कुप्रथा विरुद्ध उभिएकी खैरुन निशा

सुर्खेत, १६ फागुन ।

उनले पाँच कक्षाभन्दा माथि पढ्न पाइनन्। त्यति पढ्न पनि घरमा विद्रोह नै गर्नु पयो। घर नजिकको स्कुलमा पाँच कक्षासम्म मात्रै पढाइ हुन्थ्यो। थप पढाइका लागि अलिक टाढाको अर्को स्कुल जानु पथ्र्यो। त्यो अवसर उनलाई जुरेन।

त्यो समय छोरीलाई पढ्न पठाउने चलन नै थिएन। बाबाले भाइ र बहिनीलाई विद्यालय पठाए। भाइबहिनी पढ्न जाने तर आफू पढ्न नपाउने कुराले उनको मनमा विद्रोह जाग्यो। ‘बाबाआमाले भाइबहिनीलाई पढ्न पठाउनु भयो। मलाई घरमै गोठालो बनाएर राखियो। यस्तो भएपछि मलाई पिर पर्यो,’ उनले भनिन्, ‘एकै घरका सन्तान कोही शिक्षा लिने, कोही गोठालो हुने, म पनि पढ्न जान्छु भनेँ।’

परिवारको कमजोर आर्थिक अवस्था पनि उनले पढ्न नपाउनुको एउटा कारण थियो। उनले आफूलाई स्कुल पठाउन बाबालाई बाध्य बनाइन्। प्रधानाध्यापकले निःशुल्क पढाइदिने प्रतिबद्धता जनाए। बाबाले विद्यालयमा नाम लेखाइदिए।

‘प्रधानाध्यापक सरले पढ्न इच्छा भएकोलाई पढाउनुस्, म निःशुल्क पढाइदिन्छु भनेपछि बाबाले नाम लेखाइदिनुभयो,’ उनले भनिन्। कमजोर आर्थिक अवस्थाका कारण उनले कहिल्यै विद्यालयको पोशाक लगाउन पाइनन्। तैपनि शिक्षकहरूले ‘विद्यालयको पोशाक लगाएरमात्रै आऊ’ भनेर कहिल्यै भनेनन्।

उनको पढाइप्रतिको लगाव देखेर शिक्षकहरू खुसी थिए।गाउँको विद्यालयमा पाँच कक्षासम्म मात्र पढाइ हुन्थ्यो। उनी सबै कक्षामा प्रथम भइन्। पाँच कक्षा पास भएपछि उनको पढाइ रोकियो। त्यही समय उनकी आमाको मृत्यु भयो। बाबा दोस्रो बिहे गरेर अलग भए।

निशाको पढाइ रोकियो,उनी हुन् खैरुन निशा। उनको खास नाम निशा शैयद हो तर खैरुन निशा नामले परिचित छिन्। उनी मुस्लिम परिवारमा बाबा मदार बक्स र आमा जोहरा बिबीका दोस्रो सन्तानका रूपमा २०२८ असोज २३ गते सुर्खेतको वीरेन्द्रनगर–११ (साविकको गाग्रेताल गाविस–१०) मा जन्मेकी हुन्।

‘स्कुल त टाढै भए पनि गइहाल्थेँ तर त्यहाँ लाग्ने शुल्क कसले तिरिदेओस्,’ निशाले भनिन्। पाँच कक्षासम्मको पढाइ पूरा गरेपछि उनी फेरि गोठालो हुन फर्किनुपर्यो। २०४१ असारमा १३ वर्षको उमेरमा उनको बिहे भयो। माइला काकाले अभिभावकत्व लिएर बिहे गराइदिएका थिए। असहाय अवस्थामा पुगेकी निशाले बिहे गर्दिनँ भन्न सकिनन्। बिहे भएर गएको परिवार मध्यम आर्थिक अवस्थाको थियो।

निशाका श्रीमान् पनि कमै उमेरका थिए, तीन वर्ष जेठी ‘सानै उमेरमा बिहे भयो। घर, माइत के हो भन्ने पनि थाहा थिएन। बिहेपछि घरको सात–आठ जनाको परिवारलाई खाना पकाउने जिम्मेवारी आइलाग्यो,’ उनले भनिन्, ‘मलाई ठूलो बोझ भयो। पाँच वर्ष त मलाई फलामका चिउरा चपाएजस्तै भयो।’

