गाउँमा ढुंगाखानी, गाउँलेलाई रोजगारी

सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिका -८ गोईरीका ७१ वर्षीय धनसिंह पुनले घरछेउको ढुंगाखानीमा काम गर्न थालेको ५६ वर्ष भयो । सानै उमेरदेखि काम गर्न थालेका पुन बिहानै खानीमा पुगेर ढुंगा निकाल्ने, कुद्ने काम गर्छन् । परिवारको लालनपालन, उच्च शिक्षा, सम्पूणर् घरखर्च यसैबाट जुटाएका छन् । खानीका पाका कामदारका रुपमा चिनिने उनले बाजेका पालादेखि सञ्चालनमा आएको ढुंगाखानीले अहिले धेरैलाई रोजगारी दिएको र ठूलो बजार लिएको बताए ।

सोहि गाउँका ६१ वर्षीय खिमे घर्तीले पनि ढुंगाखानीमै काम गरेर सन्तान हुर्काए, पढाए । दुई छोरा, एक छोरीको उच्च शिक्षा खानीमै कमाईले पुरा गरेको घर्तीले बताए । “१६ बर्षको उमेरमा बिहे गरेको हुँ, त्यो भन्दा अघिल्लो सालबाट खानीमा काम गर्दै आएको छु,” घर्तीले भने, “कालापहाड जानु परेको छैन, सिंगो जीवनभर ढुंगाखानीमै काम गरेर बिताएको छु ।” आप्mनो घर बनाउने, जग्गा जोड्ने, सन्तान पढाउने मुख्य आयश्रोत नै यहि ढुंगाखानी भएको उनको भनाई छ ।

पुन र घर्तीको जस्तै सिंगो गोईरीगाउँवासीको जीविकोपार्जनको श्रोत ‘ढुंगाखानी’ हो । खानीले यहाँका करिब एक सय घरपरिवारको दैनिकी प्रत्यक्ष रुपमा धानेको छ । गोइरीका ढुंगा घरको छानो छाउन, भान्सामा सिलौटोको रुपमा प्रयोग गर्न र सजावटका सामग्री बनाउन प्रयोग भइरहेको छ । यसका साथै पछिल्लो समय मार्वल र टायलको रुपमा प्रयोग हुन थालेको छ । ढुंगाखानी सञ्चालक मिसरकुमार मल्लले यस पटक करिब ७५ जना दक्ष मिस्त्री र २३ जना कामदारहरुले खानीमा काम गरिरहेको बताए ।

उनका अनुसार यस सिजनमा ढुंगा निकालिरहेका १५ वटा खानीमा कम्तीमा पाँच जनाका दरले मिस्त्री र अन्यले काम गरिरहेका छन् । हरेक वर्षको मङसिर महिनादेखि जेठसम्म ढुंगाखानीमा काम हुने गर्दछ । अन्य महिना वर्षाका कारण काम हुँदैन । बिक्रिका लागि तयार भएका ढुंगाको आकार हेरेर मूल्य निर्धारण हुने गरेको छ । हाल ७० रुपियाँ प्रतिगोटाको दरले ढुंगा बिक्रि भएको छ । यही मूल्यबाट जग्गाधनी, खानीमा काम गर्ने श्रमिक, लोड/अनलोड खर्च र स्थानीय सरकारलाई कर तिर्नुपर्छ । एकजना कामदारले दैनिक एक हजार देखि पाँच हजारसम्म आम्दानी गर्ने गरेका छन् ।

यो पनि समग्र ढुंगाको व्यापार हेरेर घटबढ हुने गर्दछ । ढुंगाखानी व्यक्तिको जग्गामा रहेकोछ । यस वर्ष पाँच जनाको जग्गामा रहेको १५ वटा खानीबाट ढुंगा निकालिएको छ । अन्य जग्गामा भएका खानी कुनैमा ढुंगा सिद्धिएका छन् भने कुनै माटोले पुरिएका छन् । आफूहरुले ढुंगा निकाल्नलाई जेसिबी मेशिन मार्फत महंगो खर्चमा माटो हटाएको जग्गाधनी समेत रहनुभएका खानी सञ्चालक मिसर मल्लले बताए । खानी सुचारु गर्नलाई लगाएको लगानी बढि हुँदा सोचेजस्तो आम्दानी हुन नसक्ने चिन्ता खानी सञ्चालकहरुलाई रहेको छ । ढुंगाखानीबाट यस वर्ष करिब एक लाख ५० हजार ढुंगा बिक्रि हुने अनुमान गरिएको छ ।

चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीले गोईरी र गडिमालिकामा भएको ढुंगाखानी स्थानीयको रोजगारको प्रमुखस्थल भएको बताए । दुबै खानीमा गरेर करिब एक सय ५० व्यक्तिले रोजगार पाएको उनले बताए ।
स्थानीय सरकारले खानीसम्म जाने सडक बनाईदिएको र यस पटक स्तरोन्नतीको लागि ठेक्का भैसकेको नगरप्रमुख बादीले जानकारी दिए । स्थानीय सरकार र जग्गाधनी बीचको साझेदारीमा खानी सञ्चालन गर्न सकिएमा दीर्घकालिन योजना बनाएर खानीलाई थप व्यवस्थित र मुनाफामूलक बनाउन सकिने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया