सुर्खेत,१६ फागुन ।
नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा हङकङलाई ९ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । लगातार तेस्रो जितसँगै नेपालको विश्वकप यात्रा मजबुत बनाएको छ ।
जितको लागि १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २२.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर आकाश त्रिपाठी ७२ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६४ रनमा अविजित रहे ।
डेब्यू खेल खेलेका उत्तम थापामगर ५० बलमा ४ चौकासहित ३९ रनमा अविजित रहे । दोस्रो विकेटका लागि आकाश र उत्तमले ९८ रनको साझेदारी गरेका थिए । ओपनर अर्जुन कुमाल भने १२ बलमा ३ चौकासहित १६ रनमा आउट भए ।
त्यसअघि मलेक क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको हङकङ ४६.३ ओभरमा १ सय २० रनमा अल आउट भएको थियो । हङकङका मध्यक्रमका ब्याटर पर्थ भगवतले ९३ बल खेल्दै ४ चौकासहित सर्वाधिक ३६ रन बनाए । पर्थ बाहेक अन्य कुैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
स्पिनर दीपेश कँडेलको बलमा दीपक डुम्रेबाट क्याच आउट भएका थिए । मोहम्मद अलियान जाहिर ६७ बलमा ३ चौकासहित २९ रनमा आउट भए । नेपालको सानदार बलिङ सामु हङकङका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका सुवास भण्डारीले १० ओभरमा ३ मेडनसहित १० रन खर्चेर २ विकेट लिए । सुवासले ६० मध्य ५१ बल डट राखेका थिए । ९ ओभरमा ३ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । हेमन्तले ३७ बल डटराखेका थिए । आकाश चन्दले ८।३ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । दीपेश कँडेलले एक विकेट लिए ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन र कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले मंगलबार मलेसिया र मार्च २ मा युएईसँग खेल्नेछ । ६ टोली सहभागी प्रतियोगिता शीर्ष टोली आगमी वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ । नेपाल र युएई प्रतियोगिता प्रमुख दाबेदार टोली हुन् ।
युग संवाददाता । । १६ फाल्गुन २०७९, मंगलवार १४:०७