कर्णालीमा एक हजार साना सडक निर्माण गरिँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले यस वर्षमात्रै एक हजार साना सडक निर्माण गरिरहेको छ। पहुँचभन्दा बाहिर रहेका नागरिकलाई सडकको पहुँचमा पुर्याउनका लागि प्रदेश सरकारले कर्णालीका बस्तीमा ती सडक निर्माण गर्दैआएको छ।

कर्णालीका अधिकांश नागरिक विकासको महत्वपूर्ण पूर्वाधार सडकको पहुँचभन्दा बाहिर रहेकाले प्रदेश सरकारले यसमा जोड दिएको हो। भौगोलिक हिसाबले सबैभन्दा ठूलो प्रदेश कर्णाली भरी यस वर्ष नयाँ र क्रमागत गरी करिब एक हजार सडक निर्माणका क्रममा छन्।

प्रदेश सरकारले रु ३० लाखभन्दा कमका योजना नबनाउने निणर्य गरेपछि यस वर्ष विगतमा भन्दा धेरै स-साना टुक्रे योजना र सडक निर्माणका योजना कम भएको मन्त्रालयका सूचना अधिकारी भीमबहादुर कार्कीले बताए।

भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयले भौतिक पूर्वाधार सडक र पुल निमाणर्मा गरी रु आठ अर्ब विनियोजन गरेको छ। भौतिक पूर्वाधार निर्माणका लागि पर्याप्त जनशक्तिको अभाव रहेको छ। दश जिल्लामध्ये सात जिल्लामा अहिले पनि निमित्तका भरमा काम गर्नुपर्ने बाध्यता छ।

दुई सय २१ दरबन्दी रहेको मन्त्रालयलमा हालसम्म प्राविधिकतर्फ ६० प्रतिशत जनशक्ति रिक्त छ। रिक्त रहेको दरबन्दी पतपूर्तिका लागि लोकसेवा आयोगसँग माग गरिएको कार्कीले बताए।

तपाईको प्रतिक्रिया