घरमै खानेपानीकाे धारा पुगेपछि खुशियाली

सुर्खेत । वीरेन्द्रनगर-१० स्थित बेलघारी क्षेत्रमा धारा जडान शुरु भएपछि अहिले स्थानीयहरु निकै हर्षित भएका छन् ।खानेपानी समस्या झेलिरहेको यस क्षेत्रमा चैत्र १५ गतेदेखि धारा जडान शुरु गरिएको हो । करिब दुई साताको समयमा यस क्षेत्रका पदमपुर टोल र बेलघारी टोलमा करिव एक सय वटा धारा जडान भईसकेको छ।यी दुई टोलबाट धारा जडान शुरु गरिएको हो । स्थानीय जमिर बक्सले भने, ‘अहिले हामीले घरभित्रै धारा जोड्न पाएका छौँ । पहिले गाग्री बोकेर पानी ल्याउन धाउनुपथ्र्यो । धेरै समयपछि घर-घरमा धारा जोड्न पाउँदा खुशी नहुने कुरै छैन ।’

‘पहिले पानी पनि जोगाएर खर्च गर्नुपथ्र्यो । अहिले घरमै २४ सैं घण्टा पानी आउने भएपनि राम्रो भयो । केटाकेटीको सरसफाई पनि समयमा हुने नै भयो’, स्थानीयअलिसा बानुले भनिन् । वि.सं. २०७७ फाल्गुनदेखि निर्माण सुरु गरिएकोबेलघारी खानेपानी परियोजना एक करोड ६५ लाख रुपैयाँ लागतमासम्पन्न भएको हो ।एक लाख लिटर क्षमताको ओभरहेड ट्याङ्की सहितको यो परियोजना २०७९ को सुरुवाती समयमा नै निर्माण सम्पन्न भएपनि सञ्चालनमा आउन भने सकेको थिएन ।

परियोजनानिर्माण सम्पन्नपछि समयमा नै यस क्षेत्रमा रहेका मुस्लिम समुदाय र चौधरी समुदायलाई खानेपानीउपलब्ध भने भएको थिएन । स्वामित्व हस्तान्तरण पाएको वीरेन्द्रनगर नगरपालिकाले छिटोछरितो सेवा सञ्चालनको व्यवस्थानमिलाएको विषयमा गत माघ २२ गते यस युगआह्वान दैनिकमा ‘सञ्चालनमा आएन बेलघारी खानेपानी’शीर्षकमा समाचार समेत छापिएको थियो ।

नवज्योति केन्द्र सुर्खेतको समन्वयमा एइआइएन लक्जम्वर्ग नामक गैरसरकारी संस्थाको आर्थिक सहयोग अति विपन्न र खानेपानीको चरम अभाव रहेको क्षेत्र सहयोग गर्ने उद्देश्यबाट यो परियोजना निर्माण भएको हो । परियोजनाको प्रारम्भिक सर्वेक्षणले वीरेन्द्रनगर-१० बेलघारी क्षेत्रका पाँच सय ५३ घरधुरीका लागि खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

यस क्षेत्रका बेलघारी टोल, पदमपुर टोल, गणेशपुर टोल, पशुपतिनगर टोल र भवानपुर टोलमा परियोजनामार्फत खानेपानी पुर्‍याउने उद्देश्य छ । बेलघारी खानेपानीतथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष अकबर खानले भने, ‘अहिले हामीले धारा वितरण शुरुवात गरेका छौं । तर लक्ष्य अनुसार सबै घरधुरीमा पुग्न पनि समय लाग्ने देखिन्छ ।’समुदायभर चार सय मिटर लम्बाईमा पानीको प्रशारण पाइप फिजाइ सकिएको उनले जानकारी दिए ।

सस्तो शुल्क समुदायलाई महंगो

बेलघारी खानेपानी आयोजनाका उपभोक्ताहरु अधिकांश विपन्न समुदायका छन् । विपन्न समुदाय लक्षित गरेरै समितले उपभोक्ता मार्फतबाट प्रति सदस्य ६ हजार रुपैयाँ शुल्क लिने निणर्य गरेको छ । तर यस निणर्यले भने हाल लक्षित उपभोक्ताहरु धारा जडानमा सक्रिय हुन नसकेको अध्यक्ष खान बताउँछन् । ‘वीरेन्द्रनगरको अवस्था हेर्दा प्रति सदस्य ६ हजार रुपैयाँ शुल्क महंगो होइन । तर हाम्रा नागरिकलाई यो शुल्क भने महंगो नै परेको छ । त्यसैले पनि हालसम्म थोरै संख्यामा धाराहरु जडान भएको देखिन्छ’, उनले भने ।

वीरेन्द्रनगरमा हाल खानेपानी वितरण गरिरहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा धारा जडानका लागि बेलघारीको भन्दा महंगो शुल्क पर्छ । तर बेलघारी समुदायमा भने समितिले तोकेको ६ हजार रुपैयाँ पनि नागरिकले तिर्न नसक्ने अवस्था आएको छ । ‘अब सुर्खेत उपत्यका खानेपानीको हेर्ने हो भने १५-१६ हजार शुल्क लाग्छ होला । हाम्रोमा ६ हजार राख्दा पनि यहाँ नागरिकहरुले धारा जोड्न सक्नु भएको छैन’, उनले भने, ‘घर अगाडिनै धाराको पाइप आएको वेला पनि उहाँहरुले आर्थिक समस्या पछि जोडौला भन्दैहुनुहुन्छ ।’

आयोजनाको लागि अर्को समस्या पनि छ, लक्षित उपभोक्ताहरुको सबै टोलमा हालसम्म मुख्य प्रशारण पाइप पुगेको पनि छैन । यसका लागि समितिले थप लगानी गरेर प्रशारण पाइप पुर्‍याउनुपर्ने देखिन्छ । अध्यक्ष खानका अनुसार समितिले हालको समयमा संघ तथा प्रदेश सरकारलगायतसँग समन्वयको प्रयास समेत गरिरहेको छ । मुख्य प्रशारण लाइन पुर्‍याएपनि आयोजना सञ्चालनमा सहज हुने उनले बताए ।

तपाईको प्रतिक्रिया