हवाई मार्गबाट ढुवानी गरी बिरुवा वितरण

हुम्ला,१४ फागुन ।

जुम्लाबाट खरिद गरिएका स्याउ र ओखरका कलमी बिरुवा नेपालगञ्ज हुँदै हवाई मार्गबाट हुम्ला ल्याइएको छ । पैदल मार्गबाट ढुवानी गर्न धेरै समय लाग्ने भएपछि महँगो हवाई भाडा तिरेर हुम्लामा ओसारिएका हुन् । खार्पुनाथ गाउँपालिकाले किसानलाई वितरण गर्न यी बिरुवा ल्याएको हो ।

सो गाउँपालिकाको कृषि शाखाका प्रमुख हर्कवीर रावलले जुम्लामा खरिद गरिएका स्याउ तथा ओखरका बिरुवा नेपालगञ्ज पु–याएर हवाई मार्गबाट हुम्ला ढुवानी गरिएको बताए  ।

यसरी छ हजार स्याउका बिरुवा र एक हजार ८४० ओखरका बिरुवा ल्याइएको हो । हवाई मार्गबाट ढुवानी गर्दा स्याउका बिरुवा प्रतिकेजी २२० रुपियाँ र ओखरका बिरुवा प्रतिकेजी तीन सय रुपियाँ भाडा तिर्नुपरेको छ । यी बिरुवा व्यावसायिक स्याउ खेती र ओखर पकेट क्षेत्र कार्यक्रमअन्तर्गत खरिद गरिएका हुन् ।

जुम्लाको पातारासी गाउँपालिकाको एन्जल नर्सरी फार्मबाट खरिद गरी ल्याइएका स्याउको प्रतिबिरुवा खरिद र ढुवानी गर्दा ११० रुपियाँ परेको छ भने ओखरको प्रतिबिरुवा एक हजार रुपियाँ परेको कृषि शाखाले जनाएको छ । खरिद मूल्य भने स्याउको एउटा बोटको ७७ रुपियाँ र ओखरको प्रतिबोट सात सय रुपियाँ पर्न आउँछ ।

खार्पुनाथ गाउँपालिकामा स्याउ र ओखरको नर्सरी नभएका कारण बाहिरबाट खरिद गर्नुपरेको कृषि शाखा प्रमुख रावलले बताए  । हुम्लामै स्याउ र ओखरका बिरुवाको अभाव रहेको बताइएको छ । दुई वर्षअघि नै बिरुवाको माग भए मात्रै आपूर्ति गर्न सकिने नर्सरी किसानले ्जनाएका छन् ।

यी बिरुवा कृषि समूह, सहकारी र व्यावसायिक खेती गर्ने किसानलाई अनुदानमा वितरण गरिएका छन् । एउटा समूहलाई दुई सयभन्दा बढी बोट वितरण गरिएको छ । किसानले बिरुवा रोपेपछि प्रतिबोट २४० रुपियाँ अनुदान दिइएको छ ।

सिमकोटले बिरुवा वितरण

सिमकोट गाउँपालिकाले १० हजार स्याउ र ओखरका बिरुवा किसानलाई वितरण गरेको छ । यसमध्ये सात हजार बिरुवा स्थानीय किसानबाटै खरिद गरेको हो । स्थानीय रूपमा उपलब्ध हुन नसकेका चार हजार बिरुवा भने जिल्ला बाहिरबाट खरिद गरिएको सो गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुुर शाहीले जानकारी दिए  ।

सिमकोट गाउँपालिकाले किसानबाट स्याउको प्रतिबिरुवा ७७ रुपियाँ तथा बीउबाट तयार पारिएको ओखरको प्रतिबिरुवा ४४ रुपियाँ र कलमीको ७७० रुपियाँमा खरिद गरेको हो ।

सिमकोट गाउँपालिकाले कम्तीमा पनि दुुई रोपनी र बढीमा २० रोपनी (करिब एक हेक्टर) जमिनमा बिरुवा लगाउने किसानलाई मात्र ती बिरुवा दिएको छ । यसका लागि ३० देखि तीन सय बोट बिरुवा किसानलाई दिने गरिएको छ ।

गाेरखापत्र 

तपाईको प्रतिक्रिया