मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिदै, कुन दलकाे पाउलान् समर्थन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज पुनः दोस्रो पटक विश्वासको मत लिन लागेका छन् । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । शर्माले गत माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका थिए ।

पुस १० गते एमालेसहितको गठबन्धन बन्दा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी केन्द्रका २५ सांसदको समर्थनमा शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रमा पुरानै गठबन्धन व्यूतिएपछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनु परेको हो । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । कणर्ाली प्रदेशसभामा कुनै पनि दलको बहुमत नभएका कारण दुई दल मिलेर सरकार बनाउनु पर्ने हुन्छ ।

४० सदस्यीय प्रदेशसभामा सरकार निर्माणका लागि २१ जना सांसद आवश्यक पर्दछ । एमालेको समर्थन रहदा शर्माको पक्षमा २४ जना सांसद छन् । केन्द्रमा राजनीतिक समिकरण फेरिएर एमाले प्रतिपक्षमा पुगेपनि कर्णालीमा भने एमालेले सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा हालसम्म पनि कुनै टुङ्गोमा पुग्न सकेको छैन ।

एमाले माओवादीको व्यवहारमा भर पर्ने बताउँदै आएको छ । केही दिन अघि एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेत आउँदा प्रदेश सरकारहरुका बारेमा पार्टी केन्द्रले कुनै हस्तक्षेप नगर्ने बताएका थिए । सोही बमोजिम माओवादी सत्ता साझेदारीमा तयार भए सहमति खोज्न सकिने एमाले प्रदेश तहका नेताहरुले बताउँदै आएका छन् । शर्मालाई विश्वासको मत दिने वा नदिने विषयमा नेपाली कांग्रेसको कार्यव्यवस्था बैठक पछि मात्र निणर्य लिने एमालेका एक नेताले बताए ।

यता नेपाली कांग्रेसले पनि यस विषयमा कुनै निणर्य लिई सकेको छैन । संसदीय दलका नेतासमेत रहेका निवर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीले हालसम्म विश्वासको मतका बारेमा कुनै निणर्यमा नपुगेको बताउँछन् । शाहीले पार्टी केन्द्रको निर्देशन पर्खिरहेको बताए ।

अहिले विहान ९ बजे कांग्रेसको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्दै छ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले पनि विश्वासको मतका लागि कुनै दलसँग छलफल अगाडि बढाएको छैन । एमाले र कांग्रेस दुवै दललाई मिलाएर सहमतिमै विश्वासको मत लिने वातावरण मिलाउने प्रयासमा माओवादी रहेको सरकारका प्रवक्तासमेत रहेका आन्तिरिक मामिला तथा कानून मन्त्री कृष्ण जिसी बताउँछन ।

कर्णालीमा कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, समाजवादी र स्वतन्त्रका १/१ जना सांसद छन् । प्रदेशसभा बैठक दिउँसो ३ बजे बस्दैछ ।

तपाईको प्रतिक्रिया