सम्पादकीय

खाजामा स्थानीय उत्पादन उत्तम विकल्प

सामुदायिक विद्यालयमा यसअघि पनि विद्यार्थीहरुका लागि दिवा खाजा उपलब्ध हुन्थ्यो । केहि दशक पहिले कर्णाली स्थित सामुदायिक विद्यालयमा विश्व खाद्य कार्यक्रमले विद्यार्थीलाई खाजामा सूजी (हलुवा) उपलब्ध गराएको थियो । अहिले पनि विश्व खाद्यले कर्णालीका १५ वटा पालिकामा रहेका विद्यालयमा खाजा उपलब्ध गराईरहेको छ । विद्यालयमा विद्यार्थीको नियमितता दर बढाउन खाजा कार्यक्रम यस अघि नै महत्वपूणर् सावित भईसकेको छ । यसले विद्यालय जान तर्फ विद्यार्थीहरुमा उत्सुकता समेत बढाएको छ ।

हालको समयमा कर्णालीमा पुनः दिवा खाजामा स्थानीय उत्पादनलाई प्रयोग बढाउनुपर्ने छलफल अघि बढिरहेको छ  । विद्यालयलाई खाजाका लागि सहयोग गरिरहेका गैरसरकारी संस्था तथा कणर्ाली प्रदेश सरकारले समेत यस विषयमा चासो दिन थालेको देखिन्छ । कर्णालीलाई सम्वृद्ध बनाउँन उत्पादनमा विशेष जोड दिनुपर्ने समय आएको वेला दिवा खाजामा स्थानीय उत्पादनको प्रयोग निकै सकारात्मक छ । यसले एकातिर यहाँका स्थानीय उत्पादनलाई बजारीकरण गर्न तर्फ सहयोग गर्छ । अर्कातिर बालबालिकामा विद्यमान कुपोषणको अवस्था न्युनिकरण गर्न समेत महत्वपूणर् भूमिका निर्वाह गर्छ । सुर्खेतको मात्र तथ्यांक हेर्ने हो भने, यहाँ कुपोषित बालबालिकाको संख्या बढ्न थालेको देखिन्छ । विगत तीन आर्थिक वर्षको तथ्यांकलाई हेर्दा जिल्लामा करिव ९१ प्रतिशत बढी दरले कुपोषित बालबालिकाको संख्यामा वृद्धि भएको देखिन्छ । २०७८/०७९ आर्थिक वर्षको अन्त्यसम्ममा सुर्खेत जिल्लामा दुई वर्ष उमेर समुह मुनिका बालबालिकाको संख्या १४ हजार एक सय ८२ जना रहेको थियो । आर्थिक वर्ष २०७६/०७७ मा सुर्खेतमा कुपोषित बालबालिकाको संख्या दुई सय ४६ जना रहेको थियो भने २०७७/०७८ मा दुई सय ४८ जना बालबालिका कुपोषित थिए । यसैगरी २०७८/०७९ मा भने यो संख्यामा वृद्धि भई चार सय ७५ जना पुगेको छ । जिल्लाको पालिकागत रुपमा हेर्दा कुपोषित बालबालिकाहरुको संख्या सबैभन्दा धेरै भेरीगंगा नगरपालिकामा छ । २०७६/०७७ मा भेरीगंगा नगरपालिकामा कुपोषित बालबालिकाको संख्या २७ जना थियो भने अहिले यो संख्या बढेर २०७८/०७९ को अन्त्यमा एक सय २१ जना पुगेको छ । सिम्ता गाउँपालिकामा ४३ जना, चिङ्गाड गाउँपालिकामा ३९ जना, लेकवेशी नगरपालिकामा ५४ जना, गुर्भाकोट नगरपालिकामा १९ जना, वीरेन्द्रनगर नगरपालिकामा एक सय तीन जना, बराहताल गाउँपालिकामा २३ जना, पञ्चपुरी नगरपालिकामा ३२ जना र चौकुने नगरपालिकामा ४१ जना बालबालिका कुपोषित रहेको जनस्वास्थ्य कार्यालयको तथ्यांक छ ।

बालबालिकालाई विद्यालयमा दही, दुध, अण्डा तथा तरकारीहरु लगायतका स्थानीय उत्पादन खाजामा प्रयोग गर्दा उनीहरुले विद्यालयमा सन्तुलित आहार पाउने सम्भावना बढेर जान्छ । विविध कारणवश आफ्ना घरमा सन्तुलित आहार नपाएका बालबालिकालाई विद्यालयमा पाइने आहार उत्तम विकल्प हुनेछ । यसले बालबालिकामा कुपोषणको संक्रमण घटाउन निकै मदत गर्नेछ । यसैगरी स्थानीय उत्पादनको प्रयोगले गाउँघरमा तरकारी वाली, अन्न तथा पशुपंक्षी पालनमा समेत वृद्धि हुनेछ । यसले कर्णालीको अर्थतन्त्रलाई समेत निकै सघाउँ पुर्‍याउनेछ । हाल दुई खर्व २१ अर्व रुपैयाँ बढी रहेको कर्णालीको अर्थतन्त्रलाई यहाँ कृषि उत्पादनमा वृद्धि र उत्पादनलाई स्थानीय स्तरमै उपयोगले सघाउँ पुर्‍याउने देखिन्छ । त्यसैले विद्यालयहरुको दिवा खाजामा स्थानीय उत्पादनको प्रयोगमा ध्यान दिनुपर्छ ।

तपाईको प्रतिक्रिया