तीन सय ९१ जना फिस्टुला बिरामीको निःशुल्क उपचार

सुर्खेत । कर्णालीमा तीन सय ९१ जना फिस्टुलाका बिरामीहरुको निःशुल्क उपचार गरिएको छ । सोमबार वीरेन्द्रनगरमा अन्तराष्ट्रिय प्रसव फिस्टुला दिवसका अवसर फिस्टुला उपचार केन्द्रद्वारा आयोजित कार्यक्रममा कर्णालीमा हालसम्म तीन सय ९१ जना फिस्टुला पीडित महिलाहरुको निःशुल्क उपचार गरिएको जनाइएको छ । यस्तै चालु आर्थिक वर्षमा १७ जना बिरामीले नि:शुल्क उपचार गराएका छन्।

साईनिङ्ग अस्पताल आई एनएफ नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा फिस्टुला उपचार केन्द्रबाट निःशुल्क बार्षिक शिविर मार्फत दुई सय ६६ र नियमित सेवामार्फत एक सय २५ जना बिरामीको सफल उपचार गरिएको स्त्री रोग विशेषज्ञ तथा फिस्टुला सर्जन डाक्टर सुवेच्छा श्रेष्ठले जानकारी दिइन ।

प्रसव फिस्टुला लामो र कठिन सुत्केरी व्यथाका कारण पिसाव थैली वा पिसाव नली, आन्द्रामा प्वाल पर्नु प्रसव फिस्टुला रहेको उल्लेख गर्दै डाक्टर श्रेष्ठले सरकारले सन् २०३० सम्म यसको अन्त्यका लागि लिएको राष्ट्रिय नीति अनुसार फिस्टुला केन्द्रसँग मिलेर काम गरिरहेको बताईन ।

प्रसव फिस्टुला भएपछि महिलाहरु पिसाव नियन्त्रण गर्न सक्दैन र लगातार पिसाव वा दिशा योनीबाट बग्ने जस्ता समस्या देखा पर्ने उनको भनाई थियो ।

सन् २००९ मा तत्कालिन मध्यपश्चिम क्षेत्रिय अस्पताल र आई एनएफ नेपालको सहकार्यमा फिस्टुला उपचार सुरु भएको थियो ।
यस्तै आई एनएफको आर्थिक तथा प्राविधिक सहयोगमा प्रदेश अस्पताल परिसरमा झण्डै सात करोड लागतमा फिस्टुला उपचार केन्द्र भवन निर्माण भएको छ ।

उक्त उपचार केन्द्रबाट प्रसव फिस्टुला भएका बिरामीहरुको निःशुल्क उपचार हुनुको साथै विरामी र एक जना कुरुवाका लागि उपचार अवधिभरको यातायात, बाटो तथा खाना खर्च वापतको रकम व्यवस्थासमेत गरिएको छ ।

तपाईको प्रतिक्रिया