उच्च अदालत सुर्खेतले रोक्यो स्ववियु निर्वाचन

सुर्खेत । उच्च अदालत सुर्खेतले मध्यपश्चिम विश्वविद्यालयमा चैत्र ३ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन स्थगित गर्न आदेश दिएको छ ।

मंगलबार विश्वविद्यालय अन्तर्गतको स्कुल अफ मेनेजमेन्ट (मुसोम) मा अध्ययनरत विद्यार्थीहरुले मतदान गर्नबाट वञ्चित गराइएको भन्दै उच्चमा रिट दायर गरेका थिए ।

रिट उपर सुनुवाई गर्दै उच्चले अर्को आदेश नआउन्जेल निर्वाचन स्थगित गर्न आदेश दिएको हो । उच्चले चैत्र ८ गते दुबै पक्षलाई अदालतमा हाजिर हुनसमेत भनेको छ ।
मुसोममा अध्ययनरत ३ जना विद्यार्थीले मध्यपश्चिम विश्वविद्यालयका पाँचवटा कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

तपाईको प्रतिक्रिया