पाठ्यपुस्तकमा राजनीति बन्द गर

भौगोलिक स्वरुपले कर्णाली आफैमा पहुँच वाहिर छ । अन्य प्रदेशको तुलनामा यहाँ सरकारका गतिविधि ढिला नै आईपुग्छन् । प्रजातन्त्र स्थापना भएको सूचना होस् या विकास निर्माणका अन्य विषय, कर्णालीको हिमाली जिल्ला पुग्न केहि समय त पक्कै लाग्छ । कर्णालीमा अहिले चर्चामा रहेको विषय हो, हुम्ला जिल्लाको चंखेली गाउँपालिकाका विद्यालयमा अझै पाठ्यपुस्तक नपुग्नु । कर्णालीलाई यहाँका नागरिकको अधिकार प्राप्तीका विषयले सधै झस्काईरहन्छ । प्रजातन्त्र आएको विषयमा छापिएको पत्रिका चार वर्षपछि डोल्पा पुगेँको घटना होस् या अहिले पाठ्यपुस्तक समयमा नै पुगेर पनि विद्यार्थीले नपाएको घटना, कर्णाली सधै अधिकार प्राप्तीमा पछाडी नै परिरह्यो । यस अघिका वर्षमा कर्णालीका हिमाली जिल्लाहरुमा शैक्षिक सत्रको मध्यान्नको समयमा समेत पाठ्यपुस्तक पुगेका थिएनन् । सो समय जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड समेत निकै आलोचित बन्न पुग्यो ।  वीरेन्द्रनगर नगरपालिका स्थित संस्थाको प्रादेशिक कार्यालयका कर्मचारीमा दुव्र्यवहार समेत भयो । तर सो पछि भने हालको शैक्षिक वर्षमा जनक शिक्षाले कर्णालीलाई मुख्य प्राथमिकतामा राख्यो । शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तकहरु हिमाली जिल्लामा पुगे । यो खुशीको विषय थियो । तर हुम्लाको चंखेलीमा भने पाठ्यपुस्तकमाथी नै राजनीति भयो । पालिका स्थित एक हजार नौं सय ८० विद्यार्थीहरुले अहिलेसम्म पनि पाठ्यपुस्तक पाएका छैनन् ।

कहिले भौगोलिक दृष्टिकोणले त अहिले यहाँको स्थानीय राजनीतिका कारण चंखेली आफैमा बदनाम भईरहेको छ । शिक्षाको अधिकार पाएको स्थानीय पालिकाले नै गैरजिम्मेवारीपन प्रस्तुत गर्दा चंखेली गाउँपालिकाले आफ्नो साख गुमाएको छ । पालिकामा यसअघि पनि उनै वितरक मार्फत पुस्तकहरु पुग्ने गर्थे । त्यो बेला केहि भएन, तर अहिले उनै वितरकको पुस्तक पालिकाले नै खरिद नगर्न भनेपछि पालिकाका अध्यक्ष प्यारीलाल शाही गैरजिम्मेवार देखिएका छन् । पालिकाका विद्यालयलाई पाठ्यपुस्तक खरिद गरेको भेटेमा कारवाही गर्ने जस्ता उनका अलिखित धम्कीले त्यहाँको शैक्षिक गतिविधिलाई समेत चुनौती थपिदिएको छ । शैक्षिक पूर्वाधार, जनशक्ति लगायतका क्षेत्रमा अभावको महशुस गरेका विद्यालयलाई पालिकाले थप संरक्षण गर्न तर्फ ध्यान बढाउनुको साटो राहत र अनुदान लगायतका विषयमा कटौती गर्ने धम्की दिएपछि विद्यालयहरु समेत वाध्यतामा छन् ।

जनक शिक्षाले नै छापेका पुस्तक यस अघिका वितरकले ल्याउँदा अन्यथा भएको थिएन । ति वितरकले आफै छापेर ल्याएको झै व्यवहार देखाउँदै पालिका नै जनक शिक्षा पुगेंपछि अहिले जनक शिक्षा समेत यस विषयमा आलोचित बन्न पुगेको छ । वर्षौदेखि आफैसँग जोडिएर कारोवार सञ्चालन गरिरहेको वितरकलाई समेत बेवास्ता गर्दै जनक शिक्षाले पालिकालाई पुस्तक बिक्रि गर्नुपनि नैतिकता विपरितको कार्य हो । यसैगरी पालिका अध्यक्ष शाहीले उस्तै पाठ्यपुस्तक आफै खरिद गरेर ल्याउँन खोज्नुमा समेत भ्रष्टाचारका गन्ध देखिएका छन् । वितरकले यसअघि आफुसँग समन्वय नै नगरेको भनाई राख्दै आएको पालिकाको गतिविधिले उनलाई पन्छाएर आफु अनुकुलका अर्को व्यवसायीलाई संरक्षण गर्न खोजेको देखिन्छ । यस खालका गतिविधिले पाठ्यपुस्तकमा भएको राजनीतिलाई छर्लङ्ग पारेको छ । यसका साथै शिक्षा क्षेत्रमा भईरहेको अनुचित कार्यको हद मापन समेत भएको छ । यस्ता खालका विषयमा चंखेली गाउँपालिका मात्र होइन कणर्ाली अन्य स्थानीय तहहरु समेत सजक हुनुपर्छ । देशको भविष्य बोकेका युवाहरुको शैक्षिक गतिविधिमा यस्ताखाले नैतिकताविहिन कार्यहरुमा रोक लगाइनुपर्छ ।

तपाईको प्रतिक्रिया