सासुससुरा बजारमा पसल चलाउँथे। घरमा पालेका चौपायाको हेरदेखको जिम्मा पनि निशाकै भयो। निशा २० वर्ष पुगेपछि पहिलो सन्तान छोरी जन्मिन्। छोरा नजन्माई नहुने, यही बाध्यतामा पाँचवटी छोरी जन्मे।

२०५१ सालमा निशा र उनका श्रीमान संयुक्त परिवारबाट अलग भए। यसपछि निशाले बाल्यकालमा पढाइका लागि गरेको विद्रोह समुदायमा सर्यो। २०५२ सालमा सुरु हुन्छ उनको आफ्नै समुदायभित्रका विद्यमान कुप्रथाविरुद्धको विद्रोह।

त्यसबेला गाउँमा स्वास्थ्य स्वयंसेविका छनोट गर्ने कुरा चल्यो। जनस्वास्थ्य कार्यालयको समूहले उनको समुदायमा स्वयंसेविका खोज्यो। समुदायभित्र पढेलेखेका महिला पाउन मुश्किल थियो। उनले त पाँच कक्षासम्म पढेकी थिइन्, उनैलाई जनस्वास्थ्यले स्वयंसेविका बनायो।

‘मलाई स्वयंसेविका छनोट गर्नु नै मेरा लागि ठूलो भाग्य बन्यो। म त्यसपछि झन् बाठो भएँ,’ निशाले भनिन्, ‘स्वास्थ्य स्वयंसेविका भएपछि मेरो अभियान नै जन्मान्तर बढाउने र जन्मदर घटाउनेमा केन्द्रित भयो। हाम्रो समुदाय परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न सकारात्मक थिएन।’

उनको समुदायमा सन्तान जन्माउन रोक्नु धर्मविरोधी कुरा मानिन्थ्यो। उनी आफू स्वयंसेविका भएपछि आफ्नै समुदायलाई लक्षित गरेर परिवार नियोजनबारे चेतना फैलाउनतर्फ लागिन्। समुदायका महिलाहरूलाई आफैँ स्वास्थ्य संस्थामा लगेर परिवार नियोजनका अस्थायी साधन दिएर पठाउन थालिन्।

ती महिलाका श्रीमानहरू भने निशासँग झगडा गर्न उनको घरमै आउन थाले। तैपनि उनले आफ्नो काम छाडिनन्। ‘मेरो परिवार (श्रीमती) लाई किन यस्तो काम (परिवार नियोजनका अस्थायी साधन प्रयोग) गर्न लगायौ, धर्मको विरुद्ध किन गयौ भनेर विरोध गर्न आउँथे। मैले हामी समय र परिस्थितिअनुसार अघि बढ्नुपर्छ भनेर सम्झाउने प्रयास गरेँ,’ उनले भनिन्, ‘अहिले धेरै महिलाहरू अस्थायी साधन प्रयोग गर्छन्। जन्मदर पनि कम भएको छ।’

परिवार नियोजनको अभियान चलाउँदा निशा समुदायबाट बहिष्कारमा समेत परिन्। समुदायले उनलाई सामाजिक बहिष्कार गर्ने निर्णय गर्यो। जस्तोसुकै अवस्थामा पनि उनी पछि हटिनन्। ‘अहिले पनि अवस्था धेरै सुधार भएको छैन। त्यो बेला पुरुष धर्मगुरुहरूको मनस्थिति कस्तो थियो होला!’ निशाले भनिन्, ‘समुदायका

मानिसहरू मेरो घरमा नखाने, सामान लेनदेन नगर्ने अवस्था भयो। मैले बहिष्कार गरे पनि पछि हट्दिनँ भनेँ। प्रतिष्ठाको लडाइँ सम्झेर अघि बढेँ।’ पहिला घरमै झगडा गर्न आउनेहरू केही वर्षपछि त आफैँ आएर अस्थायी साधन लिन थाले।

‘अहिले यहाँको मुस्लिम समुदायमा परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने कुरा सामान्य भएको छ। स्थायी बन्ध्याकरण भने अझै पनि हुन सकेको छैन,’ उनले भनिन्। समुदायमा महिलाहरूले गर्भ जाँच गर्ने चलन थिएन। निशा स्वयंसेविक भएपछि सामाजिक विरोध झेल्दै गर्भ जाँचको अभियान चलाइन्।

