‘पारिजात फुड्स’ संग कर्णालीका रैथाने उत्पादन

पुनम वि.सी.
सुर्खेत  ।  वीरेन्द्रनगर-७ स्थित ‘पारिजात फुड्स तथा मसला हाउस’मा अहिले ‘सर्वोतम पिठो’को माग बढ्न थालेको छ । कणर्ालीका रैथाने कृषि उपजबाट बालबालिकाका लागि तयार गरिने यो पिठो खरिद गर्न उपभोक्ताहरु उद्योगमै पुग्छन् । उत्पादनको माग बढ्न थालेपछि उद्योगले यसमा विविधता समेत ल्याउने प्रयासमा छ । उद्योगकी सञ्चालक दीक्षा ढकाल खनालले भनिन्, ‘बालबालिकाका लागि सर्वोत्तम पिठोको माग धेरै आउन थालेको छ । यो उत्पादन सबै बालबालिकाका लागि थियो । अब यसलाई उमेरगत रुपमा तयार पार्ने योजनामा समेत छौ ।’

वीरेन्द्रनगर बजारमा अहिले वाह्य उद्योगका उत्पादनहरु प्रशस्त छन् । स्वास्थ्यवद्र्धक पोषणजन्य यी उत्पादनलाई बालबालिकाको उमेरअनुसार तयार पारिएका छन् । यता घरेलु तथा साना उद्योगबाट सञ्चालनमा रहेको पारिजात फुड्सले समेत सर्वोत्तम पिठोलाई बालबालिकाको उमेरगत रुपमा कणर्ालीका रैथाने कृषि उत्पादन प्रयोग गरेर निर्माण गर्ने योजना छ ।

सर्वोत्तम पिठो मात्र होइन, उद्योगले कर्णालीमा उत्पादन हुने प्राय सबै रैथाने बालीहरुको बिक्रि वितरण गर्छ । हाल उद्योगले कर्णालीमा उत्पादित जौं, कोदो, फापर, मार्सी, सिमी, टिमुर, बेसार, मास, मसुरोलगायतका उत्पादनहरु प्रशोधन पश्चात बिक्रि गर्दै आएको छ । वि.सं. २०७६ सालदेखि सुरुवात भएको यो उद्योगले हाल मासिक तीन देखि चार लाख बराबरको कारोवार गरिरहेको उद्योगकी सञ्चालक दीक्षाले जानकारी दिइन् ।

व्यस्तता लक्षित उत्पादन
वर्तमान समयमा रैथाने कृषि उत्पादनतर्फ नागरिकको चासो बढिरहेको छ । यसका साथै मानव जीवनशैलीमा समेत व्यस्तता बढेको देखिन्छ । मानिसहरु आफ्नो भान्साका लागि धेरै समय दिन सकिरहेका छैनन् । यसै व्यवस्त जीवनशैलीलाई लक्षित गरी पारिजात फुड्स सञ्चालनमा आएको हो । दीक्षाले भनिन्, ‘मानिसहरु जागिर तथा व्यवसायमा जोडिएका छन् । समय कम छ । फेरि रैथाने बाली जस्ता स्वास्थ्यवद्र्धक वस्तु खानुपर्छ भन्ने चेतनाको विकास भएको छ । हामीले व्यस्त नागरिकलाई लक्षित गर्दै उद्योगको सुरुवात गरेका हौँ ।’

यसका लागि मुख्य पाटो थियो, प्रशोधन । बजारमा कणर्ालीका रैथाने उत्पादनहरु खुल्ला रुपमा बिक्रि वितरण भईरहेका छन् । उपभोक्ताले सामाग्री खरिदपछि भान्सामा यसलाई केलाउनुपर्ने हुन्छ । यसबीचको समयलाई मध्यनगर गर्दै पारिजात फुड्ले भने ती रैथानेबालीलाई प्रशोधन गरी भान्साका लागि तयारी सामाग्रीका रुपमा तयार गरिरहेको हो । हाल उद्योेगका यी उत्पादनमा विभिन्न सरकारी कार्यालय, गैरसरकारी संस्थाका कार्यरत कर्मचारीहरु ग्राहकका रुपमा जोडिएका छन् । उद्योगले फुटकर रुपमा ग्राहक धेरै जोडेको छ । यसका साथै अन्य सेवाप्रदायक संस्थाहरुसँग समेत बजारका लागि सहकार्य गरिएको छ ।

