निषेधाज्ञामा जन्मिएको ‘अल्फा पिकल’

पुनम वि.सी

सुर्खेत,१८ फागुन ।

कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि नेपालभर दोस्रो पटक निषेधाज्ञा जारी थियो । पहिलो निषेधाज्ञा समयभन्दा दोस्रोमा आईपुग्दा बजार चहलपहल केहि खुकुलो थियो । यसैबीच कृषि क्षेत्र व्यवसायमा नागरिकहरु आर्कर्षित हुँदै थिए । वीरेन्द्रनगर–१०, एकतानगरस्थित एक दम्पत्ति पनि कृषि उत्पादनमा जोडिएको भर्खरै भएको थियो ।

घर नजिकै छिमेकीको खाली जग्गा भाडामा लिएर ब्रोइलर कुखुरा पालन व्यवसाय शुरु भएको थियो । पहिलो चरणमा एक सय २० वटा ब्रोइलरबाट सुरु भएको कृषि व्यवसायले दोस्रो चरण पार गर्न खोज्दै थियो, तर एक्कासी ब्रोइलर कुखुराको बजार मूल्यमा गिरावट आयो ।

वीरेन्द्रनगर–१० निवासी भगवती परियार सम्झन्छिन्, ‘सुरुमा पालेको ब्रोइलर राम्रै भयो । भाउपनि पाइयो । अनि फेरि चल्लामा दोब्बर संख्या बढाएर हामीले पाल्यौँ । भाउ एक्कासी घट्यो । पछि तेस्रो, चौथो पटकमा पनि त्यस्तै भयो ।’ त्यो बेला ब्रोइलर कुखुराको थोक मूल्य घटेर एक सय ४० रुपैयाँ केजीमा आएपछि भगवतीलाई कृषि व्यवसायमा चित्त बुझेन ।

घरपरिवारमा पनि सल्लाह भयो, ब्रोइलर कुखुरा पालन व्यवसायले निरन्तरता नपाउने समय आईसकेको थियो । हप्ता दिनमै भगवतीका श्रीमान्ले भने नयाँ योजना ल्याए, अचार उद्योग स्थापनाको । उनले भनिन्, ‘उहाँले सपनामा अचार उद्योगका बारेमा देखेको बताउनुभयो । अनि नामपनि अल्फा पिकल हाउस राखेको भन्नुभयो । मैले पनि मासुको अचार बनाउन त भने ।

’ त्यहिबाट सुरु भएको हो ‘अल्फा पिकल हाउस’ को यात्रा । उद्योग स्थापनाअघि भगवतीसँग अचारका बारेमा निकै रैथाने अनुभव थिए । घरमा सधै उनले नै अचारका डिब्बा बनाउँथिन् । घर परिवारले पनि उनलाई नै अचार बनाउन लगाउथे । उनले सम्झिइन्, ‘मैले बनाएको अचार घरमा रुचाइन्थ्यो ।

खै किन हो, मैले बनाएको अचारमा भिन्दै स्वाद थियो ।’ तर, मासुको अचारमा भने भगवती ज्यादा अनुभवी भने थिइनन् । धेरै लगानी होइन, केहि हजार रुपैयाँको लगानीमा अल्फा पिकलको यात्रा शुरु भएको हो । परिवारका सदस्यले अचार रुचाए, छिमेकीले रुचाए, अनि साथीभाईले । अहिले उद्योग नै दर्ता गरेर अल्फा पिकल बजार छाउने योजनामा छ । बजार भाउ घटेपछि आएको जुक्तिमा सबै कुखुरा अचार बनाउन प्रयोग भए ।

अहिले उद्योगले ११ थरिका अचारहरु उत्पादन गरिरहेको छ । मासिक रुपमा सरदर एक लाख रुपैयाँसम्मको अचार बिक्रि हुने उनी बताउँछिन् । यसबाट करिब ३० देखि ३५ प्रतिशत रकम आम्दानी हुन्छ ।

अचारमा विविधता

भगवतीलाई धेरैले सोनु वराइलीको नामबाट पनि चिन्छन् ।  अहिले भने उनी उद्योगको नामबाट परिचित हुँदै छिन् । निषेधाज्ञाका समयमा सुरु भएको योजना, अहिले उद्योग दर्ता भएको दोस्रो वर्ष भन्दा धेरै उमेर पार गर्दैछ । उद्योगले अहिले माछा– मासुमा तीन थरीको अचार बनाउँछ । यसैगरी तरकारीहरुको सातथरी र अमलाको गल्का पनि उद्योगको उत्पादन हो ।

यी उत्पादनमा भगवतीका रहर र उनको लगनशीलता दुवै जाोडिएका छन् । उद्योगमा कर्मचारीहरु राख्न परेको छैन । भगवती आफैले अचार उत्पादन गर्छिन् । तर उद्योगको लगानी र उप्पादन विस्ताार योजना भने छँदैछ । माछा–मासुका अचारतर्फ ‘वफको अचार, कुखुराको मासुको अचार, बंगुरको मासुको अचार र सिद्रा माछाको अचार’हरु छन् ।

