उपभोक्ता अधिकार दिवसमा बजार अनुगमन

सल्यान। विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारी सल्यानको कालिमाटीमा बजार अनुगमन गरिएको छ । कालिमाटी गाउँपालिका स्तरीय अनुगमन टोलीले स्थानिय बजारहरु दानेगौडा, टाट्के, घुम्ती, ढोरेनी, पुतलिबजार लगायतका क्षेत्रमा बुधबार विहान अनुगमन गरेको हो । वडा नम्बर २ र ३ का २९ बढि पसलको अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ ।

अनुगमनको क्रममा विभिन्न पसल तथा व्यवसाय दर्ता, नविकरण विना नै संचालन भएको, मूल्य शुचि नराखेको पाइएको थियो । यस्तै बिल लिने दिने नगरेको, पसल तथा व्यवसाय व्यवस्थित नगरेको, सबै किसिमका सामग्री एकै ठाउँ राखिएको तथा सरसफाईमा पनि ध्यान नदिएको पाइएको थियो ।

अनुगमन टोलिले सम्बन्धित निकायमा व्यवसाय दर्ता तथा नवीकरण गर्न र अन्य आवश्यक सुझाव दिएको अनुगमन टोलि संयोजक गोरख बहादुर थापाले जानकारी दिए । अनुगमन टोलीले उपभोक्ता हित संरक्षणका लागि आवश्यक जनचेतना फैलाउने कार्य पनि गरेको थियो । उपभोक्ताहरू ठगिन सक्ने, म्याद नाघेका अखाद्य वस्तु बिक्री हुन सक्ने विषयलाई ध्यानमा राख्दै बजार अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ ।

अनुगमनमा गाउँपालिकाका उपभोक्ता हित संरक्षण समितिका संयोजक इन्द्र बहादुर वली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल सहित सम्बन्धित शाखा कार्यालयका प्रमुख, प्रहरी, पत्रकार लगायतको सहभागिता थियो । दिवसको अवसरमा छलफल तथा अन्तरक्रिया सम्पन्न यसैविच कालिमाटी गाउँपालिकाले विश्व उपभोक्ता अधिकार दिवसमा छलफल तथा अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर केसीले आफ्नो उपभोग्य अधिकार सुनिश्चित गर्न सर्वप्रथम स्वयं जागरुक हुनुपर्नेमा जोड दिदै उपभोक्ताको हितको लागि गाउँपालिका प्रतिबद्ध रहेको बताएका थिए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पौड्यालले उपभोक्ता हितको बारे आफ्नो प्रस्तुतीकरण गरेका थिए ।

गाउँपालिकाका स्वास्थ्य संयोजक गोरख बहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष इन्द्र बहादुर वली, ३ का वडाध्यक्ष शिव बहदुर केसी, कार्यपालिका सदस्य सुमित्रा राना, स्थानिय व्यापारी तथा उपभोक्ताहरुको तर्फबाट केशर सिंह बुढा, कुबेर केसी, कुल प्रसाद भण्डारी, ओपेन्द्र केसी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार महासंघ सक्यानका उपाध्यक्ष शंकर केसीले गरेका थिए ।

तपाईको प्रतिक्रिया