खानेपानीकाे चरम संकट

खानेपानीमा लोडसेडिङ

सुर्खेत । वीरेन्द्रनगरमा पछिल्लो सर्वेक्षण अनुसार यहाँ ३७ हजार घरधुरी छन् । अहिले २० हजार पाँच सय वटा संख्याको हाराहारीमा मात्र धारा जडान भएका छन् । यी धाराहरुमा हालको समयमा भने नियमित पानी नै आउँदैन । घरमा जडान भएका धारामा नियमित पानी आपूर्ति नभएपछि नागरिकहरु अन्य स्रोतसँग आपूर्तिका लागि भरपर्नुपर्ने वाध्यता छ ।

वीरेन्द्रनगर क्षेत्रमा हाल खानेपानी उपलब्ध गराईरहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थासँग चार स्थानमा पानीको स्रोत छ । खरीबोरी, झुप्रा, इत्राम र खोर्के क्षेत्रका मुहानबाट हालको समयमा दैनिक एक सय ५३ लिटर पानी प्रति सकेण्ड आपूर्ति हुन्छ । तर वीरेन्द्रनगर क्षेत्रको माग अनुसार यो संख्या निकै कम हो । पानीको अभाव भएपछि समानुपातिक तवरले वितरण गर्न संस्थाले अहिले पानी वितरणका लागि निश्चित समय निर्धारण गरेको छ ।

संस्थाका अनुसार हालको माग बमोजिम धारामा नियमित रुपमा खानेपानीको उपलब्धता गराउन तीन सय २० लिटर प्रति सकेण्डको स्रोत आवश्यक पर्छ । संस्थाले हाल प्रयोग गरिरहेका पानीका मुहानहरुबाट अधिकतम् क्षमतामा पानी आपूर्ति भईरहेको छ ।

संस्थाका इञ्जिनियर बालाराम तिवारीका अनुसार झुप्राखोला मुहानबाट ८६ लिटर प्रति सेकेण्ड पानी नियमित आपूर्ति भईरहेको छ । यो नै संस्थाका लागि सबैभन्दा धेरै क्षमताको पानीको स्रोत हो । यसैगरी खरीबोरी मुहानबाट ३० लिटर, इत्राम खोलाबाट २७ लिटर र खोर्के खोलाबाट १० लिटर प्रतिसेकेण्ड पानी आपूर्ति भईरहेको तिवारीले जानकारी दिए ।

गर्मीको समयमा पानीको माग बढ्छ । त्यसैले पनि अन्य समयको तुलनामा हालको समयमा धारामा पानीको अभाव देखिनु स्वभाविक रहेको संस्थाको भनाई छ । पानीको स्रोतको क्षमता भन्दा बढी माग भएपछि अहिले धारामा पानीको अभाव देखिएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कार्यालय प्रमुख डम्बरबहादुर गौतम बताउँछन् । उनले भने, ‘पानीको स्रोत क्षमता भन्दा माग बढी छ । त्यसैले हामीले पर्याप्त पानी वितरण गर्न नसकेका हौँ ।’

खानेपानी अभावले रित्तिदै रेक्चा गाउँ
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका ५ को उत्तरी भागमा पर्छ, रेक्चा गाउँ । चुरे पहाडको डाँडामा बनेको समथर भू-भागमा अवस्थित यो गाउँ कृषि उत्पादन र वातावरणीय हिसावले वसोवासका लागि उपयूक्त मानिएतापनि खानेपानीको चरम अभावका कारण बिस्तार रित्तिदै गएको छ ।

भौगोलिक विकटता र सरकारको उपेक्षाले वर्षौदेखि रेक्चावासी खानेपानीको चरम अभावमा जीवन बिताउन बाध्य छन् । खानेपानीको समस्या मात्रै होइन पशु चौपायले समेत पेटभरी पानी खान पाउँदैनन् । सदियौंदेखि चरम खानेपानी संकट व्यहोर्दै आएका रेक्चावासीहरु अब बिस्तारै पुख्र्यौली थलो छाड्न थालेका छन् । खानेपानीको चरम संकटपछि स्थानीयहरु बस्ती नै छोडेर बेँसी तथा अन्यत्र बसाइँ सरिरहेका छन् । पानीको कुनै मुहान नहुनु र भएको पनि गर्मी नलाग्दै सुकेपछि वर्षेनी बसाइँ सर्नुपर्ने बाध्य छ ।

आर्थिक अवस्था राम्रा भएका परिवारहरु बस्ती सरेर पञ्चपुरी, चौकुने तथा कैलाली तिर गएका छन् । बाँकी परिवारको बसाई सरेर जाने अवस्थापनि छैन् । पाँच वर्षअघिसम्म रेक्चामा करिब एक सय १५ घरपरिवारको बस्ती थियो । तर, यो संख्या घटेर अहिले ८० मा झरेको छ ।
‘खानेपानी कै कारण विगत पाँच वर्ष यता करिव ३५ घरधुरी बसाइँ सरिसके ।’ स्थानीय जीवन वीसी भन्छन्, ‘रेक्चा, खाडगाडी, हाडकाँध, खेल र ढुङ्गालोटे बस्तीमा हामीले वर्षौदेखि खानेपानीको चरम अभाव झेलीरहेका छौं ।

