काठमाडाैं । स्ववियु चुनावमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा ३ हजार ४२६ मतदातामध्ये २ हजार ७५ मत खस्यो, जहाँ विद्युतीय मतदान भएको थियो । शंकरदेव क्याम्पसमा ८ हजार ४९० विद्यार्थी स्ववियु निर्वाचनमा मतदाता रहेकोमा प्रारम्भिक तथ्याकंअनुसार ३ हजार १९१ मत खस्यो । पद्मकन्या क्याम्पसमा ५ हजार ४ सय मतदातामा १ हजार ८७० मत खस्यो । पद्मकन्या बहुमुखी क्याम्पसमा ५ हजार ५ सय ९२ विद्यार्थी मतदाता १ हजार ८७० मत खस्यो ।
यस्तै, नुवाकोटको नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा १ हजार १४३ मतदातामा ७४२ मत खस्यो । त्यस्तै, नुवाकोटकै त्रिशूली त्रिभुवन क्याम्पसमा ३१३ मध्ये २३३ मत खस्यो । रुपन्देहीको लिलाधर छपिया जनता कलेजमा २ सय ३१ मतदातामध्ये १६६ मत खस्यो ।
यी क्याम्पसमा मतदाताको उत्साह देखिएन । देशभर ६० प्रतिशत मत खसेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।
दुई–दुई वर्षको अन्तरालमा हुनुपर्ने स्ववियु चुनाव नियमित हुन नसक्दा विद्यार्थीको आकर्षण हुन सकेको देखिँदैन । २०६५ सालपछि स्ववियु नियमित हुन सकेको छैन । त्रिविअन्तर्गत ६२ वटा आंगिक क्याम्पस छन् । १ हजार ४० क्याम्पसले त्रिविको सम्बन्धन प्राप्त गरेका छन् । १४ वर्षपछि ६२ वटा आंगिकसहित साढे ४ सयभन्दा धेरै क्याम्पसहरूमा एकैसाथ स्ववियु चुनाव हुनुपर्नेमा सबैमा हुन सकेन ।
विद्यार्थीलाई स्ववियुप्रति आकर्षण हुन नसकेको विद्यार्थी नेता स्वीकार गर्छन् । कांग्रेसको भ्रातृ संगठन नेविसंघका नेताहरू स्ववियुबारेमा विद्यार्थी संगठनले विद्यार्थीलाई बुझाउन नसकेको बताउँछन् । ‘विद्यार्थीको राजनीति गतिविधिप्रति आकर्षण घट्दो रहेको देखाउँछ । लामो समयदेखि स्ववियु चुनाव हुन सकेन । त्यसले स्ववियुको महत्त्व र गरिमा विद्यार्थीले बुझ्न सकेनन्,’ नेविसंघका नेता टेकराज अवस्थीले भने, ‘विद्यार्थी संगठनले स्ववियु र विद्यार्थी संगठनको महत्त्व विद्यार्थीलाई बुझाउन सकेनन् ।’
एमालेको भ्रातृ संगठन अनेरास्ववियुका नेताहरू भने विद्यार्थीको आकर्षण नघटेको दाबी गर्छन् । ‘अघिल्लो पटक पनि मत खसेको अनुपात यस्तै हो । आकर्षण घटेको छैन । नियमित पढाइ हुने प्रयोगात्मक पढाइ हुने क्याम्पसमा शतप्रतिशत मत खसेको छ । सैद्धान्तिक रूपमा पढाइ हुने क्याम्पसमा मत कम खसेको हुन सक्छ,’ अनेरास्ववियु अध्यक्ष समिक बडालले भने ।
माओवादीको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका नेताहरू विश्वविद्यालयका पदाधिकारीका कारण स्ववियुमा विद्यार्थीको आकर्षण नभएको बताउँछन् । ‘परीक्षा समय छ । अध्ययनशील र स्वतन्त्र विद्यार्थीहरू अध्ययनमा ध्यान दिन्छन् । चुनाव लामो समयपछि भएको छ हुन्छ कि हुँदैन भन्ने कन्फ्युजन भएर पनि चुनावमा सहभागिता हुन सकेन,’ अनेरास्ववियु क्रान्तिकारीका महासचिव दिपेश पुनले भने, ‘विश्वविद्यालयका पदाधिकारीहरूले पनि विद्यार्थीको झगडा देखाएर चुनाव टार्दै स्ववियुको भूमिका कमजोर बनाउने काम भयो । स्ववियु विघटन गर्ने मनसायमा पदाधिकारी लाग्नुभएको थियो ।’
विद्यार्थीलाई स्ववियुमा आकर्षण गर्न अहिलेको चुनावमा ल्याइएको घोषणापत्र कार्यान्वयनमा जाने विद्यार्थी नेताहरू बताउँछन् । चुनाव नुहँदा फ्रिज भएको स्ववियुलाई नियमित र चलायमान बनाउन बाटो खुलेका उनीहरूलो बताएका छन् ।
‘हामी घोषणापत्रमा भएका कुराहरू कार्यान्वयन गर्छौं र विद्यार्थीको आकर्षणको केन्द्र बनाउँछौँ,’ अनेरास्ववियुका महासचिव पुनले भने । विद्यार्थीलाई स्ववियुबारे बुझाउन नसके पनि स्ववियु चनावपछि विद्यार्थी आन्दोलनबारे बुझाउन सहज हुने नेविसंघका नेता अवस्थी बताउँछन् ।
स्ववियुमा विद्यार्थीको आकर्षण कम हुनुको मुख्य कारण चुनाव नियमित नुहनु रहेको त्रिविका अधिकारीहरू बताउँछन् । ‘कतिपय ठाउँमा शतप्रतिशत पनि खसेको छ । लामो समय भयो स्ववियु चुनाव नभएको । धेरै विद्यार्थीहरूमा उत्साह नभएको हुन सक्छ । बीचमा चाडपर्वहरू पनि भए परीक्षा बिदालगायतका कारणहरूले पनि विद्यार्थी कम भएका हुन सक्छन्,’ त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले भने ।
उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पस र विश्वभाषा क्याम्पसमा, त्रिचन्द्र क्याम्पसमा चुनाव हुन सकेन । यस्तै, पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धवलागिरि बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पमा चुनाव हुन सकेन ।
चुनाव हुन नसकेका क्याम्पसहरूमा एक महिनाभित्र चुनाव हुने त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले बताए । ‘धेरै क्याम्पसहरूमा प्रारम्भिक कामहरू सुरु भइसकेको छ । अधिकांश क्याम्पसमा ८ गते स्ववियु चुनाव हुन्छ । समझदारी नभएका क्याम्पसहरूमा समझदारी हुने काम जारी छ,’ अधिकारीले भने । (शिलापत्रबाट)
युग संवाददाता । । ५ चैत्र २०७९, आईतवार २०:२३