वेराेजगारीकाे समस्या

कर्णालीबाट राेजगारीका लागि विदेशिए १७ हजार महिला ७७ हजार पुरुष

सुर्खेत । रोजगारी तथा विविध कारणवश कर्णाली प्रदेशका ६२ हजार सात सय २८ परिवारका सदस्य अन्य मुलुकमा बसोवास गर्दै आएका छन् । जसमध्ये ९४ हजार तीन सय २० जना नागरिक विदेशमा बसोवास गर्छन् । राष्ट्रिय तथ्यांकका आधारमा यो संख्या ज्यादै न्यून भने हो ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालभरबाट कुल २१ लाख ९० हजार पाँच सय ९२ जना विदेशमा रोजगारी तथा अन्य कारणले बसोवास गर्दै आएको देखिन्छ । नेपालभरको तुलनामा कर्णालीबाट विदेशीनेमा कुल चार दशमलव ३१ प्रतिशत मात्र छ ।यसअघि २०६८ को जनगणनाका अनुसार कणर्ाली प्रदेशबाट ६७ हजार पाँच सय ८२ जना विदेशमा बसोवास गर्दै आएका थिए । विगत १० वर्षको समयमा यो संख्या बढेर ९४ हजार पुगेको छ । १० वर्षको समयमा थप ३५ हजार पाँच सय ७९ जना कर्णालीबाट विभिन्न कारणले विदेशिएका छन् ।

कर्णालीबाट विदेशिएकामा पुरुषको संख्या ७७ हजार दुई सय ७८ जना छ भने महिलाको संख्या १७ हजार ४२ जना रहेको तथ्यांकले जनाएको छ । कणर्ालीमा कुल तीन लाख ६६ हजार दुई सय ५५ परिवार संख्या पुगेको छ ।

२०६८ को जनगणनामा कणर्ालीमा कुल दुई लाख ९८ हजार तीन सय ५९ परिवार संख्या बसोवास गर्दै आएका थियो । कणर्ालीका जनसंख्या अनुसार यहाँ प्रदेशमा परिवारका सदस्य औषत आकार ४ दशमलव ६१ जना हुन आउँछ । यसअघि २०६८ मा कणर्ालीका परिवारको औषत संख्या पाँच दशमलव २६ जना रहेको थियो । हालको जनगणना अनुसार कर्णाली प्रदेशको कुल जनसंख्या १६ लाख ८८ हजार चार सय १२ जना पुगेको छ ।

खानेपानीमा खोलाकै भर

कर्णालीमा अझैपनि चार हजार दुई सय ७६ जना परिवाार नदी अथवा खोलाकै पानीलाई खानेपानीको मुख्य स्रोतको रुपमा प्रयोग गर्दै आएको छ । प्रदेशमा बसोवास गर्ने अन्य परिवारको तुलनामा यो संख्या ज्यादै न्यून रहेतापनि हालसम्म पनि कणर्ालीका सबै परिवारमा सुरक्षित खानेपानीको प्रवन्ध हुन नसकेको देखिन्छ ।

कर्णालीमा कुल परिवार संख्याको ३५ प्रतिशत परिवार मात्र धारा पाइप वा घर परिसरभित्रको खानेपानीको स्रोत प्रयोग गरिरहेका छन् । घर बाहिर रहेका खानेपानी आयोजनालगायतबाट कर्णालीका ४४ प्रतिशत परिवारले खानेपानी प्रयोग गरिरहेको जनगणनाको तथ्यांकले देखाएको छ । यसैगरी पानीको मूलधाराको प्रयोग गरिरहेका परिवारको संख्या १३ प्रतिशत छ । कर्णालीका भान्सामा इन्धनका रुपमा ८२ प्रतिशत परिवारले दाउराको उपभोग गर्छन् । एलपी ग्यास प्रयोग गर्ने परिवाार १६ प्रतिशत मात्र छन् ।

१७ सय घर, मट्टितेलको भर

कर्णालीमा एक हजार सात सय ७५ जना परिवार अझैपनि बत्ती बाल्न अक्सर मट्टितेलको सहारा लिन्छन् । यसैगरी एक सय ४५ परिवारले बायोग्यास र सात हजार एक सय ३५ परिवारले बिजुली तथा सौर्य ऊर्जा बाहेकको अन्य स्रोत अपनाएका छन् । कर्णालीमा कुल तीन लाख ६६ हजार परिवारमध्ये एक लाख ८१ हजार ६ सय ७६ परिवारमा मात्र बिजुली पुगेको छ ।

यो संख्या कर्णालीको कुल परिवार संख्याको ४९ दशमलव ६ प्रतिशत हो । यसैगरी एक लाख ७५ हजार तीन सय ६ परिवारले बत्ती बाल्नकालागि सौलार तथा सौर्य ऊर्जाको प्रयोग गरेका छन् । यो संख्या प्रदेशको कुल परिवार संख्याको ४७ दशमलव नौं प्रतिशत हो ।

दैलेख र सल्यानको जनसंख्या घट्यो

राष्ट्रिय जनगणना २०७८ ले कर्णालीका दैलेख र सल्यान जिल्लामा जनसंख्या घटेको जनाएको छ । नेपालभर कुल ३४ जिल्लामा जनसंख्या घटेकोमध्ये कणर्ालीका दुई जिल्लामा समेत १० वर्षको समयमा जनसंख्या घटेको जनगणनाको तथ्यांक छ । २०६८ को जनगणनामा दैलेख जिल्लाको जनसंख्या दुई लाख ६१ हजार सात सय ७० जना थियो ।

हाल दैलेखको जनसंख्या दुई लाख ५२ हजार तीन सय १३ जना रहेको छ । जिल्लामा कुल शून्य दशमलव ३५ प्रतिशतका दरले जनसंख्या घटेको हो । यसैगरी सल्यान जिल्लामा समेत शून्य दशमलव १६ प्रतिशतका दरले जनसंख्या घटेको छ । २०६८ को जनगणनामा सल्यानमा दुई लाख ४२ हजार चार सय ४४ जनाको जनसंख्या थियो भने हाल यो संख्या दुई लाख ३८ हजार पाँच सय १५ जना रहेको छ ।

कर्णालीमा अन्य जिल्लामा भने १० वर्षको समयमा जनसंख्यामा वृद्धि भएको देखिन्छ । २०७८ को जनसंख्यामा सुर्खेतमा चार लाख १५ हजार एक सय २६ जना, मुगुमा ६४ हजार पाँच सय ४९ जना, डोल्पामा ४२ हजार सात सय ७४ जना, जाजरकोटमा एक लाख ८९ हजार तीन सय ६० जना, हुम्लामा ५५ हजार तीन सय ९४ जना, जुम्लामा एक लाख १८ हजार तीन सय ४९ जना, रुकुम पश्चिममा एक लाख ६६ हजार सात सय ४० जना र कालिकोटमा एक लाख ४५ हजार दुई सय ९२ जनाको जनसंख्या पुगेको जनगणनाको तथ्यांक छ ।

नेपालभर जनघनत्व कम भएका पाँच जिल्लामध्ये कणर्ालीका तीन जिल्ला समेत समावेश छन् । नेपालमा सबैभन्दा कम जनघनत्व भएका जिल्लामा मनाङ र मुस्ताङ पर्छन् । त्यसपछि डोल्पा, हुम्ला र मुगु कम जनघनत्व भएका जिल्ला हुन् ।

तपाईको प्रतिक्रिया