बालबच्चालाई खोप लगाउने चलन पनि थिएन। धेरैलाई त खोपबारे थाहै थिएन। थाहा पाउनेहरू पनि खोप दिन आवश्यक ठान्दैनथे। निशाको अभियानले ठूलो परिवर्तन ल्यायो। समुदायका महिलाहरू नियमित गर्भ जाँच गराउन र बच्चालाई खोप दिलाउन थाले।
उनले अपांगता भएका र बिरामी महिलाहरूलाई सहुलियत पाउने व्यवस्थाका लागि पनि काम गरिन्। ‘बिरामी लिएर लखनउ (भारत) सम्म पनि पुगेँ,’ उनले भनिन्, ‘बिरामी र प्रसूति अवस्थाका महिलाका समस्या समाधानमा सधैँ लागेँ। कहिल्यै नाइँ भनिनँ।’

निशाको समुदायमा वैवाहिक सम्बन्ध विच्छेदको लागि कानूनी प्रक्रिया आवश्यक मानिँदैन। समुदायका जानेमानेका व्यक्ति वा धर्मगुरुको रोहबरमा तीनपटक ‘तलाक’ भनेर श्रीमानले श्रीमतीसँगको सम्बन्ध अन्त्य गरिदिन पाउँछन्। निशाले यस्तो प्रथालाई गलत र असह्य मानिन्।

‘हप्तैपिच्छे एउटा पुरुषले श्रीमतीलाई तलाक दियो भनेको सुनिन्थ्यो। त्यसबाट अति पीडा हुन्थ्यो,’ उनले भनिन्, ‘हाम्रो धर्ममा त सम्बन्धविच्छेदको प्रक्रिया पो लेखेको होला। श्रीमतीलाई जतिबेला पनि पशुजस्तै गरी छोड्ने त लेखेको छैन होला भनेर म तलाक विरुद्ध लागेँ।’

उनले यो अभियानमा कसैको साथ पाइनन्। सञ्चारमाध्यमसँग सहयोग मागिन्। २०७२ को संविधान पारित गर्नुअघि समुदायमा राय लिन आउने सभासदलाई तलाकको अनुचित व्यवस्था अन्त्य गर्न सुझाब पनि दिइन्। तलाकको विरुद्धमा लाग्दा उनलाई आफ्नो समुदायका महिलाहरूले समेत गलत ठाने। उनलाई बहिष्कार गर्ने चर्चा पनि चल्यो तै पनि उनी पछि हटिनन्।

‘मलाई त मेरो समुदायले महिलालाई जनावर बनाएको महसुस भयो,’ उनले भनिन्, ‘केही महिलाहरू तलाक गलत हो भन्थे तर मलाई साथ दिन डराउँथे।’ एकपटक उनले तलाक पाएकी एक महिलालाई घरेलु हिंसासम्बन्धी मुद्दा दिन लगाइन्। अदालतले महिलाका पक्षमा फैसला गर्यो । पुरुष कारागार चलान भए।

फेरि अंशसहित सम्बन्धविच्छेद र बालबच्चाको लालनपालनको खर्च पाऊँ भनेर मुद्दा दिन लगाइन्। अदालतले महिलाकै पक्षमा फैसला दियो। उक्त घटनापछि समुदायमा तलाक दिने चलन कम हुँदै गयो। निशाका अनुसार हाल त्यस्तो चलन बन्द भएको छ।

उनले समुदायका निरक्षर व्यक्तिलाई अनौपचारिक शिक्षा दिन पनि नेतृत्व गरिन्। यसै पनि सिंगो नै समुदाय शिक्षामा कमजोर थियो, साक्षर महिला त नगन्य थिए। निशाकै पहलमा एउटा गैरसरकारी संस्थाले उनको समुदायमा अनौपचारिक शिक्षा कार्यक्रम लग्यो। पढाउन सक्ने मान्छे खोज्दा उनकै नाम आयो। उनले १२ महिना अनौपचारिक कक्षामा पढाइन्।

‘महिलाहरूले पढ्नमा धेरै रुचि देखाउनुभयो। त्यसले मलाई हौसला दियो,’ उनले भनिन्, ‘पढ्न चाहने महिलाहरूको सहयोग लिएर जंगलबाट काठ, स्याउला र खर जम्मा गरेर एउटा सामुदायिक भवन बनायौँ र त्यसमै अनौपचारिक शिक्षा चलायौँ।’ साँझको समयमा महिलाहरू त्यहीँ भेला भएर पढ्थे।

