अनाथालयमै हराउँछन् कर्णालीका बालबालिका

सुर्खेत । ‘यो सबै हामीले तेरा लागि गरेका हौँ । अहिले हामी बुढो भईसक्यौँ । अव तईंले नै हामीलाई हेर्नुपर्छ’, अभिभावकले जिम्मेवारी र कर्तव्यको बोझ विसाउन खोज्दा उनलाई भने अझै स्विकार्य छैन । उनी हुन् हुम्लाका एक युवक, जो बालापनको उमेर देखि नै काठमाडौं स्थित एक अनाथ आश्रममै हुर्किए । धेरै वर्ष पारिवारिक सम्वन्धबाट टाढा भएका उनी केहि वर्ष पहिले मात्र पारिवारिक पुर्नमिलनमा आएका युवा हुन् ।

‘घर परिवारले आफुलाई हेर्ने नै तै होस् भनेपछि मलाई पनि आश्चर्य लाग्यो । मेरो कुरा सुन्ने पनि कोहि भएन’, उनले भने,
‘उद्धार भएपछि मलाई परिवारसँगै पुर्नमिलन हुनै गाह्रो भयो । म मानसिक रुपमा समेत तयारी भएको थिए ।’ हुम्ला स्थायी ठेगाना भएका उनलाई त्यहाँको रितिरिवाज, चालचलन फरक लाग्यो । भाषा समेत भिन्दे थियो । अनाथालयमा हुर्किएपछि पारिवारिक पुर्नमिलनमा सकस भएका उनी मात्र होइनन् । हाल स्नातक अध्ययन गरिरहेकी काभ्रे स्थायी ठेगाना भएकी अर्की युवतिको समेत उस्तै व्यथा छ ।

घरमा चार जना छोरी थिए । छोराको आशमा बुवा-आमाले धेरै छोरीलाई जन्म दिए । आर्थिक अवस्था कमजोर थियो । त्यसैले अनाथको परिचय दिएर उनीपनि काठमाडौं स्थित एक आश्रम पुगिन् । उनले भनिन्, ‘म सानै थिए । हामी तीन दिदिवहिनीलाई अनाथालयमा राखिएको थियो । जेठी दिदि र वहिनीलाई एक पर्यटकले धर्मछोरी बनाएर विदेश लगे । म भने अनाथालयमै हुर्किएकी हुँ ।’

‘कतिसम्म भने धेरै समय एउटै अनाथालय वसेका हामी तीन दिदिवहिनीलाई आफ्नो नाता पनि थाह भएन । यो थाह पाउन समेत धेरै समय लाग्यो । आश्रममा हाम्रो नाम र थर भिन्दै थियो ।’ पारिवारिक पुर्नमिलन कार्यक्रम पछि उनी आफ्नो अभिभावकसँग भेट गरिन् । पुर्नमिलन कार्यक्रमको ६ महिनापछि आमाको मृत्यु भयो । त्यसको केहि समयपछि बुवाको पनि मृत्यु भयो । सो पछि केहि समय आफन्तको बसेकी उनी अहिले काठमाडौंमा कोठा भाडामा लिएर बस्छिन् । ‘म अहिले डिप्रेसनको औषधि खाईरहेकी छु । जीवनमा मैले बेला बुवाआमासँग समय विताउँन पाइन । यस्तो कसैलाई नहोस्’, उनले चिन्ता व्यक्त गरिन् ।

विहिवार वीरेन्द्रनगरमा हिमाली नविन समाजद्वारा आयोजित छलफल तथा अन्र्तक्रिया कार्यक्रममा आफ्न भोगाई बताउदै उनीहरुले कर्णालीका बालबालिकामा अझै अनाथालय लगायतका बालगृह पुग्ने जोखिम रहेको जनाए । यसको मुख्य कारण नै गरिवीका नाउँमा अभिभावक तथा आफन्तले नै निर्दोष रुपमै आफ्ना बालबालिकालाई अनाथालय पठाइरहेको उनीहरुको भनाई थियो ।

तथ्यांकमा समेत कर्णालीबाट वर्षेनी सयौंको संख्यामा बालबालिका हराउने गरेको देखिन्छ । विगत तीन आर्थिक वर्षमा कर्णाली नौं सय ८९ जना बालबालिका हराएको तथ्यांक छ । यि मध्य ९७ जना बालबालिका हालसम्म पनि फेला नपरेको राष्ट्रिय बाल अधिकार परिषद्का कणर्ाली प्रदेश समन्वय अधिकृत डम्मरबहादुर रोकाय बताउँछन् ।

