वीरेन्द्रनगरको नेतृत्वकाे असक्षमता, ९४ बढी स्वास्थ्यकर्मीले सात महिनादेखि तलव पाएनन्

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुले तलव सुविधा नपाएको सात महिना पुग्दैछ ।
वि.सं. २०७९ मंसिर महिनादेखि वीरेन्द्रनगर भित्र स्वास्थ्य सेवाका कर्मचारीहरुले तलव-भत्ता सुविधा पाएका छैनन् । वीरेन्द्रनगर नगरपालिकाले स्वास्थ्य मन्त्रालयसँग समयमै समन्वय सहकार्य गर्न नसकेपछि स्वास्थ्य कर्मचारीले तलव पाउन सकेका छैनन् । यसले वीरेन्द्रनगर नगरपालिकाको नेतृत्वमा असक्षमता देखिन्छ ।

‘नगरपालिकाले यस अघि तलव खुवाएको थियो । तर अहिले तलव खुवाउन संघीय सरकारसँग माग गर्दा पनि तलव नआएको खबर पाएका छौँ’, आधारभुत स्वास्थ्य केन्द्र, घुस्राका प्रमुख केशव ढकाल बताउछन् । चालु आर्थिक वर्ष २०७९/०८०को अन्तिम समयमा आईपुग्दा समेत स्वास्थ्य सेवाका कर्मचारीहरुलाई तलव पाउँने-नपाउँने विषयमा समेत अन्यौलता छ । यस अवस्थामा स्वास्थ्यकर्मीहरुले नगरपालिकासँग तलव भुक्तानी व्यवस्था मिलाउँन समेत अनुरोध गरेका छन् ।

२०७८ मा वीरेन्द्रनगरमा धेरै संख्यामा स्वास्थ्यकर्मी समायोजन भई आएका थिए । स्वास्थ्य सेवाका कर्मचारी समायोजन मिलान निर्देशिका-२०७७ वमोजिम दरवन्दी रिक्त भएको स्थानमा समायोजन मार्फत कर्मचारी आएका थिए । यसका साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कामकाज खटिई दरवन्दी रहेको पालिकाहरुबाट रमाना लिई आएका कर्मचारीहरुले अहिले विगत सात महिना देखि तलव, भत्ता भुक्तानी पाएका छैनन् ।

पालिकाको अन्य क्षेत्रमा काम गरिरहेका कर्मचारीले समयमा नै तलव भुक्तानी सहित अतिरित्त सुविधा समेत लिईरहेका छन् । तर, स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका स्थायी कर्मचारीले नै तलब पाउन नसकेपछि अहिले कर्मचारीहरु आफ्ना नेतृत्वलाई गुनासो गरिरहेका छन् । यसअघि कर्मचारी समायोजन मिलान सम्बन्धी मापदण्ड २०७७ मा ३८ जना कर्मचारी स्वास्थ्य मन्त्रालयले वीरेन्द्रनगरका लागि स्वास्थ्यकर्मी पठाएको थियो ।

त्यसपछि फेरि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीहरूको समायोजन मिलान सम्बन्धी व्यवस्था, २०७७ मा ५६ जना कर्मचारीलाई पठाएको नगरपालिकाको तथ्यांक छ । यी स्वास्थ्यकर्मीहरु वीरेन्द्रनगर अन्र्तगतको नगर अस्पताल, स्वास्थ्य चौकीलगायतका स्थानमा कार्यरत छन् ।

तलव नपाएको यत्तिका धेरै समयसम्म पनि कर्मचारीहरु स्वास्थ्य सेवा प्रवाहमा जुटिरहेका छन् । यसअघि पालिकामा स्वास्थ्य मन्त्रालयबाट दुई करोड ६३ लाख बजेट ३८ जनाका लागि आएको थियो । तर उक्त बजेट पुनः आउने आशामा पालिकाले ९४ जना सबै कर्मचारीलाई असोजसम्मको तलव खुवाइएको थियो । सो समयपछि हालसम्म पनि पालिकामा बजेट नआएको जवाफ पाएको स्वास्थ्य सेवाका कर्मचारीहरु बताउछन् ।

स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रका काम गर्ने जनशक्तिलाई समेत तलवको व्यवस्थापन गर्न नसक्नुमा पालिकानै क्रियाशिल नभएको स्वाथ्यकर्मीहरुको आरोप छ । संवेदनशील सेवामा काम गर्ने, प्राथमिकता युक्त कार्यक्रम चलाई रहनु पर्ने, कोरोनाको महामारीमा रातदिन खटाउँदा पनि बिरामीको उपचारमा संलग्न भएका स्वास्थ्य कर्मचारीहरु स्थानीय सरकार र संघीय सरकारको चपेटामा स्थानीय कर्मचारी परेका छन् ।

‘नगरपालिकाले मन्त्रालयले तबल पठाए पछि खुवाउने भन्ने छ । मन्त्रालय र नगरपालिकाको आरोप प्रतिआरोपको विचमा हामी फसेका छौँ । अहिलेसम्म तलब पाउन सकिएको छैन’, एक कर्मचारीले भने, ‘तलब मात्रै नभई स्थानीय सरकारले दिने महंगी भत्तासमेत हामीले पाएका छैनौ । सबै कर्मचारीको आआफ्नै समस्या छन् ।

यहि तलवबाट हामीले पनि खाने-लगाउनेमा खर्च गर्नुपर्छ । छोराछोरी पढाउन खर्च लाग्छ । यसरी तलव नै नआएपछि कसरी सेवा गर्न सकिन्छ ?’
बेखवर वीरेन्द्रनगर

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी भने स्वास्थ्य सेवाका कर्मचारीले तलव नपाएको विषयमा जानकार भएपनि कहिले तलव खुवाउने विषयमा भने वेखवर रहेको बताउँछन् । उनले भने, ‘यो पुरानो समस्या हो । तर तलव पठाउने जिम्मेवारी स्वास्थ्य मन्त्रालयको हो । उहाँहरुले कहिले पठाउनुहुन्छ । हामीलाई जानकारी आएको छैन ।’

तपाईको प्रतिक्रिया