अब विस्तारै यी बस्तीहरुबाट पानी कै कारण प्रत्येक वर्ष कुनै न कुनै परिवार बसाइँसराई गरी बेसीतिर झरिरहेका छन् ।’ पानी कै कारण वस्ती रित्तिने चिन्तामा रहेका वीसीले भने, ‘गाउँको बीचमा केही सार्वजनिक कुवा छन् तिनै कुवाबाट पानी नापेर बाँडिचुँडी खाने गछौं ।’ वर्षातको समयमा पानीको समस्या नहुने भएपनि असोज कात्तिकदेखि भने पानीको स्रोत घट्दै जान्छ ।

माघ फागुनदेखि वैशाख जेठसम्म खडेरीको समयमा चौकीदार राखेर पानी अड्कलेर वितरण गर्ने गरेको वीसीको भनाई छ । ‘वैशाख जेठमा कुवा सुक्छन् त्यसबेला पानी लिन डेढदेखि दुई घण्टासम्म हिँडेर जानुपर्छ ।’ स्थानीय प्रकाश शाहीले भने, ‘खानेपानीकै अभावले यहाँका मान्छे बसाइँ सर्न बाध्य छन् ।’ पुच्मा, रेक्चा बागमारा, खुङ्ग, बूढापुच्मा, बाड्ले, ड्वाङड्वाङे, रुदेउ, कट्कपानी, कुटौला, साइरेदुला र पनटुक्रा गाउँमा करिब पाँच सय घरधुरीको बसोबास छ । पानीको स्रोतहरु भोग्रे खोला र धाक्चे खोला बस्तीभन्दा करिव दुई किलोमिटर तल पर्दछन् । यी बस्तीहरुमा पानी पुर्‍याउनका लागि लिफ्ट प्रविधिबाहेक अन्य कुनै सम्भावना छैन ।

एक घर : दुई गाग्री पानी
यहाँको पानीको मुख्य स्रोत वर्षातको पानी हो । पानीको जोहो गर्न स्थानीयहरुले १८ वटा कुवा खनेका छन् । यी कुवा मध्ये १२ वटा फागुनमै सुकिसक्छन् । बाँकी चारवटा कुवाको पानी पनि स्वास्थ्यका दृष्टिकोणले खासै सफा हुँदैन । तर फोहार नै भएपनि खानुको विकल्प नरहेको स्थानीय प्रकाश शाही बताउँछन । कुवामा जम्मा भएको पानी दैनिक प्रतिघर दुई गाग्री वितरण गर्ने गरिएको छ ।

पानी वितरणका लागि चौकीदारको व्यवस्था गरिएको छ । विशेष गरी असारदेखि पुसको महिनासम्म पानीको संकट हुने हुँदा समान वितरणका लागि चौकीदारको व्यवस्था स्थानीयले गरेका छन् । तिनै चौकीदारले प्रतिघर एक पाथी गहुँ पारिश्रमिक लिएर पानी वितरण गर्ने गर्दछन् । यसरी वितरण गरिने पानी सानो परिवार भएकालाई त जेनतेन पुग्ने गरेको छ तर, ठूलो परिवार हुनेका लागि भने पानी लिन घण्टौं हिड्नु पर्ने बाध्यता छ । विवाह, व्रतबन्ध तथा मृत्यु संस्कार भएमा केही बढी गाग्री पानी दिने गरिए पनि अरू बेला दैनिक दुई गाग्रीभन्दा बढी नपाईने स्थानीय नन्दा जोशी बताउँछिन् ।

‘त्यही दुई गाग्री पानीले खाना पकाउने, खाने, हातमुख धुने, शौचालयमा प्रयोग गछौं ।’ नन्दाले भनिन्, ‘नुहाउन, कपडा धुनका लागि करिब दुई घण्टा टाढाको खोलामा जान्छौं ।’ खानेपानीको दीर्घकालिन समस्या सामाधानका लागि पालिकामा आउने बजेट बराबरकै लगानी लाग्ने भएकाले पालिका मुकदर्शक भएर बस्न बाध्य भएको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक बताउँछन् ।

आर्थिक वर्ष २०७७/०७८ मा चालु आर्थिक वर्षको असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी खानेपानीको दीर्घकालिन समस्या समधानका लागि संघ सरकारले करिव एक करोड २६ लाख रुपैयाँ लागतमा वेतनखोली-रेक्चा-पुच्छ्म लिफ्ट खानेपानी आयोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो ।

बेतनखोलीको पानी लिफ्ट प्रविधबाट रेक्चासहित नजिकका हाडाकाना, पुच्छ्म, बागमारा र रानागैरा लगायतका बस्तीमा खानेपानी पुर्‍याउने लक्ष्य राखेको आयोजना विद्युत् नहुँदा अलपत्र छ । मुहानसम्म विद्युतको ट्रान्सफर्मर पुर्‍याउने सडक नहुँदा खानेपानी आयोजना अघि बढ्न सकेको छैन ।

पालिकाले मुहानसम्मको पहुँच मार्ग निर्माणका लागि बजेटको व्यवस्था गरी आयोजना सञ्चालनमा ल्याइने अध्यक्ष विकको भनाई छ । अघिल्लो आर्थिक वर्षमा प्रदेशको उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयले कुवा मर्मतका लागि ४५ लाख रकम विनियोजन गरेको तर, त्यो पर्याप्त नभएको विकले जानकारी दिए ।

बस्तीसम्म पानी पुर्‍याउनका लागि दुई स्थानमा रिजर्भ ट्यांकीका लागि दुईवटा विद्युत ट्रान्सफर्मर आवश्यक पर्ने अध्यक्ष विक बताउँछन् । हाल आयोजनाको रिजर्भ ट्यांकी निर्माण तथा पाइपलाइन बिच्छ्याउने लगायतका काम सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया