सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा हालसम्म मिटरव्याज सम्बन्धी पीडितबाट एकसय वटा भन्दा बढी उजुरी दर्ता भएका छन् । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले गत बैशाख १४ गते देखि देशैभरबाट मिटरब्याज लेनदेनका पीडितहरुलाई निवेदन दिन आह्वान गरेको थियो । सोही अनुसार सुर्खेतमा प्रशासनले मिटरव्याज पीडितलाई उजुरी दर्ता गराउन अनुरोध गरेको हो । निवेदनका लागि जेष्ठ १४ गते (आइतवार) सम्मलाई अन्तिम मिति तोकिएको थियो ।

जिल्ला प्रशासन कार्यालय, सुर्खेतको मिटरव्याज उजुरी दर्ताफाँट कि नायव सुब्बा गोमा पौडेलले हालसम्म एकसय बढी उजुरी प्राप्त भएको जानकारी दिइन् । उनका अनुसार दर्ता भएका उजुरी मध्ये सबैभन्दा बढी जग्गा अटोपास सम्बन्धी रहेका छन् ।
‘अहिलेसम्म करिव एकसय बढी उजुरी दर्ता भएका छन्’ उनले भनिन् ‘हामीले हालसम्म लिएका उजुरीमा सबैभन्दा बढी जग्गा अटोपासका छन्, त्यसपछि मिटरव्याजका र चेक बाउन्सका छन् ।’ आइतबार अन्तिम मिति भएको भए पनि आगामी प्रक्रियाहरु आयोगले गर्ने निणर्यमा भर पर्ने पौडेलको भनाई छ । उजुरी दर्ताका लागि जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडितहरुलाई सहायताका लागि छुट्टै सहायता कक्षको समेत व्यवस्था गरेको थियो ।

मिटरब्याज भन्नाले ब्याजलाई साँवामा गाभेर पुनः साँवा भएका लेनदेनका साथै कानून विपरित चर्को ब्याजमा भएका कारोवारलाई समेत अनुचित लेनदेन भनिएको छ । ऋणीले धरौटीमा रकम नलेखेर दिएको बैंकको खाली चेक, बढी रकम उल्लेख गरेको वा परिवर्तन गरेको तमसुक, जग्गा दृष्टिबन्धकमा राखिएको, लेनदेनको मुद्दा परेको लगायतका विषय समेतको अवस्थामा विवरण पेश गर्न अनुरोध गरेको थियो । संघीय सरकारले अध्यादेशमार्फत मिटरब्याजीलाई कारबाही गर्ने गरी मुलुकी अपराध संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरिसकेको छ ।

सो अध्यादेशले मुलुकी अपराध संहितामा संशोधन गर्दै मिटरब्याजलाई अनुचित लेनदेनका रूपमा कानूनी रूपमा परिभाषित गर्दै त्यस्तो कार्य दण्डनीय हुने प्रावधान गरेको छ । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा मुलुकी अपराध संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी भएको हो । सरकारले यसअघि १९ चैतमा आन्दोलनमा उत्रिएका मिटरब्याज पीडितहरुसँगको सम्झौताका क्रममा फास्ट ट्रयाकबाट कानून ल्याएर मिटरब्याजीलाई कारबाहीको प्रक्रिया अघि बढाउने भनेको थियो ।

तपाईको प्रतिक्रिया