किसानका छोरा रामसहाय यादव, शिक्षकदेखि उपराष्ट्रपतिसम्म

काठमाडाैं । जनता समाजवादी पार्टी नेपालका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा उनी ३० हजार ३२८ मतभार पाएर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनी चौथो कार्यकालका लागि तेस्रो उपराष्ट्रपति बनेका छन् । उपराष्ट्रपति निर्वाचित हुने उनी दाेस्राे मधेसी हुन् । यसअघि मधेसी समुदायबाट २०६५ मा परमानन्द झा पहिलाे उपराष्ट्रपति बनेका थिए ।

यादव उपराष्ट्रपतिमा निर्वाचित हुनु अघिल्लो दिन काठमाडौं बुद्धनगरस्थित उनको डेरामा पुग्दा भुईंमा यत्रतत्र छरिएका थिए, किताब । भुईंमै लगाइएको थियो उनको ओछ्यान । सामान्य थियो उनको डेरा । छोराहरूसँग उनी डेरामा थिए ।

उनी मोबाइलमा श्रीमती चम्पादेवीले गोठमा काम गरिरहेको तस्वीर हेर्दै थिए । अहिले पनि बाराको सिम्राैनगढ बसवरियामा उनकी श्रीमतीले गाईपालन गरिरहेकी छिन् ।

‘सानो छाप्रो गोठ छ । ठूलो घर बनाउन सकेको छैन,’ उनले भने, ‘श्रीमती अहिले पनि गाई पालेर बसेकी छिन् ।’ अब काठमाडौं ल्याउने होइन त भन्ने प्रश्नमा उनले भने, ‘मन्त्री हुँदा काठमाडौं आउन मानिनन् । दुई/चार दिन आएर के गर्नु ? फेरि गोठमै काम गर्नुपर्छ भनेर आउन मानिनन् ।’ २०७८ सालमा उनी वन तथा वातावरणमन्त्री बनेका थिए ।

किसान परिवारमा जन्मिएका रामसहायले उपराष्ट्रपति बन्छु भन्ने कहिल्यै सोचेका पनि थिएनन् । ‘बुबाआमा खेती किसानी गर्नुहुन्थ्यो । सामान्य किसान परिवार हो,’ उनले भने, ‘म पनि हलो जोतेर नै हुर्किएको हुँ ।’ बुबाआमासँगै खेतीपाती गर्दै उनले पढेका थिए ।

आमाको त्यो प्रेरणा

रामसहायलाई पढ्न खासै रुचि थिएन । उनी जिद्दी स्वभावका थिए । तर, दुःख गरेर भए पनि उनकी आमा सिहवादेवी उनलाई पढाउन चाहन्थिन् । ‘आमाको इच्छाले पढेको हुँ । पढ्नका लागि धेरैपटक पिटाइ पनि खाएको छु,’ उनले भने, ‘डोरीमा बाँधेर काँधमा बोकेर आमा र सरले विद्यालय पुर्‍याउनुहुन्थ्यो ।’

अगाडि बढाउन आमाको ठूलो प्रेरणा रहेको बताउँछन् उनी । ‘आमाले यति नगरेको भए यहाँ आइपुग्ने नै थिइनँ,’ उनी आमालाई सम्झन्छन् । उनी ४ कक्षामा पढ्दै गर्दा बुबाको मृत्यु भयो । आमा सिहवादेवी र दाइ रामधारीको सहयोगमा उनी हुर्किए । त्यसो त उनी जन्मनुअघि पाँच दाइहरूको अनुहार पनि उनले देख्न पाएनन् ।

‘रोगले सानैमा पाँच दाइको मृत्यु भएको रहेछ । उहाँहरूलाई देख्न पाइनँ,’ उनी भन्छन् । पाँच दाइहरूको मृत्यु भएपछि एक दाइ, दुई दिदी र एक बहिनी जन्मिए । सानोमा उनले दाइ रामधारीबाट नै शिक्षा लिएका थिए । ‘दाइले पनि पढ्नुभएको थियो । शिक्षक भएकाले दाइबाट सिक्न पाएको थिएँ,’ उनले भने ।

यसरी २०४३ सालमा उनले बाराको कांकाली माविबाट एसएलसी उत्तीर्ण गरे । त्यसपछि उनी थप अध्ययनका लागि भारत गए । भरतको सीतामढी कलेजबाट बीएस्सी गरेर वीरगन्जबाट बीएडको अध्ययन पूरा गरे । दाइ बिरामी परेपछि उनी बारामै फर्किए । ‘दाइ बिरामी भएपछि काम गर्नुपर्ने भयो । हलो नजोती हुँदैनथ्यो,’ उनी भन्छन् ।

