सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसले सहभागी हुने संकेत देखाएपछि सत्ता समिकरण फेरिने संकेत देखा परेको छ । नेकपा एमालेको समर्थनमा गत पौष २७ गते नेकपा माओवादी केन्द्रका नेता राजकुमार शर्मा नेतृत्वमा बनेको सरकारबाट नेकपा एमालेलेलाई अलग गराएर सरकारमा सहभागी हुने विषयमा प्रारम्भि सहमती जुटेको जनाईएको छ ।
शुक्रवार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीसँग केन्द्रीय गठवन्धनको मर्मअनुसार प्रदेशमा सहभागिता परिवर्तनका विषयमा सहमति जुटेको खुलासा गरेका हुन् ।
‘संघको गठबन्धन फेरबदलसँगै कर्णालीमा नयाँ दिशा दिनुपर्ने आवश्यकता छ । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीसँग पनि मिटिङ गरेँ । प्रारम्भिक छलफलमा छिट्टै नयाँ स्वरूप दिने गरी सहमति भएको छ । यो अलमल छिट्टै अन्त्य गरेर सरकारलाई अगाडि बढाउँछौं ।’ शर्माले भने । सरकारमा सहभागिता परिवर्तन भएपनि सभामुख भने यथावत रहने शर्माको भनाई छ । काग्रेससँग कस्ताे सहमतीबाट अगाडि बढ्ने भन्ने विषयमा भने शर्माले केही खुलाएनन् ।
शर्माको यो भनाईले माआवादी र कांग्रेस बिच आन्तरिक रुपमा एमालेका मन्त्रीहरुलाई बर्खास्त गर्ने वा राजिनामा दिन लगाउन मुख्यमन्त्रीलाई दवाव सिर्जना गरेको बुझिन्छ । कांग्रेस सम्मिलित नयाँ मन्त्रिपरिषद् बनाउने तर नेतृत्व भने माओवादीले नै गर्ने विषयमा कांग्रेससँग कुनै विवाद नरहेको भन्दै केन्द्रीय गठवन्धनले प्रदेश सरकारका विषयमा छिट्टै निणर्य लिने शर्माले बताए । केन्द्रीय सत्ता समिकरण फेरबदल भएसँगै मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएको कांग्रेसले सम्मानजनक स्थान पाए सरकारमा सहभागी हुने यसअघि नै बताई सकेको छ ।
यता नेकपा एमालेले भने अहिलेसम्म सरकारबाट बाहिरिने वा बसिरहने भन्ने विषयमा कुनै आधिकारीक धारणा बनाएको छैन । सरकार सञ्चालनका विषयमा माओवादी र कांग्रेस बिच एक खालको सहमती जुटेको कुरा आईरहेको छ तपाईहरु सरकारबाट बाहिरिने वा बसिरहने सन्दर्भमा कसरी अगाडि बढ्नु हुन्छ ? भन्ने प्रश्नमा नेकपा एमालेका प्रदेश उपसचिवसमेत रहेका सामाजिक विकास मन्त्री टेकराज पछाईले भने, ‘बाहिर के आएको छ भन्ने विषयका बारेमा हामीलाई थाहा भएन, सरकारका विषयमा हिजो विश्वासको मत माग्दा मुख्यमन्त्रीज्यूले जुनखालको सहयोग माग्नु भएको थियो त्यही अनुरुप हामीले अगाडि बढ्न खोजेको हो ।
हिजो जुन खालको समझदारी भएको थियो सोही अनुसार हामी विश्वासको मत दिएर सरकारमा सहभागि भएका हौं । मुख्यमन्त्रीज्यूले छोड भन्नुहुन्छ भने हामी छोड्छौं त्यसमा दुई मत छैन ।’ तर यस विषयमा मुख्यमन्त्री शर्माले कुनै प्रतिक्रिया दिएका छैनन । दोस्रो पटक विश्वासको मत पाएपछि मुख्यमन्त्री शर्माले भावि सरकार सञ्चालनका विषयमा विश्वासको मत दिने दलहरु बिच सहकार्यमै अगाडि बढ्ने बताएका थिए । त्यसयता शर्माले एमाले वा कांग्रेससँग छलफल गरेका छैनन ।
त्यसो त संसदमा दोस्रो पटक विश्वासको मत लिदा एमालेलाई सरकारबाट अलग गरेर कांग्रेससँग सहकार्य गर्न माओवादी भित्रैबाट मुख्यमन्त्री शर्मालाई दवाव परेको बताइएको थियो । तर मुख्यमन्त्री शर्माले कर्णालीका लागि सबै दलले सझा धारणा बनाएर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको भन्दै एमालेको साथ मागेका थिए । माओवादी र कांग्रेस बिच भएको पछिल्लो संवादले मुख्यमन्त्री शर्मा चेपुवामा परेका छन् भने एमाले नैतिक संकटमा परेको विश्लेषण भइरहेको छ ।
गत पुष २७ गते नेकपा एमाले र माओवदी बिच आलोपालो सरकारको नेतृत्व गर्ने गरी तीनरतीन मन्त्रालयमा भागवण्डामा टुङ्गो लागेको थियो । जसमा एमालेबाट आर्थिक मामिला मन्त्रीमा विनोदकुमार शाह, सामाजिक विकास मन्त्रीमा टेकराज पछाई र वन तथा वातावरण मन्त्रालयमा जितबहादुर शाही मन्त्री बनेका थिए । गत माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका मुख्यमन्त्री शर्माले सत्ता साझेदार दल राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि फागुन १७ गते दोस्रो पटक विश्वासको मत लिएका थिए ।
युग संवाददाता । । २४ चैत्र २०७९, शुक्रबार ११:०८