जाजरकोट र जुम्लामा सचेतनामुलक कार्यक्रम

सुर्खेत । कर्णाली प्रदेश प्रहरीले जाजरकोट र जुम्लामा सचेतनामुलक तथा सरसफाई कार्यक्रम गरेको छ । गणतन्त्र दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय सुर्खेतले जाजरकोट र जुम्ला जिल्लाका विभिन्न स्थानहरुमा लागु औषध, बाल विवाह, बहु विवाह, आत्महत्या, आगलागि नियन्त्रण र सरसफाई सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको हो ।

जाजरकोटको जुनीचाँदे गाउँपालिका १ स्थित नारायणचौर माध्यामिक विद्यालयमा लागुऔषध नियन्त्रण, वडा नम्बर ३ स्थित डाँडाकोटमा आगलागि नियन्त्रण, शिवालय गाउँपालिका वडा नम्बर ५ स्थित थालारैकरमा बालयौन दुव्र्यवहार, शिवालय गाउँपालिका ७ स्थित वीरेन्द्र माध्यमिक विद्यालय जुङ्गाथापाचौरमा बाल विवाह तथा बहु विवाह नियन्त्रण र कुशे गाउँपालिका ५ स्थित दमदलामा आत्महत्या न्युनिकरण, सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिएको हो ।

साथै आइतवार जिल्ला प्रशासन कार्यालय जुम्ला र जिल्ला प्रहरी कार्यालय जुम्लाको सयुंक्त आयोजनामा चन्दननाथ नगरपालिका स्थित खलङ्गा बजारमा सरसफाई कार्यक्रम समेत गरिएको छ । बढ्दो जनसंख्यासंगै बजार क्षेत्रमा जथाभावि रुपमा फालिएको फोहोरले स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुनाले बजार क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरले जानकारी दिए । कार्यक्रममा जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया