राजा र पञ्चहरुलाई पनि सम्पत्ति शुद्धिकरणको दायरामा ल्याइनुपर्छ : राप्रपा अध्यक्ष लिङ्देन

सुर्खेत । राजदरवार हत्याकाण्डको छानविनमा कुनै आपत्ति नहुने भन्दै छुट्टै नागरिक वा न्यायिक आयोग बनाएर सत्यतथ्य छानविन हुनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित पार्टीको प्रदेशस्तरिय भेलालाई सम्बोधन गर्न सुर्खेत पुगेका लिङ्देनले २०४६ यताका उच्च पदस्थ नेता, कर्मचारी मात्रै नभएर राजा र पञ्चहरुलाई पनि सम्पत्ति सुद्धिकरणको दायरामा ल्याउनु पर्ने बताए ।


‘२०४६ पछिका सबै उच्च पदस्थ नेता, कर्मचारीहरुको सम्पत्ति छानविन हुनुपर्छ । उनीहरुको मात्रै होइन उनीहरुका नातेदार, परिवारका सदस्यहरुको सम्पत्ति छानविन गरेर अवैध सम्पत्ति जफत गरेर कारवाहीको दायरामा ल्याउनु पर्छ ।’ उनले भने, ‘त्यो छानविनको क्रममा यदि राजा या पञ्चहरुबाट गर्नुपर्दछ भने गरे हुन्छ । राजनीतिक दलका नेताहरुबाट सुरु गर्ने हो भने म र मेरो दलबाट सुरु गरे हुन्छ भनेर मैले भनेको छु ।’ राजदरवार हत्याकाण्ड बारे पत्रकारहरुले राखेको पश्नमा उनले भने ‘राजदरवार हत्याकाण्डका विषयमा छुट्टै नागरिक आयोग बन्छ कि, सरकारको तर्फबाट कुनै न्यायिक आयोग बनाएर हुन्छ सत्यतथ्य छानविन हुनुपर्छ यसमा हाम्रो पार्टीको कुनै आपत्ति छैन ।’

देशको समसामियक वस्तुस्थिती र भावी कार्ययोजनाको बारेमा कार्यकर्तालाई जानकारी गराउन तथा संगठनलाई आगामी दिनहरुमा कसरी बलियो बनाएर लैजाने भन्ने विषयमा आवश्यक रणनीति तय गर्न आफू सुर्खेत आएको अध्यक्ष लिङ्देनको भनाई छ । भुटानी सरणार्थी प्रकरणमा पार्टीले संसद र सार्वजनिकरुपमा स्पष्ट धारणा राख्दै आएको उल्लेख गर्दै नेपालको इज्जतसँग जोडिएको विषय भएकाले अन्तराष्ट्र्रियस्तरमा देशको प्रतिष्ठा गुमाउने काम भएको उल्लेख गरे ।

‘यो विषय नेपालको इज्जतसँग जोडिएको विषय हो । यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा गिराउने, नेपालको बदनाम गराउनेसम्मको काम भएको छ ।’ अध्यक्ष लिङ्देनले भने, ‘यो एउटा अंगको भ्रष्टाचार होइन राज्यविरुद्धको संगठित अपराध हो भनेर निरन्तर आवाज उठाइ रहेका छौं । निष्पक्षरुपमा छानविन हुनुपर्छ र दोषिलाई कारवाही हुनुपर्छ ।’

अध्यक्ष लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, राप्रपा प्रवत्ता एव्म सांसद ज्ञानेन्द्र शाहीले भेलालाई सम्बोधन गर्ने जनाइएको छ । शनिवार पूर्वराजा ज्ञानेन्द्रको सम्बोधनपछि राप्रपाका उच्चपदस्थ नेताहरुको सुर्खेत भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

तपाईको प्रतिक्रिया