दिलिप ढकाल
सुर्खेत ।
सुर्खेतको भेरीगंगा नगरपालिकामा एक महिने हाउस पेन्टिङ्ग तथा अटो रिक्सा तथा मोटरसाईकल मर्मत तालिम सम्पन्न भएको छ । सोमबार भेरीगंगा नगरपालिका उद्योग विकास तथा शहरी शाखाको आयोजनामा गत बैशाख २९ गतेबाट सुरु भएको तालिमको नगरपालिकामा एक कार्यक्रमका बिच समापन गरिएको हो । उप-प्रमुख स्वरोजगार कार्यक्रम अन्तरगत उक्त तालिम संचालन भएको हो ।
हाउस पेन्टिङ्ग र अटो रिक्सा तथा मोटरसाईकल मर्मत तालिममा भेरीगंगाका १०/१० जना गरि जम्मा २० जनाले सहभागिता जनाएका थिए । तालिम सहभागीहरुलाई भेरीगंगा नगरपालिकाका उपप्रमुख धनसरा बोहोरा, ५ नम्बर वडाका वडाध्यक्ष प्रेम बहादुर सारु, उद्योग बिकाश तथा सहरी शाखा प्रमुख चित्रा डाँगी लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
तालिम समापन कार्यक्रममा बोल्दै उपप्रमुख धनसरा बोहोराले एक महिनासम्म सिकेको सीपलाई सदुपयोग गरि आत्मनिर्भर हुनुपर्नेमा सहभागीलाई आग्रह गरिन । कुनै पनि काम सानो वा ठुलो नहुने भन्दै आफूले सिकेको सीपालाई प्रयोग गरी थोरै लगानी भएपनि व्यवसाय सुरु गर्न बोहोराको आग्रह थियो ।
यस्तै कार्यक्रममा उद्योग बिकास तथा शहरी शाखा प्रमुख चित्रा डाँगी तथा ५ नम्बर वडाका वडाध्यक्ष प्रेम सारुले तालिममा सहभागीहरुलाई सीपको सदुपयोग गर्न आग्रह गर्दै आवश्यक परेको खण्डमा तालिम पुनः सञ्चालन गर्न सकिने बताए । कार्यक्रमको संचालन उद्योग विकास सहजकर्ता लालबहादुर कार्की र सुनिता जैसीले गरेका थिए । तालिमका सहभागीले आफुले सिकेको सीपलाई व्यवसायमा प्रयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
युग संवाददाता । । ३० जेष्ठ २०८०, मंगलवार १८:०२