११ महिनामा ४० प्रतिशत बजेट कार्यान्वयन, दुई सातामा मात्र एक अर्व ७९ करोड बजेट खर्च

सुर्खेत। जेष्ठ महिनाका अन्तिम दुई सातामा मात्र कर्णाली प्रदेश सरकारले एक अर्व ७९ करोड बढी बजेट खर्च गरेको छ । यसअघि कर्णाली प्रदेश सरकारले जेष्ठ १७ गतेसम्म कुल बजेट मध्ये ११ अर्व ३० करोड २१ लाख ४० हजार रुपैयाँ खर्च गरेको थियो । जेष्ठ १७ गतेसम्ममा कुल बजेटको ३४ दशमलव ५२ प्रतिशत खर्च गरेको प्रदेश सरकारले जेष्ठ मसान्तमा भने कुल बजेटको ४० प्रतिशत खर्च पु¥याएको छ ।

जेष्ठ मसान्तसम्ममा कुल १३ अर्व नौं करोड ६६ लाख १७ हजार बजेट खर्च भएको छ । जेष्ठ १७ गतेदेखि ३२ गतेसम्म उक साताको अवधिमा मात्र एक अर्व ७९ करोड ४४ लाख ७६ हजार नौं सय १७ रुपैयाँ ८२ पैसा बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । बजेट कार्यान्वयनको अन्तिम महिना आईपुग्दा कर्णाली प्रदेश सरकारको कुल बजेट मध्ये आधा अझै बाँकी छ । हालसम्ममा कर्णालीमा चालु तर्फको बजेटमा ४८ दशमलव १० प्रतिशत बजेट खर्च भएको छ । त्यसैगरी पूँजिगत तर्फ ३४ दशमलव ६१ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयको भनाई छ । २०७९÷०८० मा चालु तर्फ १३ अर्व आठ करोड ६६ लाख २४ हजार सात सय ६५ रुपैयाँ बजेट विनियोजन गरिएको थियो । जेष्ठ मसान्तसम्मका चालु तर्फको यो बजेटमा कर्णालीले ६ अर्व २९ करोड ४९ लाख २५ हजार ५२ रुपैयाँ ४५ पैसा बजेट खर्च गरेको छ ।

पूँजिगत तर्फ १९ अर्व ६५ करोड ४२ लाख ७९ हजार दुई सय रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्ममा ६ अर्व ८० करोड १६ लाख ९२ हजार सात सय ८० रुपैयाँ १७ पैसा बजेट खर्च भएको छ ।

बजेटको आधा पनि खर्च भएन

कर्णालीका अधिकांश मन्त्रालयले चालु आर्थिक वर्ष २०७९÷०८० को ११ महिनासम्मको अवधिमा विनियोजित बजेटको आधा रकम समेत खर्च गरेका छैनन् । बजेट खर्च न्यून रहेको मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय शिर्ष स्थानमा छ । मुख्यमन्त्री कार्यालयका लागि चालु आर्थिक वर्षमा कुल ६७ करोड ३५ लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । तर मुख्यमन्त्री कार्यालयले भने हालसम्ममा कुल १५ करोड १८ लाख २३ हजार ६ सय १४ रुपैयाँ बजेट खर्च गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका लागि छुट्टाइएको बजेटमा हालसम्ममा २२ दशमलव ५४ प्रतिशत मात्र बजेट खर्च भएको हो ।

सो पछि बजेट खर्च न्यून रहेका मन्त्रालयहरुमा आन्तरिक मामिला तथा कानून मन्त्रालय दोस्रो स्थानमा छ । कानून मन्त्रालयले हालसम्ममा २७ दशमलव २६ प्रतिशत मात्र बजेट खर्च गरेको छ । यस मन्त्रालयका लागि चालु आर्थिक वर्षमा ३० करोड १८ लाख ९३ हजार बजेट विनियोजन भएको थियो । जसमध्ये हालसम्मका कानून मन्त्रालयले कुल आठ करोड २२ लाख ९८ हजार आठ सय ७१ रुपैयाँ बजेट मात्र खर्च गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा समेत ३० दशमलव २३ प्रतिशत मात्र बजेट खर्च भएको छ । यस मन्त्रालयका लागि ११ अर्व १० करोड ८४ लाख ८३ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा मन्त्रालयले हालसम्ममा कुल तीन अर्व ३५ करोड ८५ लाख ४१ हजार पाँच सय ८५ रुपैयाँ बजेट खर्च गरेको छ । यता उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा २०७९÷०८० मा दुई अर्व १७ करोड ११ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । यस मन्त्रालयले हालसम्ममा कुल ३८ दशमलव ५९ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले हालसम्ममा कुल ८३ करोड ७८ लाख ४० हजार चार सय ६३ रुपैयाँ बजेट खर्च गरेको छ ।

कृषि मन्त्रालयले ११ महिनाको समयावधिमा ४० दशमलव २९ प्रतिशत बजेट खर्च गरेको छ । यस मन्त्रालयका लागि विनियोजित दुई अर्व ४१ करोड ४० लाख ९१ हजार नौं सय ६५ रुपैयाँ बजेटमा हालसम्ममा ९७ करोड २७ लाख ३१ हजार एक सय ८२ रुपैयाँ बजेट खर्च भएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका लागि तीन अर्व ८३ करोड ६४ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । जलस्रोत मन्त्रालयले हालसम्ममा एक अर्व ७८ करोड ८३ लाख २७ हजार चार सय ९४ रुपैयाँ बजेट खर्च गरेको छ । यो खर्च जलस्रोत मन्त्रालयका लागि छुट्टाइएको कुल बजेटको ४६ दशमलव ६१ प्रतिशत हो ।

सामाजिक विकास मन्त्रालयले भने बजेट खर्चमा विनियोजित बजेटको आधा रकम हाराहारिमा खर्च गरेको देखिन्छ । यस मन्त्रालयले हालसम्ममा कुल ४९ दशमलव ६० प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयका लागि ६ अर्व नौं करोड ७५ लाख ८० हजार दुई सय ५५ रुपैयाँ बजेट विनियोजन भएको थियो । सो मध्ये सामाजिक विकास मन्त्रालयले हालसम्ममा कुल तीन अर्व दुई करोड ४२ लाख चार हजार आठ सय ४८ रुपैयाँ बजेट खर्च गरेको छ ।

मन्त्रालयगत रुपमा हालसम्ममा धेरै बजेट खर्च गर्नेमा आर्थिक मन्त्रालय तथा याोजना मन्त्रालय रहेको छ । आर्थिक मामिला मन्त्रालयले ५४ दशमलव ६५ प्रतिशत बजेट खर्च गरेको छ । यस मन्त्रालयका लागि २१ करोड ५५ लाख नौं हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । सो मध्ये हालसम्ममा मन्त्रालयले ११ करोड ७७ लाख ७८ हजार पाँच सय २२ रुपैयाँ बजेट खर्च गरेको छ ।

तपाईको प्रतिक्रिया