मानसिक स्वास्थ्यलाई आगामी बजेटको मुलप्रवाहीकरणमा ल्याइनु पर्नेमा जोड

सुर्खेत । पछिल्लो समय बढ्दै गएको मानसिक स्वास्थ्यलाई आगामी प्रदेशको नीति, कार्यक्रम तथा बजेटमा प्रवाहीकरण गरिनुपर्नेमा जोड दिइएको छ । आइतबार वीरेन्द्रनगरमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) नेपालले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति बजेट तथा कार्यक्रममा मानसिक स्वास्थ्यलाई बजेटमा मुलप्रवाहिकरण विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सरकारले यस विषयमा गम्भिर हुन आग्रह गरेका हुन् ।

तीनै तहका सरकारले मानसिक स्वास्थ्य समस्याको सवाल जटिल बन्दै गएको भएपनि सरकारले यस विषयमा ठोस योजना ल्याउन नसकेको सहभागीहरुको भनाई थियो । कार्यक्रममा मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख लोकनाथ वास्तोलाले मानसिक स्वास्थ्यको समस्याप्रति सरकार नै बढि जिम्मेवार हुनुपर्ने बताए । औषधी आपूर्ती केन्द्रका निर्देशक डा. शक्ति सुवेदीले सरकारी संयन्त्रहरुबीच समन्वयमा कमी हुँदा मानसिक स्वास्थ्य समस्या झेलिरहेका व्यक्तिहरुको लागि चाहिने औषधी व्यवस्थापनमा समस्या भईरहेको बताए ।

यस्तै सिएमसी नेपालका कर्णाली प्रदेश संयोजक हिमाल गैरेले मानसिक स्वास्थ्य समस्या जस्ता सामाजिक सवालहरु सरकारको प्राथमिकतामा पर्न नसकेको बताए । कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना २०७९/२०८७ पारित गरेकोे र यसको कार्यान्वयनका लागि आवश्यक पर्ने बजेट व्यवस्थापनका विषयमा सरोकारवालाहरुसँग छलफल गरिएको संयोजक गैरेको भनाई छ ।

सहभागी प्रदेश सरकार मातहतका निकायहरूले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रममा मानसिक स्वास्थ्य समस्याको सवाललाई समेट्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

तपाईको प्रतिक्रिया