वडा तहमै सुरक्षित हाटबजार

पुनम वि.सी.
सुर्खेत, २२ फागुन ।

वीरेन्द्रनगर–१० निवासी प्रेम थापाको दैनिकी कृषि व्यवसायसँग जोडिएको छ । प्रत्येक दिन उनी कृषि उत्पादनहरुलाई बजार पुर्याउन बिहानै घरबाट निस्कन्छन् । कृषि उत्पादनलाई बजार पुर्याउन अटो समेत सञ्चालन गरेका उनले आफ्नोसहित अन्य किसानका कृषि उत्पादनहरु हरेक दिन बजार पुर्याउँछन् ।

भौगोलिक रुपमा वीरेन्द्रनगर नगरपालिकाको १० नं. वडाले धेरै क्षेत्रफल ओेगटेको छ । अन्य वडाको तुलनामा यस वडामा कृषि व्यवसायहरु धेरै मात्रामा सञ्चालनमा छन् । नगरपालिकाले समेत यस क्षेत्रलाई कृषि उपज उत्पादन क्षेत्रका रुपमा भौगोलिक वर्गीकरण समेत गरेको छ ।

किसानहरुका उत्पादन दैनिक रुपमा बजार पुग्छ । वीरेन्द्रनगरस्थित –१० एयरपोर्ट चोकमा यहाँका कृषि उपज बिक्रिका लागि राखिन्छन् । तर सडक किनारामा हरेक दिन लाग्ने हाटबजार सुरक्षित भने छैन । ‘हामीले बिहानै तरकारीहरु एयरपोर्ट चोक पुर्याउँछौँ । बजारका व्यवसायीहरु हाम्रो तरकारी खरिद गर्न त्यहि आईपुग्छन् । तर सडक किनारामा बिहानीको समयमा जोखिम भने उत्तिकै छ’, थापाले भने ।

असुरक्षित तवरमा सडकमै कृषि उपज बिक्रि हुन थालेपछि भने हाल वीरेन्द्रनगर नगरपालिकाले भने स्थानीय स्तरमै सुरक्षित हाटबजार निर्माण गरिदिने भएको छ । ‘चोरी हुने डर हुन्थ्यो, बत्तिको समेत सुविधा थिएन । पानी पर्दा ओत्तिने ठाउँ पनि थिएन, तरपनि तरकारी बेच्नुपथ्र्याे । अब नगरपालिकाले नै हाटबजार बनाइदिने भएपछि भने हामीलाई धेरै सजिलो हुन्छ’, उनले खुशी व्यक्त गरे ।

नगरपालिका मार्फत हाटबजार सञ्चालनको जिम्मा पाएपछि वीरेन्द्रनगर नगरपालिकाको १० नं. वडा कार्यालय अहिले हाटबजार सञ्चालन प्रक्रियामा अघि बढेको छ । वडामा उत्पादन भएका कृषि उपजको बजारीकरणमा सहजताका लागि वडा कार्यालयले हाटबजार सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको हो ।

हाल अव्यवस्थित रुपमा सञ्चालनमा रहिरहेको क्षेत्र नजिकै वडाले जग्गा भाडामा लिएर नै हाट बजार सञ्चालन गर्दैछ । यस क्षेत्रमा सरकारी जग्गाहरु छैनन् । व्यक्तिगत स्वामित्वमा रहेका कन्तिमा ६ कठ्ठा जग्गा भाडामा लिने र सो जग्गामा हाटबजार स्थापना गर्ने उद्देश्यले वडा कार्यालयले यसअघि जग्गा धनीहरुका नाममा सूचना समेत जारी गरेको थियो ।

हाटबजार सञ्चालनका लागि जग्गा भाडामा दिन इच्छुक जग्गाधनीहरुले वडामा निवेदन समेत दिएका छन् । हालसम्ममा केहि संख्यामा मात्र निवेदनहरु वडालाई प्राप्त भएको वीरेन्द्रनगर–१० का वडा सचिव मनोज पौडेलले जानकारी दिए ।

वडाले रत्न राजमार्ग अन्र्तगतको दिपनगर चोकदेखि दक्षिणतर्फ घुस्रा जाने बाटोमा ६ सय मिटरसम्मका जग्गामा हाटबजार बनाउने योजनामा छ । आगामी १० वर्षसम्मका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गर्ने वडाको योजना हो ।

वडाले हाटबजारसँगै खुल्ला जिमखाना र जेष्ठ नागरिक मिलन चौतारी समेत निर्माण गर्ने योजनामा छ । यसका लागि नगरपालिका मार्फतबाट १० लाख रुपैयाँ बजेट समेत विनियोजन भईसकेको छ । ‘१० लाख रुपैयाँ बजेट पर्याप्त त हैन । तर हाल सडकमा असुरक्षित तरिकाले बिक्रि भईरहेको तरकारीका लागि हाटबजार सञ्चालन सुरुवात भने हुन्छ’ वडा सचिव पौडेलले भने ।

वीरेन्द्रनगरमा कृषि उपज खरिद बिक्रिका लागि कृषि बजार समेत सञ्चालनमा छ । हाल सञ्चालनमा ल्याउन खोजिएको हाटबजार भने साना किसान र तिनका उत्पादन लक्षित हुने वडाको भनाई छ ।

हाललाई सडकमा बिक्रि भईरहेको तरकारीलाई व्यवस्थित र सुरक्षित स्थानबाट बिक्रि शुरु गराउने नगरपालिकाको योजना हो । यस हाटबजारमा ठूला खाले भौतिक संरचनाहरु निर्माण भने हुनेछैनन् । यसका लागि पर्याप्त बजेट समेत छैन । साना अस्थायी टहराहरुको निर्माण गरी हाटबजार सञ्चालन गर्ने वडाको योजना छ ।

‘थोरै मात्राका कृषि उपज समेत लक्षित हुन्छन्’

सञ्चालनमा ल्याइन थालेको हाटबजारले थोरै मात्रामा उत्पादन भएका कृषि उपजलाई समेत लक्षित गर्ने वीरेन्द्रनगर–१० का वडा अध्यक्ष डिलबहादुर रखाल बताउँछन् । वडा अध्यक्ष रखालले भने, ‘हामीले शनिबारे हाटबजार समेत सञ्चालन गर्ने योजनामा छौ ।

अन्य दिनमा नियमित रुपमै कृषि उपज बिक्रि भएपनि शनिबारका दिन आर्थिक रुपले विपन्न समुदाय तथा साना उत्पादन गरेका किसान समेत लक्षित हुनेछन् । घरमा केहि किलोग्राम लसुन उत्पादन भएको छ भनेपनि हाटबजारमा त्यो उत्पादनले बजार पाओस् भन्ने नगरपालिकाकाले चाहना छ ।’

हाल नगरपालिकाले हाटबजार सञ्चालनका लागि विनियोजन गरेको बजेट प्रयाप्त नभएपनि सुरुको चरणमा जग्गा घेरबार र खुल्ला खाले टहरा निर्माण गरिने उनले बताए । यसका साथै बक्ति, पानीको व्यवस्थापन तथा शौचालयको व्यवस्थापन गरिनेछ ।  त्यसपछि आगामी आर्थिक वर्षहरुमा क्रमिक रुपमा हाटबजारको स्त्तरोन्नती गर्दै लैजाने नगरपालिकाको योजना रहेको अध्यक्ष रखालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया