सल्यान,१२ फागुन ।
रासायनिक मलमा कालोबजारी गरेको आरोपमा ३ महिनाअघि शारदा नगरपालिका–१ श्रीनगरस्थित अभियान कृषि सहकारी संस्थाका अध्यक्ष प्रवीण घर्ती पक्राउ परे । माघ ५ गते बाग्चौर नगरपालिका–११ पानीखोलामा रा१क १३६३ नम्बरको मिनीट्रकमा ल्याइएको अवैध रासायनिक मल बेच्दै गरेको अवस्थामा स्थानीय दिनेश ओली पक्राउ परे ।
उनीसँगै प्रहरीले ३० बोरा युरिया, ७९ बोरा पोटास र ५० बोरा अन्य रासायनिक मल पनि बरामद ग¥यो । माघ १३ गते पनि प्रहरीले शारदा नगरपालिका–१ शीतलपाटीमा सुर्खेतबाट भे१च ३८३८ नम्बरको गाडीमा ल्याएको रासायनिक मलसहित प्रहरीले सुर्खेतको भेरीगंगा नगरपालिका घर भएका गाडी चालक अतिराम ओलीलाई पक्राउ गरेको थियो । प्रहरीले गाडीसहित १५ बोरा डीएपी, ९ बोरा पोटास र ४ बोरा युरिया बरामद गरेको हो ।
पछिल्लो समय जिल्लामा रासायनिक मलको कालोबजारी बढ्दै गएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनको शाखा कार्यालय शीतलपार्टीमा अहिले मलको मौज्दात शून्य छ । सरकारले पर्याप्त मात्रामा मल उपलब्ध गराउन नसक्दा कालोबजारी बढ्दै गएको स्थानीय कमल शर्माले बताए ।
‘साल्ट ट्रेडिङमा रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन् नै कालोबजारीले पनि किसानलाई नै मार पारेको छ,’ उनले भने, ‘पर्याप्त जैविक मल उत्पादन नहुँदा किसानलाई अन्न उत्पादनका लागि रासायनिक मलकै भर छ ।’ साल्ट ट्रेडिङले युरिया ९ सय ६, डीएपी २ हजार ३ सय ५६, पोटास १ हजार ७ सय ५६ र एसएसपी १ हजार ४ सय रुपैयाँमा ५० किलोको बोरा बिक्री गर्छ ।
तर ट्रेडिङमा मल नहुँदा किसानहरू एक बोरा मलमा ७ सयदेखि हजार रुपैयाँ बढीमा किन्नुपर्ने बाध्यतामा रहेको किसान महासंघका केन्द्रीय सदस्य नवीनकुमार भँडेलले बताए । उनका अनुसार साल्ट ट्रेडिङले सहकारीलाई मल दिने र सहकारीले व्यापारीलाई मात्र बिक्री गर्दा कालोबजारी बढेको हो ।
‘नियमित अनुगमन नहुँदा किसानलाई बिक्री गर्ने मल व्यापारीलाई दिन थालिएको छ,’ उनले भने, ‘अहिले गहुँलाई रासायनिक मल आवश्यक छ, तर ट्रेडिङमा मल छैन, त्यसैले किसान कालोबजारीकै मल किनेर खेतबारीमा प्रयोग गर्न बाध्य छन् ।’
कालीमाटी गाउँपालिका–२ का दीपेन्द्र बुढामगरले पशुपालन गर्न छोडिएका कारण जैविक मलको उत्पादन कम हुँदा रासायनिक मलको भर पर्नुपरेको बताए । उनले स्थानीय व्यापारीबाट प्रतिबोरा १९ सय रुपैयाँमा युरिया र ३ हजार रुपैयाँमा डीएपी मल किनेर बारीमा प्रयोग गरेको बताए । ‘हामीलाई त सधैं मलको अभाव हुन्छ,’ उनले भने, ‘पर्याप्त मल नपाइँदा उत्पादन बर्सेनि घट्दै गएको छ ।’
जिल्लामा १५ हजार हेक्टरमा गहुँ र १ हजार ४० हेक्टरमा जौ खेती गरिएको छ । हिउँदे बालीलाई मात्र करिब ३८ सय मेट्रिक टन मल आवश्यक पर्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । तर किसान चर्को मूल्यमा अवैध तरिकाबाट भित्रिएको मल किन्न बाध्य भएको कार्यालयका प्रमुख भरतकुमार बस्नेतले बताए ।
‘विगतमा कृषि कार्यालयबाटै मल वितरण हुँदा व्यवस्थित थियो,’ उनले भने, ‘अहिले साल्ट ट्रेडिङलाई जिम्मा दिएपछि कालोबजारी बढ्दै गयो ।’ उनका अनुसार किसानलाई मल उपलब्ध गराउन सहकारी छनोट गर्ने र अनुगमनको जिम्मा स्थानीय तहलाई छ । साल्ट ट्रेडिङ कर्पोरेसनका निमित्त प्रमुख शिवराज रिजालले अहिले गोदाममा मलको मौज्दात शून्य रहेको बताए ।
कान्तिपुर
युग संवाददाता । । १२ फाल्गुन २०७९, शुक्रबार १०:२९