जनगणनामा छोरीको अनुपातमा छोरा धेरैः विज्ञ भन्छन्, लिङ्ग पहिचानपछिको गर्भपतन मुख्य कारण

काठमाडाै‌ । शुक्रबार सार्वजनिक गरिएको राष्ट्रिय जनगणनाको तथ्यांकमा नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ । जनगणनाअनुसार बालबालिका (जनगणना अवधिभर १२ महिनाभन्दा कम उमेरका) ४ लाख १२ हजार ९ सय ३५ जना बच्चा जन्मिएका थिए । जसमध्ये २ लाख १८ हजार ७४ जना छोरा र १ लाख ९४ हजार ८ सय ६१ छोरी जन्मिएका छन् । अर्थात् छोरा ५२.८ प्रतिशत र छोरी ४७.३ प्रतिशत जन्मिएको पाइएको छ ।

यसलाई विभिन्न कारणसँग जोड्न सकिने विज्ञहरूले बताएका छन् । नेपाली समाजमा छोराको महत्त्वाकांक्षा बढी हुनुको एउटा कारण हुन सक्ने बताउँछन्, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव कपिल तिमिल्सिना ।

उनी भन्छन्, ‘कल्चरले छोरालाई महत्त्व दिने गरेको छ । छोराछोरा भन्ने चलन छ । यस्तो बेलामा टेक्नोलोजी आयो । अनि लिङ्ग पहिचान गरेर थाहा पाउन थाले । नेपालमा थाहा भएन भने भारत जान थाले । र, भारतमा लिङ्ग थाहा पाएर नेपाल आएर गर्भपतन गर्न थाले ।’

उनका अनुसार तथ्याङ्क हेर्ने हो भने गर्भपतन गराउनेको संख्या बढेको देखिन्छ । गर्भपतन बढ्नुको एउटा तथ्य यो पनि हुन सक्ने उनले बताए । ‘बालिकाको जन्मदर कम हुने र अर्कोतिर गर्भपतनको रेसियो बढ्ने भयो भने त्यसलाई रिलेट गर्न सकिन्छ । तर, कसैले पनि छोरी भएका कारण मैले गर्भपतन गराएँ भनेर भन्दैनन्’, उनले भने, ‘पहिलापहिला छोरा र छोरी पत्ता लगाउने टेक्नोलोजी नै थिएन । एक्सेस कम थियो । टेक्नोलोजी कम थियो । जनचेतना कम थियो ।’

त्यस्तै, समाजले छोरालाई धेरै महत्त्व दिन भएका कारण छोरीको जन्मदर कम भएको बताउँछिन्, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी उपसचिव रोशनी देवी कार्की । उनी भन्छन्, ‘हाम्रो समाजमा छोराको महत्त्व धेरै छ । र, छोरीको कम छ । धर्मले छोराछोरी नभने पनि समाजिक संरचनाले त्यस्तो भन्दो रहेछ ।’

स्वास्थ्य मन्त्रालयले १२ वटा जिल्लामा छोरा–छोरी जन्मदरमा एउटा अध्ययन गरेको थियो । जसमा छोराको जन्मदर धेरै भएको पाइएको छ । उसो त छोरा र छोरीको जन्मदरमा ४९ मा ५१ रेसियोलाई सामान्य मान्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले नै भनेको छ, ‘एक सय छोरी जन्मिँदा १०५ छोराको जन्म हुन्छ ।’ तर, मन्त्रालयले गरेको अनुसन्धानमा १ सय जना छोरी जन्मिदा १२७ जनाभन्दा छोरा जन्मिएको पाइएको छ । महिलामा एक्स क्रोमोजोम हुन्छ, र पुरुषमा एक्स अनि वाई दुवै क्रोमोजोम हुन्छ । एक्स क्रोमोजोमभन्दा वाई क्रोमोजोम अलि बढी नै सक्रिय हुने गर्छ । जसले गर्दा छोरा धेरै जन्मिन सक्छन् ।