यसैगरी ‘डल्ले खुर्सानी र तामाको अचार, मुला र डल्ले खुर्सानीको अचार, अमलाको अचार, मेथीको अचार, लसुन र अदुवाको अचार, टिमुरको छोप’का अचार पनि उद्योगका उत्पादन हुन् । शौखले उत्पादन भएका यी थरी–थरीका अचारको आम्दानी नै भगवतीको परिवारका लागि आम्दानीको मुख्य स्रोत बनेको छ ।

उपभोक्ताको स्वादमा अचार

हालसम्म उद्योगका लागि उत्पादन बिक्रि वितरणतर्फ वीरेन्द्रनगर बजार नै मुख्य बजार हो । अर्को, भगवतीका श्रीमान्ले समेत अचार बिक्रि वितरणका लागि सहयोग गरिरहेका छन् । अन्य जिल्लामा पुग्दा उनले अचार लिएरै पुग्छन्, र सिधै उपभोक्तालाई बिक्रि गरेरै फर्कन्छन् ।

घरेलु व्यवसायको तहबाट हुँदै अल्फा पिकलले आफ्ना ग्राहक जोड्न थालेको छ । यहाँ तयारी उत्पादकका ग्राहक मात्र होइनन्, ग्राहकहरु आफ्नो स्वाद अनुसार समेत अचार बनाइदिन माग गर्छन् । भगवतिले भनिन्, ‘ग्राहकले खसी, टर्की, लोकल कुखुराको मासु तथा आफ्नो रोजाई अनुसारको सामाग्री राखेर अचार बनाईदिन पनि भन्नुहुन्छ । हामीले पनि माग अनुसारको अचार बनाईदिन्छौ ।’

बजारमा रहेका भारतीय अचारको दवाब यस अल्फा पिकल हाउसलाई समेत छ । सस्तो र हेर्दा आर्कषक देखिने भारतीय अचारको सामु अल्फा पिकलले आफ्ना उत्पादन उपभोक्ता सामु पुर्याउने जमर्कोमा छ । तर लगानीको अभावका कारण नै अल्फा पिकलले आफ्ना उपभोक्ताको संख्यामा वृद्धि तथा बजार पकड जमाउन सकेको भने छैन । यसबीच, स्वाद र स्वास्थ्यका रुपमा भने आफु उत्कृष्ट रहेको अल्फा पिकलको दाबी नै छ ।

उनले भनिन्, ‘यस अघि भारतीय अचार र हाम्रो अचारलाईसँगै चखाउँदा ग्राहकले हाम्रो उत्पादन खरिद गर्नुभएको पनि उदाहरण छ । हाम्रो अचार नेपालीको स्वाद अनुसारका छन् । नुन, पिरो र अमिलो मिलेको हुन्छ । त्यसैले पनि हामी ढुक्क छौँ ।

’ ‘ह्याण्ड–मेड उत्पादन’

उद्योगसँग प्रशस्त उपकरण तथा प्रविधिको अभाव नै छ, अल्फा पिकलका उत्पादनहरुलाई ‘ह्याण्ड मेड’ भन्दा पनि फरक नपर्ला । यस क्षेत्रका उद्योगहरुले तरकारी केलाउने, काट्ने, सुकाउने तथा भण्डारण कामकाजका लागि विभिन्न प्रविधि र उपकरणको प्रयोग गर्ने गर्छन् ।

यसले उद्योगहरुलाई उत्पादन लागत घटाउन समेत सहयोग गर्ने गर्छ । तर निषेधाज्ञा समयबाट सुरु भएको अल्फा पिकल हालसमा भने भगवती आफैले लसुल केलाउँछिन्, मसला पिंध्छिन्, अचार बट्टामा भर्छिन् । उनले भनिन्, ‘अब कुरा ग¥र्यो भने जहाँ पनि अन्त्यमा पैसाकै कुरा आउँछ ।

हामीले उद्योगमा मेशिन उपकरणहरु जोड्न सकेका छैनौँ । अहिलेसम्म अचार बनाउने, प्याकिङ्ग गर्ने जस्ता कामहरु हातैले भईरहेका छन् ।’ ईच्छाइएको व्यवसायमा रैथाने ज्ञानले नै भगवती आफैले उद्योग सञ्चालन गरेकी हुन् ।

यसबीच अचार व्यवसायका लागि उनले विभिन्न समयमा तालिम समेत लिएकी छिन् । मासुको सुकुटीतर्फ समेत सम्भावना उद्योगले देखेको छ, अचारमा थरी–थरीका विविधता ल्याएर बजारमा आफ्ना उत्पादन पुर्याउनु उद्योगको उद्देश्य हो ।

तपाईको प्रतिक्रिया