सल्यान,१७ फागुन ।
लघुवित्तका कारण आफूहरु चर्को ब्याजको मारमा परेको भन्दै सल्यानको सदरमुकाम खलंगामा महिलाले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय सल्यानमा दुई घन्टा धर्ना समेत दिएका छन् । लघुवित्तले स्थानीय तथा आर्थिक अवस्था कमजोर भएका महिलाको आयस्तर उकास्नमा सहयोग पुर्याउने भनिए पनि उल्टै सामन्ती संस्कार विकास भएको भन्दै नाराबाजी गरेका थिए ।
उनीहरुले सामूहिक रुपमा लिएको ऋण मिनाहा गर्न, आर्थिक अवस्था कमजोर भएकालाई विना ब्याज ऋण उपलब्ध गराउन, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न माग गरेका छन् । लघुवित्त संस्था विरुद्ध संघर्ष समिति केन्द्रीय सदस्य मानसिङ विकले ब्याज नबुझाउनेलाई लघुवित्तले दवाव दिँदै आएको बताइन् ।
लघुवित्तको चर्को ब्याज र ऋणका कारण जिल्लाभर महिला अहिले समस्यामा परेकाले ब्याज समेत बुझाउन नसकिएको उनको भनाइ छ । विगतमा २८ प्रतिशतसम्म ब्याज तिरेको उनले दाबी गरिन् ।
विरोध प्रदर्शनमा सहभागी महिला विमला रोकाले भनिन् ‘विभिन्न लघुवित्तबाट एक लाख ऋण लिएकी थिएँ, काम गरेर ब्याज र ऋण तिर्दै आएपनि अहिलेसम्म पहिले जति तिर्नु थियो, त्यति नै बाँकी छ ।’ उनका अनुसार अहिले नियमित काम नआउँदा ब्याज तिर्न हम्मेहम्मे भएको छ ।
कान्तिपुर
युग संवाददाता । । १७ फाल्गुन २०७९, बुधबार १७:५९