यो भन्नुको अर्थ छोरीभन्दा केही संख्यामा छोराको जन्म धेरै हुन्छ । र, यही कारणले छोरीको तुलनामा छोराको संख्या अलिकति धेरै हुन सक्छ । तर, जनगणनाको कुरा गर्दा छोरीको रेसियो कम देखिएको छ । जसलाई लिङ्ग पहिचान गरेर हुन सक्ने गर्भपतलाई जोड्न सकिने प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. जागेश्वर गौतमले बताए ।

उनले भने, ‘प्राकृतिक रूपमा कम हुनु सामान्य हो । तर, अहिलेको अवस्थामा सरकारले कडाइ गर्नुपर्‍यो । लिङ्ग पहिचान गैरकानुनी कुरा हो । र, यो अमानवीय कुरा पनि हो । छोरी जन्मिनै नपाउने भन्ने हुँदैन । लिङ्गको पहिचान डाक्टरले गर्ने हो । यस्तो अनियमितताका बारेमा अनुगमन गर्न अत्यन्तै आवश्यक देखिन्छ ।’

सरकारले सुरक्षित गर्भपतनलाई मान्यता दिएको छ । तर, यही कुराको गलत फाइदा उठाइएको उपसचिव कार्कीले बताउँछिन् । उनी भन्छिन्, ‘सुरक्षित गर्भपतन गर्न पाउनुपर्ने महिलाको अधिकार हो भनिएको छ, तर यही सुरक्षित गर्भपतनभित्र रहेर लिङ्ग पहिचान गरेर नजानिँदो तरिकाले गर्भपत गर्ने गरेको देखिएको छ ।’

पहिलो बच्चा जन्मँदा फरक नदेखिए पनि दोस्रो बच्चा जन्मिँदा लिङ्ग पहिचानको समस्या देखिएको कार्कीले बताइन् । उनले भनिन्, ‘पहिलो बच्चामा फरक पाएका छैनौँ । तर, दोस्रो बच्चाको केसमा यो लिङ्ग पहिचान गर्ने गरेको पाइएको छ । फेरि पहिलो बच्चा छोरा छ भने फरक नपर्न सक्छ । यदि पहिलो बच्चा छोरी छ भने उनीहरूलाई छोराको चाहना हुन्छ । र, उनीहरूले लिङ्ग पहिचान गर्ने नै देखिएको छ ।’

लिङ्ग पहिचान सरकारी अस्पतालहरूमा भन्दा पनि निजी क्लिनिकहरूमा धेरै हुने गरेको उनी बताउँछिन् । उनले भनिन्, ‘यो सरकारी अस्पतालमा भन्दा अन्य ठाउँहरूमा धेरै हुन सक्छ । हुन त सरकार तर्फबाट अनुगमनको पाटो हेर्ने हो भने एकदमै कमजोर देखिने गरेको छ ।’ तर, यसको अनुगमन हुन सकेको छैन । देश संघीयतामा गएसँगै स्वास्थ्य प्रणालीमा समस्या देखिएको छ । संघ, केन्द्र र स्थानीय तह गरी तीन तहका सरकार छन् । जसले गर्दा स्वास्थ्य संस्थाको अनुगमन कसले गर्ने ? अनुगमन नियमन गर्ने निकाय कुन हो भन्नेमा नै उनीहरू स्पष्ट छैनन् । संघीयतामा जानुभन्दा अगाडि सबै स्वास्थ्य संस्थाको अनुगमन स्वास्थ्य मन्त्रालयले हेर्दै आइरहेको थियो । अहिले तीन तहका सरकारले गर्नुपर्ने भएपछि समस्या देखिएको छ ।

प्रविधिको दुरुपयोग

गर्भावस्थामा हुने भ्रूण पहिचानमा प्रविधिको दुरुपयोग भइरहेको बताउँछन्, परिवार कल्यान महाशाखाका निर्देशक डा. विवेक लाल । उनी भन्छन्, ‘गर्भ अवस्था पत्ता लगाउन सक्ने प्रविधि दुरुपयोग भइरहेको छ । छोरीभन्दा छोरा चाहिने भएका कारण गैरकानुनी रूपमा लिङ्ग पहिचान गरिने गरेको छ ।’

