सुर्खेत । राउटे समुदायका ज्येष्ठ सदस्य कर्णबहादुर शाहीको निधन भएको छ । लोपोन्मुख फिरन्ते राउटे समुदायका कर्णबहादुर शाहीको मंगलबार बेलुका निधन भएको प्रहरीले जानकारी दिएको छ । कर्णबहादुर पछिल्लो समय भैरवी गाउँपालिका-८ दारेघाटमा बस्दै आएका थिए । भैरवी गाउँपालिकाले उपलब्ध गराएको परिचयपत्रमा कर्णबहादुर शाहीको जन्ममिति १९८९ वैशाख १२ गते उल्लेख रहेको छ । जसअनुसार कर्णबहादुरको उमेर ९१ वर्ष पुगेको थियो । राउटे परियोजनामा आबद्ध शिक्षक लालबहादुर खत्रीका अनुसार राउटे समुदायको संस्कारअनुसार बुधबार बिहानै कर्णबहादुरको अन्त्येष्टि गरिएको छ ।
राउटे समुदायका सदस्यको निधन भएपछि बाँदर मार्न प्रयोग गर्ने जालमा राखेर खाल्डोमा गाड्ने संस्कार रहेको छ। शवलाई गाड्दा बस्तीका हरेक घरबाट धान, चामल, नयाँ कपडाको टुक्रालगायतका सामग्री चढाउने चलन छ। कर्णबहादुरका १ छोरा रहेका छन् ।
अब राउटे समुदायको संख्या १४१ भएको छ । सल्यान, सुर्खेत, दैलेख आदि जिल्लाका वन जंगलमा घाँसका स्याउलाले वरिपरि बेरेर बनाएको झुपडीमा राउटे समुदाय बस्ने गरेका छन् । उनीहरू एक ठाउँबाट अर्को ठाउँ सरिरहन्छन् ।
यो समुदायले गाउँमा काठका सामानसित खाद्यान्न साट्छन् । अचेल केही परिवर्तन आएकाले प्लास्टिकको भित्ता वा छानो बनाएर बस्छन् । पातलो एकसरो लुगा मात्र लगाउने र आगोवरिपरि सुत्ने गर्छन् । राउटे जन्मिनासाथ सरकारले प्रतिव्यक्ति मासिक भत्तासमेत दिने गरेको छ ।
युग संवाददाता । । २५ जेष्ठ २०८०, बिहीबार १८:३१