वीरेन्द्रनगरमा सञ्चालनमा रहेका खाद्य व्यवसायहरुले समेत उद्योगको उत्पादन बिक्रि गरिरहेका छन् । तर उद्योगले हाललाई समेत व्यवसायीदेखि उपभोक्ता अर्थात बिजेनशम्यान टु कस्टमर ‘बी टु सी’ मा आधारित भएर बजार व्यवस्थापनतर्फ धेरै ध्यान दिएको छ ।

टिमुर हुँदै सबैथोक
सुरुवाती समयमा कर्णालीमा उत्पादित टिमुरलाई लक्षित गरी उद्योग सञ्चालनको योजना बनेको थियो । उद्योगकी सञ्चालक दीक्षाले भनिन्, ‘भान्सामा टिमुर केलाउन पनि धेरै समय खर्च हुन्छ । त्यहिबाट हामीले उद्योग सञ्चालनको योजना गरेका हौँ ।’ तीन वर्ष पहिले करिव ६५ हजार रुपैयाँबाट शुरु भएको उद्योगको हाल कुल पूँजी करिव २५ लाख पुगेको दीक्षाको भनाई छ । प्रशोधनतर्फ उपकरण सञ्चालन, प्याकेजिङलगायतका कामका लागि उद्योगका स्थानीय दुई जना महिलालाई रोजगार दिइएको छ ।

कर्णालीका साना किसानका उत्पादनहरु उद्योग मार्फत बिक्रि हुन्छन् । उनले भनिन्, ‘यहाँ आउने ग्राहकले पनि हामीलाई सामाग्री बिक्रि गर्नुहुन्छ । गाउँको बारीमा यो चिज उत्पादन भएको छ खरिद गरिदिनुस् भन्नुहुन्छ । हामीले खरिद गछौँ ।’ उद्योगले हाल कर्णालीमा उत्पादन हुने प्रायःसबै रैथाने खाद्य वस्तु प्रशोधन तथा प्याकेजिङ गरी बिक्रि वितरण गर्दै आएको छ ।
‘ब्राण्डिङ सहयोग’ को खाँचो

बजारमा यहाँका उत्पादनझै समान खाद्य वस्तु सस्तो मूल्यमा उपलब्ध हुन्छन् । यस कारणले कणर्ालीका रैथाने उत्पादनले आफ्नो मूल्य समेत पाउँदैनन् । तर फरक परिचय उपलब्ध हुनसक्यो भने यहाँका रैथाने उत्पादनको माग समेत बढ्दो अवस्थामा छ । पारिजात फुड्सले बिक्रि गर्दै आएका उत्पादनलाई कणर्ालीको ‘ब्राण्डिङ’ आवश्यक छ । यसका लागि उद्योगले कर्णाली प्रदेश सरकारका कार्यक्रममा सहभागी हुन अवसर नपाएको समेत होइन । तर विविध कारणवश उद्योग आफै पछि हटेको थियो ।

‘यसअघि हामीलाई कणर्ालीको मूल्यवान लोगो लिनुपर्छ है भन्ने खबर आएको थियो । हामी तयार पनि थियौँ । तर अन्त्यमा हामी सहभागी हुन भने चाहेनौँ’, उनले भनिन् । पारिजात उद्योग आफ्नै योजनामा स्वावलम्वन रहेको संस्था हो । उत्पादनको ब्राण्डिङतर्फ कर्णालीको सरकारका योजनामा अधुरापन महशुस गरेपनि उद्योग पछि हटेको दीक्षाको भनाई छ । उद्योग सञ्चालक दीक्षा व्यवस्थापन विषयमा स्नातक तह अध्ययन गरेकी महिला हुन् ।

तपाईको प्रतिक्रिया