सुर्खेत,१६ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भने अहिले बनेको नयाँ गठवन्धन नै आगामी निर्वाचनसम्म निरन्तर रहने दाबी गरेका छन् । सोमबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष नेपालले राष्ट्रपति निर्वाचनका लागि गरिएको आठ दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने दाबी गरेका हुन् ।
‘आँट भएका, विचार भएका दलहरू एक ठाउँमा छौँ। यो गठबन्धन टिक्छ, चुनावसम्म जान्छ,’ उनको भनाई छ, ‘रामचन्द्र पौडेल जीलाई राष्ट्रपति उम्मेदवार खडा गरेका छौँ, हामीले अघि सारेका उम्मेदवार हुनुहुन्छ।’ राष्ट्रपति निर्वाचन कुनै सत्ता लछाचुँडी नभएको र यो प्रतिस्पर्धा भएको अध्यक्ष नेपालले बताए । ‘राष्ट्रपतिको निर्वाचन भनेको प्रतिस्पर्धा हो ।’ उनले भने, ‘यो कुनै सत्ताको लुछाँचुडी हैन ।’
गत चुनावका बेला बनेको दलीय गठवन्धन १५ वर्ष टिक्ने दाबी गरेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड आफैले सरकारको नेतृत्व हत्याउन पुरानो गठवन्धन भत्काएर नयाँ गठवन्धन बनाउँदै फेरि राष्ट्रपति चुनावका लागि पुरानै गठवन्धनमा प्रवेश गर्दै गर्दा नेता नेपालको यस्तो दाबी आएको हो । सम्भवतः त्यहि प्रवृत्तिको पुनर्भाष भएका पाएका कारणपनि पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले अहिलेको गठबन्धनले कुन मोड लिने हो अहिले नै यसै भन्न नसकिने टिप्पणीपनि गरे ।
यसअघि गठवन्धन गरेर निर्वाचनमा जाँदा आफूहरूले आश गरेअनुसारको परिणाम आउन नसकेको स्वीकार्दै उनले उनले भने ‘हामीले जति सिटको आशा गरेका थियौं । त्यो आउन सकेन । प्रदेशसभामा आएको सिट चित्त बुझ्दो भएन ।’
पार्टी एकिकरणका सन्दर्भमा भने उनले वामपन्थीहरूबीच एकता गर्नु नै देशको आवश्यकता भएको बताउँदै वामपन्थी दलभित्रै दक्षिणपन्थ भएकाले एकता हुन नसकेको टिप्पणी गरे ।अध्यक्ष नेपालले दक्षिणपन्थ भन्दै गर्दा एमाले अध्यक्ष केपी ओलीसँगको वार्ताको प्रसंग उप्किएपछि उनले ओली राजतन्त्र पुर्नःस्थापना गर्न चाहने शक्तिहरुसँग मिलेर गएको भन्दै आलोचनापनि गरे ।
‘केपीजीले हामीसँग वार्ता गरेपछि ०७५ को दिशामा फर्काउन सकिन्छ कि भनेर पहल थालेका थियौं तर हुन सकेन ।’ उनले भने ‘विचार, सिद्धान्त, कार्यशैली मिल्छ भने हामी पार्टी एकताको पक्षमा छौं तर हाम्रो पार्टी कुनै हालतमा पनि विलय हुँदैन ।’
युग संवाददाता । । १६ फाल्गुन २०७९, मंगलवार १४:१६