ठूलो योगदान गर्न नसके पनि समुदायका निरक्षर महिलाहरूलाई नाम लेख्न सक्ने बनाउन सकेको निशा निकै खुसी भइन्। उनले साक्षर बनाएका महिलाहरू उनका साथमा भए। उनीहरू निशाले चलाउने छलफलहरूमा खुलेर सहभागी हुन र आफ्ना विचार राख्न थाले। हाल समुदायमा पाँच वटा वित्तीय समूह छन्। ती समूह मुस्लिम महिलाले नै नेतृत्व गरेका छन्।

निशाले गाउँमा शौचालय बनाउन पनि अगुवाइ गरिन्। उनले भनिन्, ‘अव्यवस्थित दिसापिसाबले बाटोमा हिँड्न पनि कठिन थियो। एउटा गैरसरकारी संस्थाको सहयोगमा ९० वटा अस्थायी शौचालय बने। अहिले सबैले पक्की शौचालय बनाएका छन्।’ उनले गैरसरकारी संस्थाहरूको सहयोग जुटाएर समुदायमा कानूनी शिक्षा पनि सुरु गरिन्।

निशा २७ वर्षदेखि स्वयंसेवकको भूमिकामा छिन्। उनले सुर्खेतको मुस्लिम समुदायका यस्ता थुप्रै कुप्रथा र उत्पीडनविरुद्ध आवाज उठाइन् र सकारात्मक परिवर्तनका लागि नेतृत्व गरिन्। उनको अभियानमा श्रीमानले खुला दिलले साथ दिए।

‘मलाई मेरो काममा हिँड्न श्रीमानले कहिल्यै रोक्ने प्रयास गर्नुभएन। महिला घरभित्रै लुक्नुपर्ने समुदायकी मलाई उहाँले साथ नदिएको भए मेरो अभियान सफल हुने थिएन,’ निशाले भनिन्, ‘म कामले बाहिर हुँदा श्रीमानले बच्चा सम्हाल्नुभयो नत्र त म घरभित्रै हुने थिएँ होला।’

उनले २०६५ सालमा ५० हजार रुपैयाँ राशिको एउटा पुरस्कार पाइन्। त्यो कुरा समुदायभर फैलियो। केही मानिसहरूले निशाले आफ्नो समुदायको कुरा बाहिर पर्याइन भनेर माफी मगाउने निर्णय गरे।

‘समुदायका केही पुरुषहरू जम्मा भएर मलाई मस्जिदमै पुर्याएर घुँडा टेक्न लगाए,’ उनले भनिन्, ‘मस्जिदमा पुरुषहरू, धर्मगुरु, महिलाहरूको उपस्थितिमा घुँडा टेकाएर सामाजिक धर्मअनुसार बस्छु भन्न लगाइयो।’ निशाका अनुसार उनले मस्जिदमा घुँडा टेकिन् तर माफी मागिनन्। माफी मागेको भए गर्दै आएको काम नै छोड्नुपर्थ्यो।
यो घटनाले उनी डिप्रेसनमा परिन्।

‘बरु मलाई छातीमा गोली हान, म तयार छु भनिदिएँ,’ उनले भनिन्, ‘समुदायका लागि राम्रो काम गर्न खोज्दा पनि माफी मगाउन मस्जिदमा पुर्याए भनेर गहिरो सोचमा परेँ। अस्पतालमा गएर जचाएँ। डाक्टरले डिप्रेसनको औषधि खानुपर्छ भने।’

उनले औषधि सुरु गरिन्। एक वर्षसम्म उनको काम शिथिल भयो। बिस्तारै सञ्चो भयो र आफ्नो काममा पूर्ववत सक्रिय भइन्। हालसम्ममा परिस्थिति धेरै बदलिएको छ। मस्जिदमा घुँडा टेक्न लगाउनेहरू नै उनीसँग सल्लाह लिन आउँछन्।

उनी भन्छिन्, ‘पहिले जे गरे पनि ती पीडा मनमै छन् तर त्यो बेला डिप्रेसनमा पुर्याउने व्यक्तिहरू अहिले सल्लाह लिन आउँदा खुसी लाग्छ।’ निशाले आफ्नो गाउँघरमा नाला निर्माण र खानेपानीको व्यवस्थाका लागि पनि गैरसरकारी संस्थाहरूको सहयोग जुटाइन्।

उनी विभिन्न क्षेत्रबाट सम्मानित र पुरस्कृत पनि भएकी छन्। पुरस्कार र सम्मानहरूले आफूमा उत्साह थपेको उनको भनाइ छ। उनी समाज जागरणमा निरन्तर सक्रिय छिन्।

सेताेपाटी 

तपाईको प्रतिक्रिया