अनि शिक्षक बने

विज्ञान र गणितमा अब्बल थिए उनी । २०४८ सालमा अस्थायी शिक्षको रूपमा उनले पन्नादेवी कन्या माविमा काम गर्न थाले । १२ वर्षसम्म उनले अस्थायी शिक्षक भएर पढाए । स्थायीमा नाम निकाल्नका लागि परिवारले उनलाई दबाब दिएका थिए । खर्च गरेर भए पनि स्थायीमा नाम निकाल्ने सोचमा परिवार थियो । तर, उनी कसैलाई पैसा दिएर नाम निकाल्ने सोचमा थिएनन् ।

परिवारले स्थायीमा नाम निकाल्न २० हजार दिएको थियो । उनले भगवान्‌सँग प्रार्थना गरे, पैसा खर्च गरेर नाम ननिक्लियोस् । नभन्दै उनको नाम निस्किएन । ‘त्यो २० हजार भतिजीको विवाहमा दाइजो दिएँ,’ उनी भन्छन् । र, २०६० सालमा आएर उनको स्थायी शिक्षकमा नाम निस्कियो ।

शिक्षकसँगै राजनीतिमा

उनी शिक्षकसँगै राजनीतिमा प्रवेश गरे । २०४७ सालको कुरा हो । देशमा प्रजातन्त्रका लागि जनआन्दोलन चलिरहेको थियो । उनको परिवार कांग्रेस समर्थक थियो । उनका हजुरबुबा कांग्रेसमा संलग्न थिए । तर, उनी भने सद्भावना पार्टीमा आबद्ध भए । ‘परिवार कांग्रेस भए पनि सद्भावनाको विचार मन परेर आबद्ध भएको हो,’ उनी भन्छन् ।

शिक्षक भएका कारण उनको नेतृत्वमा बारामा सद्भावनानिकट नेपाल शिक्षक मञ्चको अध्यक्ष बने । ‘शिक्षक भएकाले विद्यालयभित्र राजनीति कहिल्यै गरिनँ । विद्यालयबाहिर सक्रिय थिएँ,’ उनी भन्छन् । २०५० सालमा नेपाल सद्भावना पार्टीको तेस्रो महाधिवेशनको पर्यवेक्षक बनेका उनी चौथो महाधिवेशनमा प्रतिनिधि भएर गएका थिए ।

विद्यार्थीको लुगा र पैसा सापटी मागेर काठमाडौंमा

२०५७ सालमा पार्टी अध्यक्ष गजेन्द्रनारायण सिंह नागरिकताको मुद्दा उठाएर काठमाडौंकाे भद्रकालीमा अनशनमा बसेका थिए । अनशनमा प्रत्येक जिल्लाबाट प्रतिनिधि सहभागी हुन पार्टीले निर्देशन दियो । उनी बारा जिल्लाबाट काठमाडौं आउने भए । तर, उनीसँग बाक्लो कपडा र बसभाडासमेत थिएन । ‘विद्यार्थीको जुत्ता र कपडा मागेर लगाएर आएको थिएँ । २५० रुपैयाँ पैसा सापटी लिएर आएको हुँ,’ उनी भन्छन् ।

नागरिकताको आन्दोलनामा काठमाडौंमा संविधान जलाउने कार्यक्रम थियो । ‘संविधान जलाउनेलाई गोली हान्ने सूचना आएको थियो । भद्रकाली पुगेर बस्यौँ । २ बजे सबै भेला भएर संविधान जलाएका थियौँ,’ उनले भने । यही आन्दोलनले उनलाई गजेन्द्रनारायण सिंहसँग भेट गरायो । प्रहरीसँग झडप भएपछि गजेन्द्रनारायणलाई जोगाउन उनी पनि घेरा हालेर बसेका थिए । सिंहसँगको फोटो पत्रपत्रिकामा आएपछि उनको चर्चा बढेको थियो ।

पार्टी जोगाउन आमरण अनशन

२०५९ सालमा नेपाल सद्भावनाको पाचौँ महाधिवेशन सप्तरीको राजविराजमा थियो । पार्टीको फुटको सँघारमा पुग्यो । बद्रिप्रसाद मण्डलले पार्टी कब्जा गर्ने रणानीति बनाए । गजेन्द्रनारायण सिंहको मृत्यु भएपछि पार्टी नेतृत्वमा खटपट भएको थियो । उनी पार्टी एकताको माग राख्दै आमरण अनशन बसे । अनशन बसेको समयमा उनलाई भेट्न आरडी आजात र सुरेन्द्र साह आएका थिए ।

