३० करोड लगानीमा स्याउका बगैँचा

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका वडा नं. ३ र ५ मा करिव ३० करोड लागतमा स्याउका तीन बगैँचा निर्माण गरिएको छ ।
श्री हिमाली टि एण्ड एन एग्रो फर्म, गुठिचौर एग्रो फर्म, र सामूहिक स्याउ उत्पादन समूह मार्फत झण्डै साढे ३० करोड लगानीमा बगैँचा निर्माण गरी व्यवसायिक स्याउ खेती गरिएको हो ।

गुठिचौर ३ का टंक गरीले दुई वर्षदेखि श्री हिमाली टि एण्ड एन एग्रो फर्मको नाममा २२ हेक्टर जमिनमा झण्डै साढे ७ करोड लगानी गरेर निर्माण गरेको बगैँचामा १४ हजार स्याउका बिरुवा रोपिएको छ । यस्तै गुठिचौर ५ केसी बहादुर भण्डारीले २२ करोड लगानीमा निर्माण गरेको नेपालकै दोस्रो ठुलो बगैँचबाट गत वर्ष ८० टन स्याउ उत्पादन लिन सफल भएका छन् ।

‘स्याउबाटै जुम्लाको समृद्धि सम्भव छ, भन्ने उद्देश्यले स्याउ खेती गरेको हुँ । २०७६ सालमा १५ सय बिरुवा रोपेर बगैँचा सुरु गर्‍यौ । विस्तार गर्दै जाँदा ४० हजार बिरुवा रोपेका छौ’, भण्डारीले भने, ‘यस वर्ष दुई सय टन उत्पादन हुने लक्ष्य छ । भने दुई वर्षभित्र ३ लाख बिरुवा रोप्ने योजना बनाएका छौ ।’

गुठिचौर ५ मै सामुदायिक स्याउ उत्पादन समूह मार्फत ६५ हजार वर्ग मिटर जमिनमा सामूहिक स्याउ खेती भइरहेको छ । १ करोड लगानीमा निर्माण भएको बगैँचामा हाल २८ सय बिरुवा रोपिएको सञ्चालक धर्म भण्डारीले बताए । उनका अनुसार समूहमा ४० जना किसान आबद्ध रहेका छन् । हाल फर्ममा फुजि, गाला, किंरड, फुजि, गोल्डेन लगायतका जातको स्याउ उत्पादन भइरहेको छ । बगैँचामा कृषि वैज्ञानिक समेत राखिएको छ । जसले नियमित अनुसन्धान गर्छन् ।

तपाईको प्रतिक्रिया