सुर्खेत । ‘सोलो ट्राभलर’ सिर्जना सिज्जु ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’का लागि छानिएकी छन् । युवा तथा खेलकुद मन्त्रालयले उनलाई पर्यटन प्रवर्द्धनमा योगदान गरेकोमा पुरस्कृत गरेकाे हाे ।
रुकुम पश्चिमको सानोभेरी गाउँपालिका-११, अर्माकी उनको वास्तविक नाम सिर्जना वली हो । चार वर्षयता कर्णाली घुमेर २५ वर्षीया सिर्जनाले त्यहाँको भूगोल, जनजीवन, ल्याण्डस्केप विभिन्न माध्यमबाट देखाउँदै आएकी छन् । उनको भ्रमण र तस्वीरमा एउटा सन्देश हुने गर्छ- कर्णाली गरिब मात्र छैन, प्रकृति र संस्कृतिले समुन्नत अनि सुन्दर पनि छ ।
मन्त्रालयले प्रदान गर्ने सम्मानका लागि सिर्जनासहित १० जना छनोट भएका छन् । कृषितर्फ हिराबहादुर घर्ती र चन्द्रबहादुर बस्नेत, वातावरण संरक्षणतर्फ हिरुलाल डंगौरा, युवा सशक्तीकरण र नेतृत्व विकासका लागि भावना भट्ट र दिवाकर अर्याल छानिएका छन् । यसैगरी, पर्यटन प्रबर्द्धनका लागि वि विल राइज फाउण्डेसन, समाजसेवाका लागि शौरभ रिमाल, विज्ञान तथा प्रविधिका लागि दीपेन्द्र नेपाली र स्वास्थ्य सेवाका लागि डा. राम थापा क्षेत्री छनोट भएका छन् ।
उनीहरूले आर्थिक वर्ष २०७९/०ं८० का लागि राष्ट्रिय युवा प्रतिभा सम्मान पाएका हुन् । मन्त्रालयले गत वर्ष भदौ ८ गते सूचना प्रकाशित गरी विभिन्न क्षेत्रका लागि आवेदन मागेको थियो । राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यविधि, २०७२ अनुसार मूल्याङ्कन भई यी नामहरू छानिएको मन्त्रालयले जनाएको छ ।
युग संवाददाता । । २७ बैशाख २०८०, बुधबार ११:४५