आज १३४ औं अन्तर्राष्ट्रिय मजदुर दिवस

ज्यालामै हेपिन्छन् महिला श्रमिक

सुर्खेत । मजदुर हकहितका लागि सोमबार (आज) नेपालमा पनि १३४ औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउन लागिएको छ । यसै सन्दर्भमा हामीले वीरेन्द्रनगरमा निर्माण मजदुरका रुपमा काम गरिरहेका केही महिला मजदुरको पीडा बुझ्ने प्रयास गरेका छौं । उनीहरुलाई न मजदुर दिवसबारे थाहा छ, न आफ्नो हकअधिकार र महत्वका बारे नै । असमानता, विभेद र हिंसालाई नियति मानेर श्रम गर्न बाध्य छन्, वीरेन्द्रनगरका महिला मजदुर ।

जाजरकोटकी सरिता राना विगत केही वर्षयता वीरेन्द्रनगरमा निर्माण मजदुरको रुपमा काम गर्दै आएकी छिन । कपडा पसल गर्दै आएकी सरिताका श्रीमान्ले दोस्रो विवाह गरेर सम्पर्कविहिन भएपछि छोराछोरी पाल्नकै लागि मजदुरी उनका लागि बाध्यता बन्यो । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरमा निर्माणाधिन पर्खालमा मजदुर काम गर्दै आएकी रानाले परिवार पाल्नकै लागि न्यून मूल्यमा श्रम बेच्न बाध्य हुनुपरेको गुनासो गर्छिन ।

न्यून ज्याला बढ्दो महङ्गीको मारमा परेकी राना महिला कामदारहरुले पुरुष कामदार सरह समान कामका लागि समान ज्याला पाउन नसकेको गुनासो गर्छिन । विहान ८ बजेदेखि साँझ ५ बजेसम्म काम गर्ने उनले दैनिक ६ सय रुपैयाँ पाउँछिन् । तर, पुरुष मजदुरले त्योभन्दा बढी रकम पाउँछन् । जसका कारण रानाको चित्त दुखेको छ । दिनभर काम गरे पनि उनले ज्यालाबाहेक केही पाउँदिनन् । ज्यालावापतको पैसा कोठा भाडा तिर्दैमा र खाँदैमा सकिन्छ । बिरामी पर्दा उपचार गर्ने पैसासमेत हुँदैन । छोराछोरी पढाउन ऋण लिनुपर्ने बाध्यता उनमा छ । कम उमेरका छोराछोरी त्यसमा पनि श्रीमान्ले दोस्रो विवाह गरेपछि एक्लै परेकी सरिताको बिरामी पर्दा चुलो पनि बल्दैन ।

‘यहाँ सुर्खेतमा मात्र हो कम दिने उता बाहिर काठमाडौं तिर महिलालाई पनि एक हजारसम्म ज्याला दिन्छन् । यता किन त्यस्तो भएको हो हामीलाई त के थाहा हुन्छ र ? अब काम एउटै हुन्छ तर ज्याला भने पुरुषसरह हुँदैन ।’ राना भन्छिन, ‘हामीले गर्न सक्ने काम दिनभर डटेर गरेकै हुन्छौं । तर पनि भने जति ज्याला पाउँदैनौं । यो ज्यालाले दैनिकी चलाउन मुस्किल छ । दिनदिनै महङ्गी बढ्दो छ । सरसापट रिनदान गरेर भए पनि जीवन त चलाउनै पर्‍यो ।’

रानाले बालुवा चाल्ने, मसला बनाउँने, इट्टा बोक्ने लगायतका काम गर्छिन् । कमजोर आर्थिक स्थितिका कारण मजदुरीका लागि जाजरकोटबाट सुर्खेत आएकी उनलाई मजदुर दिवसबारे केही थाहा छैन । यस्तै वीरेन्द्रनगरकी धनलक्ष्मी धितालले तीन वर्षदेखि राना जस्तै दैनिक ६ सयका दरले मजदुरी गर्दै आएकी छन् । तर, उनलाई पनि मजदुर दिवसका बारेमा केही थाहा छैन । उनले मजदुर दिवसको नाम त सुनेकी छन् । तर, यसको महत्व र अर्थ भने थाहा छैन ।
धितालले पनि रानाकै जस्तो समान काममा पुरुषहरुलाई दैनिक ८ सय रुपियाँ ज्याला दिने र महिलालाई ६ सय रुपियाँ मात्रै ज्याला दिने गरेको गुनासो गरिन । ‘दिनभरी पुरूष कै सरह एउटै किसिमको काम गर्छौँ । तर, ज्याला दिदा हामीमाथी विभेद गरिन्छ ।’ धितालले भनिन् । राना र धिताल समान कामको समान ज्याला नपाएर विभेदमा परेका महिला श्रमिकहरुका उदाहरण मात्र हुन् । नेपालको संविधान २०७२ को धारा २० को १ मा महिला भएकै कारण कुनै पनि किसिमको भेदभाव नगरिने व्यवस्था गरिएको भएपनि सुर्खेतका महिला कामदारहरुले पुरुष कामदार सरह समान कामका लागि समान ज्याला पाउन सकेका छैनन ।

वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र विकास निर्माणमा संलग्न महिला कामदारको एकिन तथ्यांक छैन । पुरुष कामदारलाई आठ सयदेखि एक हजार पाँच सयसम्म दैनिक ज्याला दिने गरिएको छ । तर, समान काममा खटिने महिला कामदारले भने ६ सय रुपैयाँ पाउने गरेका छन् । प्रदेश राजधानी भएपनि वीरेन्द्रनगरमा अझैसम्म पनि ठुला कलकारखानाहरु खुल्न सकेका छैनन् । जसले संगठित कामदार भन्दा छरिएर रहेका कामदारको संख्या धेरै रहेको र उनीहरु कुनै न कुनै बहानामा ज्यालाबाट ठगिने गरेको श्रम तथा रोजगार कार्यालय सुर्खेतका प्रमुख श्रीशम्सेर रानामगर बताउँछन् ।

सरकारले तोकेको न्यूनतम परिश्रमिकबाट निर्माण व्यवसायमा संलग्न मजदुरहरु ठगिएका उजुरीहरु आउने गरेको उनको भनाई छ । महिलाहरुको सन्दर्भमा संगठित क्षेत्र उद्योग, कलकारखानामा काम गर्नेका हकमा समान ज्याला पाएको तर, अन्य क्षेत्रमा ज्यालामा विभेद हुने गरेको प्रमुख रानामगरको भनाई छ । पुरूष जनशक्ती वैदेशिक रोजगारीमा भारतलगायत अन्य खाडी मुलुकमा जाने भएकाले वीरेन्द्रनगरमा घर तथा भवन निर्माण, सडक स्तरोन्नति, ढुङ्गा, गिट्टी र बालुवा बोक्ने काममा पुरूषको तुलनामा महिलाहरू बढी छन् ।

मजदुरलाई थाहा छैन मजदुर दिवस

१६ वर्षदेखि वीरेन्द्रनगरमा मिस्त्री काम गर्दै आएका विरगञ्जका समसाद आलम र सकु दिन, बर्दियाका लक्ष्मण थारुलाई मजदुर दिवसको कुनै मतलब छैन । उनीहरुलाई मजदुर दिवसभन्दा पनि आफ्नो काममा व्यस्त छन् । दुई वर्षदेखि अटो चलाउँदै आएका नगेन्द्रबहादुर खड्कालाई दिवसबारे थाहा छ । तर, दिवस नारामा मात्रै सीमित भएको उनको बुझाई छ ।

‘हामी जस्ता मध्यम वर्गका मानिसहरुलाई वीरेन्द्रनगरमा एक छाक जोहो गर्नपनि हम्मेहम्मे हुने गरेको छ ।’ नगेन्द्र थप्छन, ‘वर्षको एकदिन मजदुर दिवस भन्ने अरुदिन समस्या पर्दा मुख बटार्ने हाम्रा संगठनहरुले हाम्रा लागि काम गरेका छन् जस्तो त मलाई पटक्कै लाग्दैन । यस्ता दिवसबाट हामीलाई केही फाइदा छैन ।’

सरिता, धनालक्ष्मी, समसाद, सकु दिन, लक्ष्मण र नगेन्द्र जस्ता प्रतिनिधिमुलक आममजदुरको पीडा उस्तै छ । श्रमको सम्मान र ज्यालाका विषयमा ठूलाठूला कुरा गरिन्छ । तर, मजदुरको स्थितिमा परिवर्तन आउन भने सकेको छैन । मजदुरले नै अनुभूत गर्न नसकेसम्म मजदुर दिवसको सार्थकता नहुने बुझाई मात्र होइन आममजदुरका पीडामा राज्य गम्भिर हुनुपर्ने उनीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया