जब स्वास्थ्य शिविरमा हुम्लाका पाँच वर्षीया बालककाे सफल अप्रेशन भयो

हुम्ला । हुम्ला वरगाउँ– ३ का उज्ज्वलको लिङ्गको टुप्पोमा कहिलेकाहीँ स–साना खटिरा देखिन्थे । कहिलेकाहीँ लिङ्ग सुन्निन्थ्यो तर आफैँ कम हुन्थ्यो । १ वर्षअघिदेखि लिङ्गमा समस्या देखिन थालेको थियो । १८/१९ दिनअगाडि फेरि उज्ज्वललाई खटिरा मात्र देखिएन, धेरै गाह्रो महसुस भयो । परिवारले सुरुमा कीराले टोकेको हुन सक्ने आशंका गर्दै वास्ता गरेनन् ।

तर झन् समस्या बढ्दै गयो, घाउ नै बन्यो । ‘छोरालाई पिसाब फेर्नसमेत गाह्रो हुन थाल्यो,’ आमा नन्दरूपाले भनिन् । अनि उनीहरूले छोरालाई हुम्ला जिल्ला अस्पताल सिमकाेट पुर्‍याए । चिकित्सकले भिडियो एक्सरे गरेर हेरे । उनको उपचार जिल्ला अस्पतालमा सम्भव नहुने भयो । चिकित्सकले नेपालगञ्ज, सुर्खेत वा काठमाडौं लैजान सुझाए । तर, उनीहरूसँग पैसा थिएन, कसरी बाहिर लैजाने ? डाक्टरले एउटा मल्हम दिए, त्यही बोकेर उनीहरू घर फर्किए ।

‘घाउ भएको ठाउँमा मल्हम लगाउँदा केही कम भएजस्तो भयो । तर, निको भएन,’ नन्दरूपाले भनिन् । जिल्ला अस्पतालका चिकित्सकले केही दिनपछि स्वास्थ्य शिविर हुने भएकाले शिविरमा देखाउन सल्लाह दिएका थिए । उनी छोराको उपचारका लागि २५ जेठसम्म शिविर कुरेर बसिरहिन् ।

संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हकको उपधारा ३ मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भनिएको छ । तर, पाँच वर्षीय बालक स्वास्थ्य सेवाको पहुँचमा अझै जोडिन सकेनन् । रोगसँग लडिरहेका उनले समयमा उपचार पाउन सकेनन्, शिविर कुरेर बस्न विवश भए उनी ।

प्रारम्भ सामाजिक संस्था र सिंगापुर रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगमा सिमकोट, खार्पुनाथ, नाम्खा गाउँपालिका र स्वास्थ्य सेवा कार्यालय हुम्लाले तीनदिने स्वास्थ्य शिविरको आयोजना गरे । त्यही शिविरमा तीन घण्टा हिँडेर नन्दरूपा छोराको उपचारका लागि २६ गते जिल्ला अस्पताल हुम्ला आइपुगिन् ।

एक वर्षदेखि रोगसँग लडिरहेका उज्ज्वलको रोगको पहिचान शिविरमा भयो । उनलाई ‘ब्यालेनाइटिस’ (लिङ्गको टुप्पोमा संक्रमण) भएको रहेछ । डा. सिलवालले शल्यक्रिया गर्नुपर्ने बताउँदै शनिबार अस्पताल आउन आग्रह गरे ।

यसरी शिविरमा रोगको पहिचान भएपछि २७ जेठमा उनको शल्यक्रिया भयो । ‘घाउ आफैँ भया हो कि केई चोटपटक लागिकिन भया हो ?,’ नन्दरूपाले डा. सिलवाललाई सोधिन् । जन्मिएपछि बच्चाको पिसाब फेर्ने ठाउँको छालालाई पछाडि नलगेका कारण संक्रमण भएको डा. सिलवालले जवाफ दिए । ‘बच्चा एक वर्ष भएपछि पिसाब फेर्ने ठाउँको छालालाई पछाडि गर्नुपर्छ । तेल लगाउने बेला सफा गर्दिनुपर्छ,’ डा. सिलवालले भने ।

डा. सिलवालको टोलीले उज्ज्वलको अप्रेसन गरेर फोहोर निकाल्यो । ‘सबै फोहोर सफा गरेर छाला काटेर जोडिदिएको छ’, डा. सिलवालले नन्दरूपालाई भने, ‘बेलुका वा भोलि बिहान ‘गज’ निकालेर मलम लगाउनुपर्छ है ।’

स्वास्थ्य शिविरमा नै छोराको नि:शुल्क उपचार भएपछि नन्दरूपा र हीराबहादुर खुसी छन् । तर, यो घटनाले जिल्ला अस्पतालमा दक्ष जनशक्ति, स्रोत र साधनको अभाव भएको देखाउँछ । यदि स्वास्थ्य शिविर नभएको भए उनीहरूले ऋण काढेर छोराको उपचार गर्न बाहिर जान बाध्य हुने थिए ।

संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक हक मानेको छ । संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हकको उपधारा १ मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने’ भनिएको छ ।

तर, हुम्लाका नागरिक स्वास्थ्य सेवाको पहुँचमा अझै जोडिन सकेको छैन । पूरै एक दिन हिँडेर स्वास्थ्य कार्यालयको ढोकामा पुग्छन् तर शल्यक्रिया गर्नुपरेमा बाहिर जान विवश छन् । ‘हामी अरुको ढुंगा फुटाएर खाने मान्छे हजुर, उपचारका लागि तल जान सक्ने थिएनौँ । छाक टार्नै गाह्रो छ । अब त छोराको रोग बिसेक होला नि है,’ हीराबहादुर आशावादी सुनिन्छन् ।

तपाईको प्रतिक्रिया