दुर्गा विसि ।
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका ४ मा रहेको जय नेपाल आधारभुत विद्यालय गर्चेमा विषयगत शिक्षक बिनै कक्षा सञ्चालन भइ रहेको छ । अंग्रेजी र गणित विषयका शिक्षक पदपूर्ति नहुँदा ४ वर्षदेखि पढाई बिनै विद्यार्थीले परीक्षा दिदै आएका छन् । २०७६ मंसिरमा अंग्रेजी राहत शिक्षक देविलाल परियार र गणित शिक्षक भरत रावत प्रावि स्थायी सेवामा प्रवेश गरेपछि सो विद्यालयमा रिक्त शिक्षक पदपूर्तिका लागि विज्ञापन गरिएकाे थियाे । तर, अहिलेसम्म पनि पदपूर्ति हुन सकेको छैन ।
राजनीतिक खिचातानीले शिक्षक खटनपटनको जिम्मेवारी पाएको नगर शिक्षा शाखाले हालसम्म पनि दरवन्दी पूर्तिको प्रक्रियासम्म अघि बढाउन सकेको छैन । अघिल्लो स्थानीय सरकारले अंग्रेजी विषयलाई समाजिक विषय बनाउन खोजे पनि शाखाले नियम विपरीत काम गर्न नसकिने बताएको थियो । शिक्षा शाखाले मुख्य विषय अंग्रेजी, गणित नभएकाले सहायक विषयमा अनुमति दिन मानेन । ४ वर्ष देखि सो विद्यालयमा कक्षा ६,७ र ८ का विद्यार्थीले अंग्रेजी र गणित विषय कस्तो हुन्छ भन्ने थाहा पाउन छाडि सकेको बताउछन ।
विद्यालयमा अध्ययनरत पुर्व विद्यार्थी तथा अभिभावक प्रेम बिसीले भने सो विद्यालयमा दक्ष शिक्षक भन्दा आफन्त भर्ना खोज्दा विद्यार्थीको भविष्यमाथि खेलबाड गरिएको बताउँछन् । प्रधानाध्यापक चन्द्र रावलले पनि शिक्षक पदपूर्ति गर्न कठिनाइ भएको स्वीकार्दै आएका छन् । ‘प्रधानाध्यापकले मात्रै हुने भए विज्ञापन सकिएको हप्ता दिनमै परिक्षा हुन्थ्यो तर हामिहरुको बसको विषय भन्दा कुरा अलि पर पुगेकाले असजिलो भएको छ ।’ प्रधानाध्यापक रावलले भने, ‘भखरै नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ । अब भने नयाँ शैक्षिकसत्रदेखि विद्यालयले शिक्षक पाउछ भन्ने झिनो आस छ ।’
राम्रो भन्दा हाम्रो खोज्दा विद्यालयमा ४ वर्ष देखि मुख्य विषयका शिक्षक नै छैनन् । शिक्षा र स्वास्थ्यमा आमुल परिवर्तन गर्ने अठोट लिएको नयाँ स्थानीय सरकारले पनि हालसम्म त्यो विद्यालयको समस्या प्रति चासो दिन नसक्नु दुखद् भएको अभिभावको गुनासो छ । नयाँ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक बुढाले आगामी शैक्षिक सत्रदेखि विद्यालयले विषयगत शिक्षक पाउने बताउँछन् । ‘नयाँ शैक्षिकसत्र देखि विद्यालयले विषयगत शिक्षक पाउछ यसमा दुई मत छैन ।’ अध्यक्ष बुढाले भने । दुई सय बढी विद्यार्थी रहेको उक्त विद्यालयमा कक्षा १ देखि ८ सम्म पढाई हुने गरेको छ ।
युग संवाददाता । । ४ चैत्र २०७९, शनिबार ०७:३६