उनीहरूले अनशन सकिएपछि एक जना मान्छे भेटाउने भनेका थिए । कसलाई भेट गराउने भन्ने उल्लेख गरेका थिएनन् । अन्तत: सिंहकी श्रीमती आनन्ददेवीले अनशन तोडाइन् । ‘आनन्ददेवीको नेतृत्वमा नेपाल सद्भावना पार्टी आनन्दी गठन गर्ने भएपछि अनशन तोडेको हो,’ उनले भने ।

उपेन्द्र यादवसँगको पहिलो भेट

अनशन तोडेपछि उनलाई भेट्न फेरि आरडी आजात र सुरेन्द्र साह आए । उनीहरूले रामसहायलाई राजविराजकै एक घरमा पुर्‍याए । त्यहाँ थिए उपेन्द्र यादव । ‘कसलाई भेटाउन लगेको हो भन्ने थाहा थिएन । त्यो घरमा पुगेपछि मात्र उपेन्द्र यादव भन्ने थाहा भएको हो,’ उनले भने । गजेन्द्रनारायण सिंहको मृत्यु भएपछि सद्भावनाले मधेसको मुद्दा बोक्न नसक्ने भन्दै उपेन्द्र यादवले सहकार्यको प्रस्ताव राखेका थिए ।

‘अहिले नै सद्भावना छोड्नुपर्दैन । मधेसी जनअधिकार फोरम नेपालमा पनि आबद्ध हुन मिल्छ । फोरम भनेको नेता उत्पादन गर्ने ठाउँ हो भनेपछि सामेल भएको थिएँ,’ उनले भने । २०५९ मा उनी सद्भावनासँगै फोरमा पनि आबद्ध भए । त्यसपछि उनको भूमिगत नाम पनि चन्द्रगुप्त राखियो । उनको भूमिगत नामबाट बाराको फोरम जिल्ला संयोजक बने । शिक्षक रामसहाय यादव नै चन्द्रगुप्त हुन् भन्ने कसैलाई थाहै थिएन ।

परिवारलाई समेत उनले भनेका थिएनन् । यसरी उनी फोरममा आबद्ध भएपछि उपेन्द्र यादवसँगै छन् । पार्टी टुटफुट हुँदा पनि यादवको साथ उनले छोडेनन् । २०६२–०६३ को जनआन्दोलनमा उनी सक्रिय भएर लागे । वीरगन्जमा उनले आन्दोलनको नेतृत्व गरेका थिए । मधेस आन्दोलनमा पनि उनको भूमिका ठूलो थियो । पार्टीको काममा इमानदार भएर लागेका कारण उनी २०६५ सालमा फोरम नेपालको महासचिव बने । हाल उनी जसपाको कार्यकारीणी सदस्य छन् ।

शिक्षकबाट राजीनामा

२०६४ मा आएर उनले शिक्षकबाट राजीनामा दिए । घरपरिवार र विद्यालयले उनलाई राजीनामा नदिन भनिरहेका थिए । बल्लबल्ल भएको स्थायी जागिर नछोड्न परिवारले दबाब दिएको थियो ।

‘परिवारलाई नभनी राजीनामा दिएको थिएँ,’ उनले भने । राजीनामा दिनुको कारण भने पहिलो संविधानसभाको निर्वाचनमा उनी समानुपातिक उम्मेदवार थिए । ‘चुनाव लड्न धेरै खर्च लाग्छ । जागिर नछोड्न दबाब आएको थियो,’ उनले भने ।

तर, उनी समानुपातिकको सूचीमा भएकाले शिक्षकबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिमा होमिए । उनी २०६४ को संविधानसभाको चुनावमा समानुपातिकबाट संविधानसभा सदस्य बने । दोस्रो संविधानसभाको निर्वाचनमा पनि उनी समानुपातिक सूचीमा थिए तर सदस्य हुन भने पाएनन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी प्रत्यक्ष चुनाव लडे । ‘जनताको मत पाएर निर्वाचित भएको थिएँ,’ उनी भन्छन् ।

गत मंसिर ४ मा भएको निर्वाचनमा पनि उनी प्रत्यक्ष निर्वाचित भएका हुन् । ‘आफ्नै पार्टीको साथी बागी उठ्नुभएको थियो । जनताको मन जितेर निर्वाचित भएँ,’ उनी भन्छन् । निर्वाचित भएपछि उनी जसपाको संसदीय दलको नेतासमेत बने । उपराष्ट्रपति भएपछि देश, जनता र संविधाको रक्षाका लागि काम गर्ने बताउँछन् । ‘आफ्नो स्वार्थका लागि होइन । देश र जनताको अभिभावक भएर काम गर्छु,’ उनी भन्छन् । (शिलापत्रबाट साभार)

तपाईको प्रतिक्रिया