२०७७/०७८ मा हराएका कणर्ालीका २१ बालबालिका अझै भेटिएका छैनन् । यसैगरी २०७८/०७९ मा ३४ र २०७९/०८० को हालसम्ममा ४२ जना बालबालिका नभेटिएको उनले बताए । २०७७/०७८ मा तीन सय नौं जना बालबालिका हराएका थिए भने दुई सय ८८ बालबालिकामात्र फेला परे । २०७८/०७९ मा चार सय ११ बालबालिका मध्य तीन सय ७७ बालबालिका फेला परेका थिए । त्यसैगरी २०७९/०८० को हालसम्ममा दुई सय ६९ जना बालबालिका हराएकोमा दुई सय २७ जना मात्र फेला परेका छन् ।

कहाँ पुग्छन् ?

कर्णालीमा खासगरी उपल्लो हिमाली जिल्लाहरुबाट बालबालिकहरु विभिन्न प्रलोभनमा हराउँछन् । खासगरी गरिवीको वाध्यता बनाउँदै परिवारबाटै बालबालिकालाई टाढा बनाइने राष्ट्रिय बाल अधिकार परिषद्का समन्वय अधिकृत रोकायको धारणा छ ।

काठमाडौं लगायतका पर्यटकीय वहाव धेरै भएका स्थानहरुमा कर्णालीका बालबालिका गैरकानूनी तवरमा पुग्ने उनले बताए । उनले भने, ‘यहाँ गरिवी छ । संस्थामा राखेर पढाइदिने/लेखाईदिने प्रलोभनमा बुवाआमाले नै बालबालिकालाई टाढा पठाइरहेका छन् ।’ गैरकानूनी तथा मापदण्ड विपरित सञ्चालनमा रहेका बालबालिकहरु जोखिममा रहेको उनले बताए ।

हिंसामा पर्ने, पारिवारिक पुर्नमिलन हुने सम्भावना कम हुने, विदेशीले धर्मपुत्र/पूत्री बनाएर लैजाने समेतको खतरा हुने उनको भनाई छ । बुवा आमा हुँदाहुदै पनि विभिन्न प्रलोभनमा पार्दै कागजी अनाथ बनाएर अन्यन्त्रका अनाथालयमा लैजाने समस्या विद्यमान रहेको हिमाली नविन समाजका कार्यकारी निर्देशक धनबहादुर लामा बताउछन् ।

उद्दार तथा पुर्नस्थापनाका क्षेत्रमा सक्रिय रहेको यो संस्थाले हालसम्मका नेपालभरका करिव एक हजार एक सय जना भन्दा धेरैको संख्याका उद्दार गरिसकेको छ । नविन समाजले हालसम्म उद्दार गरेका बालबालिकाको संख्यामा ६० प्रतिशत बालबालिका कर्णाली प्रदेशका रहेको निर्देशक लामाले बताए । यस मध्ये हुम्ला, मुगु र सुर्खेत जिल्लामा धेरै बालबालिकाहरु उद्दार भएको उनले जानकारी दिए ।

स्वरुप पत्ता लगाएर मात्र वैकल्पिक स्याहार

पारिवारिक स्याहारबाट वञ्चित भएका मात्र बालबालिकालाई वैकल्पिक स्याहारको आवश्यकता पर्छ । गरिवीको वहाना र शिक्षा-दिक्षाको प्रलोभनमा बालबालिकालाई अनाथालय पुर्‍याइनु मानव बेचविखन अन्र्तगत पर्दछ । विविध कारणले बालबालिका आफ्नो पारिवारिक स्याहारबाट वञ्चित हुँदा उनीहरुलाई पारिवारिक वातावरणमै स्थापित गराइनुपर्ने राष्ट्रिय बाल अधिकार परिषद्का समन्वय अधिकृत रोकायको धारणा छ ।

‘पारिवारिक वातावरणमा पालनपोषण, शिक्षादिक्षा लगायतको आवश्यक व्यवथा गर्नु नै वैकल्पिक स्याहार हो । यसमा पनि यसका स्वरुपहरु पत्ता लगाएर मात्र स्याहार दिनुपर्ने हुन्छ ।’ जोखिममा रहेका बालबालिकालाई सर्वप्रथम उनकै आफन्तबाट नै हेरचाह गराउनुपर्ने उनले बताए । यसपछि मात्र हेरचाह गर्न ईच्छुक अन्य परिवार, परिवारमा आधारित संस्था र अन्तिममा मात्र बालगृह मार्फत बालबालिकाको स्याहार हुनुपर्ने उनले बताए । कर्णालीमा यस विषयमा यहाँका स्थानयि तह र प्रदेश सरकार समेत गम्भिर हुनुपर्ने उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया