुवाएर’ घर फर्काउने पनि कर्णाली नै हो । रोग लाग्नु पूर्व कर्णालीमा संक्रमण रोकथामका लागि धेरै प्रयासहरु भएका छैनन् । कर्णाली सधै रोग र रोगिको उपचारका लागि मात्र सक्रिय भइरहने आरोपहरु छन् । मंकिपक्स संक्रमण रोकथामका लागि यहाँ वीरेन्द्रनगरमा प्रदेश स्तरीय आईशोलेलन कक्षको निर्माण आवश्यक देखिन्छ । विरामीको सिगान, ¥याल, थुक बाट पनि यो संक्रमण हुनसक्ने भएकाले सामाजिक स्तरमा नै विरामीको उपचार धेरै सम्भव छैन । यसका लागि छुट्टै उपचार कक्षको व्यवस्थापन, स्वास्थ्य चौकि तथा अस्पतालसँग समन्वयको संयन्त्रको विकास, जनशक्तिको पहुँच व्यवस्थापना, प्रयाप्त औषधि उपचार तथा पूर्वाधारको व्यवस्थापन, स्वाथ्यकर्मीलाई प्रयाप्त तालिम लगायतका जोखिम निणन्त्रणका उपायहरु अपनाउन पर्छ । समाजमा संक्रमण बढेको अवस्थामा स्वास्थ्य भार कम गर्न पूर्वतयारी नै उत्तम विकल्प हो । प्रदेश सरकार तथा यहाँका स्वास्थ्य सेवा प्रदायक कार्यालयहरुले संक्रमण जोखिम नियन्त्रणका लागि समयमै ध्यान दिन जरुरी छ ।

तपाईको प्रतिक्रिया