अहिलेको जनगणनामा देखिएको रेसियोमा कुनै वैज्ञानिक कारण छैन । केही मात्रामा तलमाथि भए पनि ठूलो संख्यामा छोरीको रेसियो कम हुनुलाई लुकीछिपी भइरहेको गर्भपतनलाई लिन सकिन्छ । लाल भन्छन्, ‘केही मात्र तलमाथि हुनु फरक पर्दैन । तर, छोरा मात्रै जन्मिने भन्ने हुँदैन । उन्नत भएको प्रविधि छ । भारत र चीनमा जस्तो लिङ्ग पहिचान गरेर गर्भपतन गर्नेहरूको संख्या बढ्दो छ भन्ने अहिलेको जनगणनाले देखाएको छ ।’

तर, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ ले लिङ्गको पहिचान गरी गर्भपतन गर्न नहुने उल्लेख गरेको छ । नेपालमा ऐनविपरीत लिङ्गको पहिचान गरी गर्भपतन भइरहेको डा. लालले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी वरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत सुनालक्ष्मी कर्माचार्य भने लिङ्ग छनोटमा तीनवटा कारण मुख्य रूपमा देखिएको बताउँछिन् । उनी भन्छिन्, ‘एउटा बच्चा जन्मिनेबित्तिकै परिवार नियोजन गर्ने कुरा आउँछ । जसमा छोरा भए पनि हुन्छ र छोरी भए पनि हुन्छ । जसको कारण बच्चा धेरै नचाहनु नै हो । दोस्रोमा प्रजनन् दर कम भएको पाइएको छ । र, अर्को भनेको छोराकै लागि भनेर गर्भपतन गराउनु नै हो ।’

उनका अनुसार लिङ्ग पहिचान गरेर गर्भपतन पढेलेखेका व्यक्तिहरू र ग्रामीण क्षेत्रका व्यक्तिहरूमा यो समस्या उस्तै छ । कर्माचार्यले भनिन्, ‘तर, नपढेको भन्दा पढेका व्यक्तिहरूमा धेरै देखिएको छ । सेवा सुविधाको छनोट पनि शिक्षित वर्गहरूमा धेरै हुन्छ । फेरि खर्चको कुरा पनि आउन सक्छ । गरिबले पटकपटक खर्च गर्न नसक्ने अवस्था पनि हुन्छ होला ।’

गर्भपतन गर्न भारतबाट नेपाल

भारतमा लिङ्ग पहिचान गरेर गर्भपतन गर्न पाइँदैन । तर, खुल्ला सिमानाका कारण भारतबाट नेपाल आएर र नेपालबाट भारत गएर लुकीछिपी गर्भपतन गराइरहेको बताउँछिन्, कर्माचार्य । ‘यसलाई रोक्न सकिएन भने अझै विकराल रूप लिने अवस्था नआऊला भन्न सकिँदैन । सबैभन्दा धेरै सिमाना जोडिएका जिल्लाहरूलाई निगरानीमा राख्न आवश्यक देखिएको छ ।’

नेपालमा जस्तै भारतमा पनि छोरीको भन्दा छोराको महत्त्व धेरै राख्दै आएका छन् । र, कानुनविपरीत लिङ्ग पहिचान गरेर गर्भपतन गराउने गरेको उनले बताइन् ।

मन्त्रालयको १० वर्षे रणनीति

सरकारले सन् २०३२ सम्म विभेदपूर्ण लिङ्ग छनोट गर्ने तपाईं हाम्रो मनोवृत्तिको अन्त्य गर्ने योजनामा मन्त्रालय लागेको छ । उपसिचव कार्कीले भनिन्, ‘यसको मुख्य उद्देश्य लिङ्ग पहिचान गर्ने कसैको सोच नै नआओस् भन्ने हो । परिवारको क्षमताको विकास गर्ने र जनचेतनाको काम धेरै गर्नुपर्ने देखिन्छ । तीनै तहले के गर्ने ? कसको के जिम्मेवारी ? प्रत्येक वर्षमा के के गर्ने भनेर रणनीति बनाएका छौँ ।’

