सम्पादकीय

एमयूको सम्बन्धन स्थगित गरे के हुन्छ ?

विश्वविद्यालय उच्च सीप र ज्ञान उत्पादन गर्ने थलो हो । अध्ययन, अनुसन्धान, खोजी र चिन्तन गर्ने स्थल हो । आर्थिक, सामाजिक, वातावरण लगायतका क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि मध्यपश्चिम विश्वविद्यालय (एमयू) को वि.सं. २०६७ मा स्थापना भएको हो । तर, जुन उद्देश्यले विश्वविद्यालय खोलिएको हो, त्यसको ठीक विपरीत विश्वविद्यालय सञ्चालन हुन वाध्य देखिन्छ । अध्ययन, अनुसन्धानको काममा गुनासै गुनासा आईरहन्छन् । विश्वविद्यालयमा अध्ययन अनुसन्धान त परको कुरा हो, समयमा नियमित परीक्षा र रिजल्टसमेत सार्वजनिक हुदैन । विश्वविद्यालय अध्ययन, अनुसन्धान, खोजी र चिन्तन गर्ने भन्दा राजनीति गर्ने थलो बन्यो । यहाँ अध्ययन अनुसन्धानका लागि जाने हो, राजनीति गर्न होइन । तर, विद्यार्थी नै विश्वविद्यालयमा तालाबन्दी, हड्ताल लगायतका आन्दोलनमा उत्रिन्छन् । देशलाई ध्वस्त बनाउने हो भने अस्त्रको प्रयोग गर्नै पर्दैन । यहाँ मध्यपश्चिम विश्वविद्यालयमा भएको पनि त्यही हो । राजनीतिले गर्दा विश्वविद्यालयबाट ज्ञान उत्पादन हुन सकेको छैन ।

विश्वविद्यालयमा हाल सम्बन्धन दिने विषयले यहाँको शैक्षिक वातावरणमा असर पारेकै छ । विश्वविद्यालयको कदम विरुद्ध विद्यार्थीहरु अनसनमा छन् । विद्यार्थीसँग वार्ता गर्ने फेरी उक्त वार्ता समिति नै भंग गर्ने जस्ता वातावरणले विश्वविद्यालयमा अराजत गतिविधि मौलाउँन प्रश्रय पाएको छ । विश्वविद्यालयले जथाभावी सम्बन्धन दिँदाको परिणाम हेर्न टाँढा जानै पर्दैन । यसअघि त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालयहरूले शैक्षिक कार्यक्रम सञ्चालनका लागि क्याम्पसलाई जथाभावी सम्बन्धन दिएका थिए । यसअघि त्रिभुवन विश्वविद्यालयले ‘बीसीए कोर्स’ ल्याएको थियो । यसमा एक सय बढी क्याम्पसलाई सम्बन्धन समेत दियो । तर ती कलेजमा पढाउने दक्ष प्राध्यापक समेत भएनन् । आवश्यक भन्दा बढी सम्बन्धन दिएपछि कसरी उच्च शिक्षा गुणस्तरीय हुन्छ ?

विश्वविद्यालयले रिसर्चलाई प्रवर्द्धन गर्नुपर्ने हो तर जथाभावी सम्बन्धन दिएर बसेको छ । विश्वविद्यालयबाट हुनुपर्ने अनुसन्धान निजी क्षेत्रबाट हुनु विडम्बना हो । विश्वविद्यालयले उत्पादन गरेकोे जनशक्ति सन्तोषजनक नभएको गुनासो आईरहन्छ । विद्यार्थीलाई इन्टर्नसीप, अनुसन्धानका अवसर दिइनुपर्छ तर यहाँ त्यस्ता अनुसन्धानका काम त्यति धेरै नै हुँदैनन् । विश्वविद्यालयका प्राज्ञ पनि कुनै न कुनै पार्टीको झण्डामुनि बसेका छन् । त्यस्ता व्यक्ति विश्वविद्यालयमा पुगेपछि विश्वविद्यालय कस्तो बन्छ ? राजनीति विकासका लागि हुनुपर्ने हो तर विश्वविद्यालयमा विकासका लागि भन्दा पनि विनाशका लागि राजनीति भइरहेको छ । विश्वविद्यालयलाई ‘स्मार्ट म्यानेजमेण्ट’ गर्न सकिएन । विश्वविद्यालयको परीक्षा र नतिजा समयमा निकाल्नुपर्ने हो तर लामो समय विश्वविद्यालयले न त परीक्षा समयमा लिन्छ, न नतिजा नै समयमा सार्वजनिक गर्छ । यसको असर प्रत्यक्ष रुपमा विद्यार्थीलाई नै पर्छ । त्यसैले शैक्षिक क्यालेण्डरअनुसार समयमा परीक्षा लिएर रिजल्ट सार्वजनिक गर्नुपर्छ । पछिल्लो समय यी विषयमा विश्वविद्यालयले सुधार गरेको देखिए पनि सन्तोषजनक भने छैन । कणर्ालीको भूभागमा शैक्षिक गतिविधिमा सबैको समान पहुँच निर्माण गर्न स्थापना भएको विश्वविद्यालयले जथाभावी सम्बन्धन बाढ्न ध्यान दिनुको सट्टा हालको शैक्षिक अवस्था सदृद्धिकरण गर्न तर्फ ध्यान लगाउँदा अझ राम्रो हो । यस गतिविधिले मात्र कणर्ालीलाई शैक्षिक हव बनाउँन मद्दत गर्छ । सम्बन्धन मात्र बाँढेर विश्वविद्यालयमा पैसा भित्र्याउनतर्फ मात्र ध्यान दिँदा कर्णाली शैक्षिक गतिविधिमा टेवा
पुग्दैन । त्यसैले तत्कालका लागि सम्बन्धन स्थगित गरे कसो होला ?

तपाईको प्रतिक्रिया