सुर्खेत । कर्णाली प्रदेश सभाको पहिलो अधिवेशनको एघारौ बैठक बस्न नसकी स्थगित भएको छ । सोमवार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बस्न नसेकेको उल्लेख गर्दै प्रदेशसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख नन्दा गुरुङ्गले अर्को बैठक बिहीवार दिउँसो ३ बजेका लागि बोलाएकी हुन् ।
मुख्यमन्त्री राजकुमार शर्मालाई सत्ता साझेदार नेकपा एमालेले दिएको समर्थन चैत २७ गते फिर्ता लिएपछि सरकारमा नेपाली कांग्रेसलाई सहभागी गराउनु पर्ने तर कांग्रेससँगले आन्तरिक तयारी पुरा गरी नसकेकाले सदन बस्न नसकेको जनाईएको छ । प्रदेशसभा बैठकपूर्व प्रदेशसभामा बसेको माओवादी र कांग्रेसको सर्वदलिय बैठकले सदन सार्ने प्रस्ताव गरेका थिए ।
दुई दल बिच भएको प्रारम्भिक सहमती अनुसार कांग्रेसले तीन मन्त्रालयसहित सरकारमा सहभागी हुनेछ भने सरकारको नेतृत्वमा आलोपालो गर्ने सहमती भएको बुझिएको छ । जस अनुसार पहिलो चरणमा वर्तमान मुख्यमन्त्री शर्माले सरकारको नेतृत्व गर्नेछन भने, साढे दुई वर्षपछि नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दोस्रो पटक सरकारको नेतृत्व गर्ने गरी सहमती भएको जनाईएको छ ।
यस्तै मन्त्रालयको संख्यालाई आठ नै कायम गर्ने सहमतीसमेत भएको जनाईको छ । यसअघि एमालेसँगको सत्ता समिकरणमा मन्त्रालयको संख्या ८ घटाएर ७ बनाइएको थियो । ७ गते बस्ने प्रदेशसभा बैठकमा मन्त्रीपरिषद्ले पूणर्ता पाएर मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिन सक्ने आँकलन गरिएको छ ।
युग संवाददाता । । ४ बैशाख २०८०, सोमबार १६:४९