प्रदेश तहमा प्रदेशस्तरको सहजीकरण समिति र स्थानीय तहमा स्थानीयस्तरको सहजीकरण समिति भनेर कार्यान्वयन गराउने योजना बनाएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘सातवटै प्रदेशका स्वास्थ्य संस्थाहरूमार्फत स्थानीय तहमा समन्वय गरिदिन प्रत्राचार गरेका छौँ । भविष्यमा लैंगिक अन्तर नहोस् भन्ने नै हो । बालिका कम हुने भन्नेबित्तिकै सबै कुरामा ह्रास आउँछ । जसले गर्दा जन्मदरमा पनि कमी हुने भयो ।’

कार्कीका अनुसार प्रदेश तथा स्थानीय तहले आफूले गर्ने कार्यमा स्वास्थ्यका सम्पूर्ण कुराहरूलाई समावेश गरेर लैजान जरुरी छ । ‘यो प्रत्येक व्यक्ति, घर, समाजको कुरा हो’, उनले भनिन् ।

अन्तर्राष्ट्रियस्तरमा नेपालमा जस्तो लिङ्ग पहिचानपछि गर्भपतनको समस्या भितनाम, जर्जिया, बंगलादेशजस्ता देशहरूमा देखिएका थिए । भियतनाम र जर्जिया छोरीको संख्या नहुने अवस्थामा पुगिसकेका थिए ।

ती देशहरूले पनि नेपालले बनाएका जस्ता रणनीति अपनाएको कार्कीले बताइन् । उनले भनिन्, ‘जर्जियाले फादर्स क्लब भनेर सुरु गरेको छ । जसको केयरिङ र सेसिङमै बुबाको सहभागिता हुने गर्छ । अझ भनौँ न, सबै कुरा बुबाहरूले नै गर्छन् । त्यस्तै, अहिले नेपाल र बंगलादेशले पनि छोरी बचाउनका लागि नयाँ रणनीतिमा काम गरिरहेका छौँ ।’

यसको अर्थ छोराको जन्मदर घटाएर छोरीको बढाउनुपर्ने नभएको उनले बताइन् । कार्कीले भनिन्, ‘फेरि छोरी बचाउनुपर्छ भन्ने कुरामा यो होइन कि छोरालाई घटाएर वा विभेद गरेर अगाडि बढ्ने । मात्र के हो भने छोरा वा छोरीमा कुनै पनि खालको विभेद नगरौँ । लिङ्गको पहिचान नगरौँ । छोराको जत्तिकै छोरीलाई महत्त्व दियौँ भने उनीहरूले गर्न नसक्ने के नै छ र ?’ उनका अनुसार सबै छोरी आफ्नो मूल्यमा हुनुपर्छ ।

जन्मदर शून्य

अबको ५० वर्षमा नेपालमा बालबालिकाको जन्मदर शून्य हुने अनुमान गरिएको छ । जन्मदर घट्दै आएको छ । यो अवस्थामा जन्मदर शून्य हुने अवस्था नआऊला भन्न नसकिने कार्की बताउँछिन् ।

‘अहिले हामीले देखिरहेका छौँ । बिहे नै गर्न नचाहनेहरूको जमात बढ्दो छ । अर्को बिहे गरिहाले पनि बच्चा जन्माउन नचाहनेको संख्या पनि बढ्दो छ । परिर्वतन भइरहेको जीवनशैलीले प्रजनन् क्षमता कम हुँदै गइरहेको अवस्था छ,’ उनी भन्छिन्, ‘अर्कोतर्फ लिङ्ग पहिचान गरी गर्भपतन गर्नेको जमात उस्तै छ । जसले गर्दा चीनको जस्तो समस्या नेपालमा अनाऊला भन्न सकिँदैन ।’ (शिलापत्र‌)

तपाईको प्रतिक्रिया