आत्महत्या रिपोटिङ सम्बन्धी पत्रकारलाई अभिमुखीकरण

सुर्खेत । पछिल्लो समय जनस्वास्थ्यको ठुलो समस्याको रुपमा बढ्दै गएको आत्महत्यालाई रोक्न सूचनाहरु सम्प्रेषणमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ । बिहिवार वीरेन्द्रनगरमा आयोजित आत्महत्या रिपोटिङ सम्बन्धी पत्रकार अभिमुखीकरण कार्यक्रमका सहभागीले पत्रकारहरुले आत्महत्याको रिपोटिङ गर्दा विशेष ध्यान पुर्‍याउनु पर्नेमा जोड दिइएको हो ।

अभिमुखीकरणको सहजीकरण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ शिक्षा प्रशासक डाक्टर भक्तबहादुर केसीले आत्महत्या सम्बन्धी रिपोटिङमा पत्रकारलाई जिम्मेवार बन्न आग्रह गरे ।
आत्महत्या सम्बन्धी जिम्मेवार रिपोटिङ गर्दा सहयोग पाउन सकिने ठाउँ बारे सही सूचना दिने, यसको रोकथामका बारेमा गलत धारणा नबनाई जनचेतना जगाउने, जीवनका तनावहरु वा आत्महत्याका सोचाईसँग कसरी सामना गर्ने र सहयोग कसरी लिन सकिन्छ भन्नेतर्फ ध्यानु दिनु पर्ने डाक्टर केसीको भनाई थियो ।

यस्तै शोकाकुल परिवार तथा साथीसँग अन्तर्वार्ता लिदा सावधानी अपनाउनु पर्ने, पत्रकार आफैलाई पनि असर पर्न सक्नेतर्फ सचेत रहने, आत्महत्या सम्बन्धी समाचारलाई केन्द्रविन्दु नबनाउने, सनसनीपूणर् वा सामान्यीकरण गर्ने भाषाको प्रयोग नगर्ने तथा त्यसलाई एकमात्र सही सामाधानको रुपमा चित्रण नगर्ने, आत्महत्याको साधन र तरिका तथा स्थानको व्याख्या नगर्ने, सनसनीपूणर् शिर्षक नराख्ने र फोटो, भिडियो वा डिजिटल लिंकको प्रयोगमा विशेष ध्यान दिन डाक्टर केसीको सुझाव थियो ।

अभिमुखीकरणमा बोल्दै डाक्टर केसीले सरकार आम नागरिकको जनस्वास्थ्य प्रवद्र्धनका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै सन् २०३० सम्म आत्महत्यालाई एक तिहाईमा झार्ने सरकारको लक्ष्यमा सञ्चार क्षेत्रको भूमिका महत्वपूणर् हुने बताए ।

तपाईको प्रतिक्रिया